१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एबिसी पदमार्गमा मोटरबाटो विस्तारमा रोक

अन्नपूर्ण आधारशिविर पदमार्गमा हिँड्दै पर्यटक । तस्बिरः नागरिक

पोखरा – पदमार्गमा मोटर पुगेर विदेशी पर्यटकको पदयात्रा अवधि छोटिएको गुनासो आइरहँदास्थानीय र पदयात्री व्यवसायीले अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको माथिल्लो भेगमा आगामी ३० वर्षसम्म मोटरबाटो विस्तार गर्न नदिने सम्झौता गरेका छन् । मोटरबाटोका कारण पदयात्रा पर्यटन ध्वस्त भएको भन्दै पदयात्रा क्षेत्रका स्थानीयको पहलमा उक्त सम्झौता गरिएको हो।

एबिसी पदमार्गको झिनुडाँडाभन्दा अगाडि आगामी ३० वर्षसम्म मोटरबाटो खन्न नदिने निर्णय स्थानीय स्तरमा भएको छ । स्थानीयको निर्णयलाई आफूहरुले समेत मान्ने गाउँपालिकाले बताएको छ । पदमार्गलाई मोटरबाटोको अतिक्रमणबाट बचाउन यो निर्णय गरिएको व्यावसायीले बताएका छन् । यसले अबका केही वर्ष आधारशिविर मार्ग मोटरबाटो विस्तारबाट जोगिने व्यवसायीको भनाइ छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलका अनुसार न्यूब्रीजसम्म अहिले नै मोटर पुगेको छ । अब झिनुडाँडा पुग्न झन्डै दुईकिलोमिटर दूरी बाँकी रहेको छ । ‘पर्यटक हिँड्ने पदमार्गमा मोटरबाटो जरुरी छैन । त्यही भएर अब मोटरबाटो विस्तार रोक्न गाउँले सक्रिय भएका हुन्,’ उनले भने, ‘त्यसमा हामी पदयात्री व्यवसायीको पनि समर्थन रहेको छ।’

केहीवर्ष अघिसम्म नयाँपुलबाट सुरु हुने पदयात्रा अहिले पदमार्गको न्यूब्रीजसम्म पुगेको छ । यसले पर्यटकको पदयात्रा अवधि घटेको छ । त्यसको नोक्सान स्थानीय पर्यटन व्यवसायीले पनि खेपेका छन् । कुनैबेलासम्म घान्द्रुकसम्म समेत पैदल हिँडेर पुग्ने पर्यटक अहिले मोटरबाटै घान्द्रुकसम्म पुग्न सकिन्छ । ‘पदयात्रीले खानपिन र बसोबास गर्दा पदमार्गमा होटल व्यवसाय चलेका थिए । अहिले सिधा मोटरबाटोले ती व्यवसायी पनि विस्थापित भइसके,’ उनले भने, ‘अब पनि मोटरबाटो विस्तार गर्ने हो भने धेरै व्यवसायी धरापमा पर्नेछन्।’

विदेशी पर्यटकको पदयात्रा अवधि छोटिएको गुनासो आइरहँदा स्थानीय र पदयात्री व्यवसायीलेअन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको माथिल्लो भेगमा आगामी ३० वर्षसम्म मोटरबाटो विस्तार गर्न नदिने सम्झौता गरेका छन्।

भुजेलका अनुसार झिनुडाँडाबाट एबिसी पुग्न तीन दिन लाग्छ । विश्व पर्यटनको आकर्षक पदमार्ग अहिले मोटरबाटोका कारण धरापमा परेकाले त्यो रोक्नका लागि यो नै उत्तम विकल्प रहेको उनले बताए । भुजेलका अनुसार झिनुडाँडाभन्दा अगाडि पदमार्गका होटलबाहेक कुनै बस्ती छैन । ती होटल पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको निगरानीमा सञ्चालनमा छन् । बस्ती नहुँदा त्यहाँ मोटरबाटो विस्तार गर्न जरुरी पनि छैन । ‘बस्ती नै नभएको ठाउँमा मोटरबाटो नै चाहिँदैन,’ उनले भने, ‘आधारशिविर पुग्ने पाहुना हिड्ने पदमार्गका ठाउँठाउँमा सीमित होटल मात्र हुन् । ती होटलका पाहुना भनेकै पदयात्री हुन् । अरु गाउँले कोही हुँदैनन् । त्यसैले पनि पदमार्गमा मोटर जान जरुरी छैन।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले माथिल्लो क्षेत्रमा बस्ती नरहेकाले पनि मोटर जान जरुरी नरहेको बताए । उनले पदमार्गका स्थानीयले गरेको यो निर्णयमा गाउँपालिकाको पनि समर्थन रहेको बताए ।‘पदमार्गमा मोटरबाटो खन्न नदिने निर्णय पदमार्ग क्षेत्रका बासिन्दाको भेलाले गरेको हो । गाउँपालिकाले यो निर्णय मान्नेछ,’ कुँवरले भने, ‘पदमार्गको सबैभन्दा ठूलो बाधक नै मोटरबाटो हो । त्यो जोगाउन नसक्ने हो भने आधारशिविर क्षेत्रको पर्यटन सकिन्छ ।’ गाउँपालिकाले यसअघि पदयात्रा पर्यटन धरापमा परेको भन्दै आधारशिविर पदमार्गको हेलिकप्टर यात्रामा पनि रोक लगाएको थियो। 

पर्यटनमा राम्रो गर्नका लागि स्थानीयस्तरमा यस्ता काम हुनुपर्ने उनले बताए । ‘स्थानीयको चाहनाअनुुसार नै जानुपर्छ । कसैले जबर्जस्ती गर्नु हुँदैन । किनकी यो पर्यटनमा राम्रो गर्नका लागि भएको निर्णय हो,’ कुवरले भने, ‘हामी पदाधिकारी पनि स्थानीयको सहमतिमा चल्ने हो ।’ उनले पनि पदयात्रा क्षेत्रमा मोटर लैजान जरुरी नरहेको बताए। 

‘पदयात्रा पर्यटनको रुपमा अत्यन्त महत्वपूर्ण ठाउँ भएकाले एबिसी जस्तो रमणीय ठाउँसम्म मोटरबाटो आवश्यक पनि छैन,’ कुँवरले भने, ‘पदमार्गमा मोटर पुग्नु भनेको विकास होइन विनास गर्नु हो ।’ उनले एबिसी विश्वमै कहलिएको पदमार्ग भएकाले पनि यसलाई जोगाउन सबै लाग्नुपर्ने बताए । पदयात्रा व्यवसायीका अनुसार आधारशिविरसम्मको पदयात्रा कुनै बेला कम्तिमा १० दिनमा पूरा हुन्थ्यो । अहिले आधा समयमा झरेको छ । पोखराबाटै एकैदिनमा घान्द्रकुमा मोटर पुगेर बल्ल अहिले पदयात्रा सुरु हुन्छ । केहीवर्षअघिसम्म नयाँपुलबाट पदयात्रा सुुरु हुन्थ्यो । नयाँपुलबाट पदयात्रा सुरु हुँदाताका पदमार्गमा थुप्रै होटल थिए, अहिले ती सबैजसो होटल विस्थापित भइरहेको व्यावसायीको भनाइ छ।

स्थानीयले पनि पर्यटन प्रवद्र्धनका लागि यो निर्णय उपयुक्त रहेको बताएका छन् । एकजना स्थानीय अगुवाले मोटरबाटो विस्तार गर्न नदिनका लागि त्यस क्षेत्रका सबै गाउँलेको सहमति जुटेको बताए । ‘बस्ती नभएकाले राष्ट्रिय गौरवका आयोजनासमेत बन्ने छैनन् । त्यसैले मोटरबाटो विस्तार गर्न जरुरी छैन,’ ती स्थानीयले भने, ‘पदमार्ग ध्वस्त बनाउन मोटरबाटो जरुरी छैन।’ 

टान पदाधिकारीका अनुुसार स्थानीयको समेत सहभागितामा भएको मोटरबाटो विस्तार हुन नदिने निर्णयलाई कसैले अवरोध गर्न खोजे संयुक्त रुपमा त्यसको प्रतिकार गर्ने निर्णय भएको छ । नेपालको पर्यटकीय क्षेत्रको ठूलो हिस्सा पदयात्रा पर्यटनले ओगटेको छ । साहसिक पदमार्गमा पदयात्रा जानुलाई विदेशीले निकै नै रोमाञ्चक ठान्ने गर्छन् । नेपाल आएकामध्ये करिब ७० प्रतिशत विदेशी पाहुना कुनै नै कुनै क्षेत्रको पदयात्रामा जाने अनुमान छ । तर पछिल्लो समय अन्नपुर्ण पदयात्रा क्षेत्र मोटरबाटोले ध्वस्त भएकाले व्यवसायीले चिन्ता जनाउँदै आएका छन्।  

प्रकाशित: ५ आश्विन २०७५ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App