१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरी

काठमाडौं - काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन्। उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले । एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो— १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।

अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए। तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ।

‘किशोरकिशोरीहरू सामाजिक सञ्जालको चरम दुरुपयोगमा संलग्न हुन थालेका छन् । उनीहरू प्रेम सम्बन्ध रहुन्जेल गोप्य अंगका तस्बिर/भिडियो आदानप्रदान गर्छन् । प्रेमसम्बन्ध बिग्रिएपछि पहिलाका गोप्य र अन्तरंग दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेर बदला लिन थाल्छन्।’

२०७३ चैत १७ गते सामाखुसीस्थित प्रहरी विद्यालयमा कक्षा आठमा अध्ययनरत कुन्दन थापाको विद्यालयको छतबाट खसेर मृत्यु भयो। थापाको मृत्युपछि गठित छानबिन समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली आइडी खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि अत्तालिएर ‘आत्महत्या’ गरेको जनाएको थियो।

अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ।’

महाशाखाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने अपराधका घटना बढेका छन् । आर्थिक वर्ष २०७२/०७३ मा साइबर अपराधसम्बन्धी आठ सय ३० वटा उजुरी दर्ता भएको थियो । तीमध्ये २३ वटा मुद्दा अदालती प्रक्रियामा अघि बढेको छ। आर्थिक वर्ष २०७३/०७४ मा साइबर अपराधसम्बन्धी उजुरी संख्या बढेर एक हजार एक सय ९७ पुग्यो। तीमध्ये २६ वटा मुद्दा अदालतमा दायर भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा यस्ता उजुरी एक हजार चार सय ८२ परेका थिए । तीमध्ये महाशाखाले ६९ वटा मुद्दा अदालतमा दायर गरेको थियो। महाशाखाका अनुसार सबैभन्दा धेरै साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट हुने गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी ५० मुद्दा दायर गरिएको छ। यस्तै एसएमएसबाट धम्की दिएका ११ वटा मुद्दा दर्ता भएका छन् । ह्याकिङसम्बन्धी दुई, एसएमएस लट्री फ्रन्डसम्बन्धी र युटुब दुरुपयोगसम्बन्धी दुईवटा मुद्दा दर्ता भएका छन्।

उजुरी धेरै, मुद्दा दर्ता कम
सामाजिक सञ्जाल दुरुपयोगसम्बन्धी उजुरी धेरै परे पनि मुद्दा दर्ता भने कम हुने गरेको मुद्दा फाँटका प्रहरी निरीक्षक डाँगी बताउँछन्। ‘बालबालिका संलग्न घटनामा दुवै पक्षका अभिभावक आएर मेलमिलाप गर्छन् । त्यसैले उजुरीअनुसारको सबै मुद्दा दर्ता हुँदैन,’ उनले भने, ‘पीडक पक्षले पीडित पक्षसँग माफी मागेर मेलमिलाप हुने भएकाले संख्या कमी भएको हो।’ महाशाखाका अनुसार पछिल्लो समय सामाजिक सञ्जालबाट हुने अपराधमा किशोरकिशोरीको संलग्नता अस्वाभाविक ढंगले वृद्धि भइरहेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले भने, ‘किशोरकिशोरीहरू सामाजिक सञ्जालको चरम दुरुपयोगमा संलग्न हुन थालेका छन्। उनीहरू प्रेम सम्बन्ध रहुन्जेल गोप्य अंगका तस्बिर÷भिडियो आदानप्रदान गर्छन्। प्रेमसम्बन्ध बिग्रिएपछि पहिलाका गोप्य र अन्तरंग दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेर बदला लिन थाल्छन्।’ उनले बालबालिकाले क्षणिक आवेगमा आफ्ना अश्लील तथा गोप्य अंग पठाउँदा अपराधका घटना बढेको बताए।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत हुने अपराधमा १५ वर्षदेखि २५ वर्ष उमेरसमूहको संलग्नता देखिन्छ। ‘साइबर अपराधमा १८ वर्षमुनिका किशोरकिशोरीको संलग्नता २० प्रतिशतभन्दा धेरै देखिन्छ,’ उनले भने। उनले बालबालिकाले बिनासंकोच अश्लील तस्बिर आदानप्रदान गर्दा समस्या देखिएको बताए। उनले भने, ‘प्रेमसम्बन्धमा केही समस्या आउनेबित्तिकै गोप्य अंग सार्वजनिक गरेर बेइज्जत गर्ने प्रवृत्ति बढेको छ।’ उनका अनुसार गोप्य अगंका तस्बिर तथा भिडियो देखाएर बार्गेनिङ गर्नेको संख्या पनि बढेको छ। ‘सामाजिक सञ्जालमा कसैले ब्ल्याकमेलिङ तथा अन्य केही गरेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्नुपर्छ,’ उनले भने, ‘त्यस्ता अभियुक्तलाई पक्राउ गरेर आवश्यक कारबाही अगाडि बढाइनेछ।’

जनचेतना बढाउन आवश्यक
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुसन्धानकर्ता उज्ज्वल आचार्य बालबालिकाले अज्ञानताकै कारण सामाजिक सञ्जाल दुरुपयोग गर्ने बताउँछन्। ‘बालबालिकामा सामाजिक सञ्जालको उपयोग कसरी हुनसक्छ र दुरुपयोग के हो भन्ने ज्ञानको कमी छ,’ उनले भने, ‘उनीहरूले आफूले देखेको संसार र इन्टरनेटको संसार फरकफरक हो भनेर राम्ररी बुझेका छैनन्। यसैले कतिपय अवस्थामा अन्जानवश यस्ता कार्यहरू हुन्छन्।’ सामाजिक सञ्जालको प्रयोगबारे बालबालिकामा जनचेतना जगाउनुपर्ने उनले बताए। ‘बालबालिकालाई सामाजिक सञ्जालको दुरुपयोगबाट बचाउने सबैभन्दा महत्वपूर्ण पक्ष उनीहरूले यसको प्रयोगबारे ज्ञान दिनु हो’, आचार्यले भने, ‘उनीहरूलाई सामाजिक सञ्जालमा गर्न हुने र नहुने कुराको जानकारी दिनुपर्छ।’

अभिभावक, समाज र राष्ट्रले इन्टरनेट निर्दाेष र अन्जान बालबालिकाका साथी होइन भन्ने कुरा राम्ररी बुझ्नुपर्ने उनले बताए। उनका अनुसार बालबालिकालाई एकान्तमा इन्टरनेट चलाउन दिनु हुँदैन। ‘कम्प्युटर बालबालिकाको कोठामा नराखी सबैले देख्ने ठाउँमा राख्नुपर्छ। बेलुकी निश्चित समयपछि इन्टरनेट बन्द गर्ने नियम बनाउन सकिन्छ,’ उनले भने।

मनोवैज्ञानिक तथा त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद शर्मा बालबालिकामा सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा नयाँ खालका सामाजिक विचलन ल्याएको बताउँछन्। ‘सामाजिक सञ्जालले बालबालिकामा निकटता होइन, भयावह खालको सामाजिक समस्या निम्त्याइरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जाल नियन्त्रण गर्न सम्भव छैन। बालबालिकालाई यसको दुरुपयोगबाट कसरी बचाउनेतर्फ राज्य र अभिभावक सचेत हुनुपर्ने बेला भइसक्यो।’

प्रकाशित: ६ आश्विन २०७५ ००:४८ शनिबार

सामाजिक_सञ्जाल किशोरकिशोरी