१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बिना अपरेसन पाइल्सकाे उपचार हुने विज्ञापनकाे पछि लाग्दा...

जनरल एन्ड लेप्रोस्कोपिक सर्जन डा. प्रभाकर साह, पाटन अस्पताल

कतिपय गाउँ तथा सहरहरूमा जताततै विभिन्न रोगव्याधी सजिलै निको पार्ने विज्ञापन पोतिएको हामी देख्छौं। घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखिएका यी विज्ञापन लोभलाग्दा हुन्छन्। किनकि यस्ता विज्ञपानमा पाइल्स, फिसर, फिस्टुलादेखि मधुमेह र क्यान्सरसम्म ‘बिनाचिरफार’ जरैदेखि उखेल्ने दाबी गरिएका हुन्छन्। यिनै आकर्षक विज्ञापनको भ्रमजालमा परेर धेरै बिरामी गलत उपचार पद्धति अपनाउन पुग्छन्।

जनस्वास्थ्यविद् नविता रेग्मी शर्मा भन्छिन्, ‘विराटनगर–जोगबनीको बाटोमा हामीले यस्ता धेरै विज्ञापन देख्यौं र हास्यौं । तर, नियामक निकाय गम्भीर नहुँदासम्म बिरामीलाई यी विज्ञापनले तानिरहने छन्।’

यस्तै उपचार अपनाउँदा पाइल्स रोग जटिल अवस्थामा पुगेपछि धादिङका एक युवक अन्ततः राजधानीको पाटन अस्पताल आइपुगे । अस्पतालका जनरल एन्ड लेप्रोस्कोपिक सर्जन डा. प्रभाकर साहकहाँ आइपुग्दा २४ वर्षीय ती युवकको अवस्था निक्कै नाजुक भइसकेको थियो । उनको दिसा गर्ने नलीमा पलाएको नसाको गुजुल्टो (पाइल्स) बाट निरन्तर रगत बगिरहेको थियो । स्वस्थ अवस्थामा रगतमा १४ देखि १७ सम्म हुने हेमोग्लोबिनको मात्रा घटेर ४ दशमलव ६ मा झरिसकेको थियो।

एकातिरबाट रगत चढाउँदा अर्कातिरबाट बग्ने गम्भीर अवस्थाका बीच बिरामीको उपचार सुरु गरियो। केही दिनमा उनी निको भएर घर फर्के । माथि नै भनियो, पाटन अस्पताल उनी अन्तिम अवस्थामा आइपुगेका थिए । थोरै खर्चमा अनि सद्दे शरीर चिरफार गर्नु नपर्ने गरी रोग निको हुने लोभमा उनी काठमाडौंमै लेजर प्रविधिको उपचारमा सामेल भएका थिए।

‘ठूलो अस्पतालमा जाँदा डाक्टरहरूले अपरेसन नै गर्दिन्छन् कि भन्ने त्रासले सेकाएरै उपचार गराउन खोजें । कुनैकुनै बेला रोग बिसेक भएको जस्तो पनि लाग्थ्यो । तर, पछि एक्कासि बल्झेर आयो । रगत त थामिनसक्नु गरी बग्याबग्यै ग¥यो । केही सीप नलागेर अन्तिममा अस्पतालमा आएँ,’ ती युवकले भने।

पाटन अस्पतालका डाक्टर साहसम्म आइपुगुन्जेल उनको पाइल्स निक्कै ठूलो भइसकेको थियो । ‘धेरै रगत बगेर नअत्याएको भए, सायद उनी अझै केही दिन लेजर प्रविधिकै भर पर्ने थिए,’ ती युवकका आफन्तले भने, ‘धन्न ढिलै भए पनि बुद्धि पलायो र बेलैमा अस्पताल आए ।’ लेजर प्रविधिबाट उपचार गर्ने काठमाडौंका यस्ता अवैध केही उपचार केन्द्र सरकारले केही दिनअघि बन्द गराएको छ।

‘सही उपचारका लागि खर्च धान्न नसक्नेहरू प्रायः यस्ता गलत उपचारमा जाने गरेका छन्,’ जनस्वास्थ्यविद् शर्मा भन्छिन्, ‘तर, ठूलाबडा मानिने र हुनेखानेहरू समेत घरबाट पाँच मिनेटको पैदल दूरीमा रहेको अस्पतालमा नगई नजिकैका त्यस्तै गलत उपचार केन्द्रमा जाने गर्छन्।’

जनरल एन्ड लेप्रोस्कोपिक सर्जन डा. साहका अनुसार पछिल्ला दिनमा पाइल्सका बिरामी बढेका छन्। कब्जियत हुने, सागलगायत हरिया तरकारी नखाने र पानी कम खाने लगायतका कारण तथा पुस्तान्तरण (जेनेटिक) भएर पनि पाइल्स हुने गर्छ । यस्ता समस्याबाट पीडितमध्ये धेरैजसो अहिले पनि विज्ञापनमा लेखिएका चिल्ला कुरामा भर परेर क्वेक (नक्कली चिकित्सक) को उपचारमा पुग्ने गरेको उनी बताउँछन्। ‘नक्कली डाक्टरबाट उपचार गराउनु भनेको बालुवामा पानी खन्याउनुजस्तै हो । पैसा पनि खेर जाने र रोग पनि बढ्ने,’ डा.साह भन्छन्।

उनका अनुसार पाइल्स हो कि होइन भनेर निदान गर्ने अत्याधुनिक र भरपर्दा प्रविधिहरू उपलब्ध छन्। तर, परम्परागत वा निकै फरक खालका चिकित्सकीय अभ्यास गर्नेहरू अझै मलद्वारनजिक औंला घुसारेर पाइल्स ठम्याउन खोजेको जस्तो गर्छन् । र, उपचार सुरु गर्छन् । ‘पाइल्सका लक्षण फिस्टुला, फिसर तथा क्यान्सरका पनि हुन सक्छन् । औंला घुसारेर होइन, प्रोटोस्कोपबाट पाइल्स हो वा होइन थाहा पाउने हो,’ डा.साह भन्छन्, ‘पाइल्स भए पनि यसको जटिलताका आधारमा उपचार गर्नुपर्ने हुन्छ। सबै अवस्थाका पाइल्स उपचारका लागि एउटै तरिका प्रयोग गरिँदैन।’ तर, क्वेकहरूले भने जुनसुकै अवस्थाका पाइल्सका लागि एकै विधि र औषधि प्रयोग गर्ने गरेका छन्।

रूपन्देही बुटवलकी एक युवती यस्तै उपचार लामो समय गराउँदा पनि रोग निको नभएपछि झोलाभरि औषधि लिएर अन्ततः काठमाडौं आइन् । गाउँठाउँकै क्वेकको सल्लाहमा उनले सेवन गरिरहेको ती औषधि पाइल्स रोगमा प्रयोग गर्ने औषधि नै होइन रहेछन् । वीर अस्पतालमा उपचार गराएपछि उनी तीन वर्षदेखिको पाइल्सबाट मुक्त भइन् । तर, तीन वर्षसम्म उनले जुन पीडा र फजुल खर्च व्यहोर्नुप-यो त्यसमा अहिले पछुतो मान्नुबाहेक उनीसँग अर्काे विकल्प छैन।

जानकारहरूका अनुसार काठमाडौंका केही आयुर्वेद उपचार केन्द्रमा समेत पाइल्सको उपचार भन्दै एलोपेथका औषधि खुवाउने गरिएको पाइन्छ । डा. साह भन्छन्, ‘बेथिति कुन हदसम्म छ भने आयुर्वेद केन्द्रमा पाइल्स निको पार्न ग्यास्ट्रिकका दबाई र भिटामिन खुवाइन्छ।’ यस्तोमा सजिलो गरी दिसा भएमा बिरामी पनि पाइल्स निको हुन थालेको भ्रममा पर्छन्।

यस्ता बिरामी अस्पतालमै पुगेर सही उपचारमा नजानुको प्रमुख कारण हो– अपरेसन गर्नैपर्ने त्रास । तर, सबै स्थितिका पाइल्समा अपरेसन गर्नु नपर्ने डा. साह बताउँछन्। चार डिग्रीको पाइल्स (प्रासोडेन्सिया), जटिल खालका संक्रमण वा थ्रोम्बोसिस (पाइल्सभित्र रगत जमेको अवस्था) मा मात्र शल्यक्रिया आवश्यक हुने उनी बताउँछन् । उनका अनुसार दोस्रो डिग्री र तेस्रो डिग्रीको पाइल्स त रगत जाँच र सुईसम्म नलगाई उपचार गर्न सकिन्छ।  

जनस्वास्थ्यविद् शर्मा अरू कामका लागि जतिसुकै खर्च गर्न सक्ने तर, औषधोपचारमा चाहिँ कन्जुस्याइँ गर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्ने बताउँछिन्। ‘सामान्य भाइरल इन्फेक्सन आफै निको हुन्छ तर, गलत ठाउँमा जाँदा एन्टिबायोटिक र भिटामिन दिइन्छ । जसले बिरामी औषधिकै कारण ठीक भएको भ्रममा पर्छन्,’ उनले भनिन्। उनले थपिन्, ‘ती औषधिका प्रतिअसरबारे बेखबर भई गलत चिकित्सकीय अभ्यासमा परिरहन्छन्।’

प्रकाशित: ६ आश्विन २०७५ ०२:२७ शनिबार

गलत_उपचार पाइल्स आकर्षक_विज्ञापन