१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिमरामा चारतारे होटल

बारा- गढीमाई नगरपालिका–४ सिमरामा जिल्लाकै पहिलो र सुविधासम्पन्न चारतारे होटल निर्माण भएको छ। वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत पर्ने न्यु सिमरा कोलनीभित्र दुई बिघा क्षेत्रफलमा ६० करोडभन्दा बढी लगानीमा होटल इच्छाको निर्माण सम्पन्न गरिएको लगानीकर्ताले बताएका छन्। 

'पाँच वर्ष लगाएर निर्माण सम्पन्न गरिएको होटललाई २–२ दिनभित्रै परीक्षणको रुपमा सञ्चालन गरिने छ,’ होटल इच्छा प्रालिका कार्यकारी अध्यक्ष इच्छाप्रसाद वाग्लेले भने, 'यसको निर्माणमा ६० करोडभन्दा बढी लगानी परेको छ।’

बिवाह, सेमिनार र सभा सम्मेलनमा एकैपटक दुई हजारजनालाई सेवा दिन सकिने किसिमले निर्माण गरिएको भनिएको होटलमा दक्ष र अदक्ष गरी ८० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको वाग्लेले बताए।

'आधुनिक किसिमले निर्माण गरिएको होटलको बीच भागमा रहेको झर्नाको पानी ४० फिटसम्म माथि जानेछ,’ वाग्लेले भने, 'झर्नाको प्रयोगले गर्मी वातावरणलाई शीतलमा परिवर्तन गर्न सकिने छ।’

जिल्लाको उत्तरी भागमा पर्ने गढीमाई नगरपालिकामा राजनीतिक दलहरुले गर्ने बन्दको प्रभाव कम पर्ने तथा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र चर्चा चलेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटलमा गरेको लगानीबाट राम्रो पतिफल लिन सकिने सम्भावना रहेको वाग्लेले बताए।

'होटल इच्छामा सुइट, मिनी सुइट तथा स्तरीय मापदण्डका ८४ वटा कोठा छन्,’ वाग्लेले भने, '८४ कोठामध्ये अहिले ६७ वटालाई सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाँकी १७ वटा निर्माणधीन छन्।’

होटलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार केटा–केटी र बयस्कको लागि बेग्लाबेग्लै स्विमिङ पुल निर्माण गरिएको छ।। साना–ठूला गरी पाँचवटा सभाहल रहेको वाग्लेले बताए।

'देशकै मुख्य आर्थिक कारोबार हुने यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक र व्यवसायीलाई आवश्यक पर्ने सुविधासम्पन्न होटलको खाँचो टार्ने उद्देश्यले निर्माण गरिएको हो,’ वाग्ले भन्छन्।

बारा, पर्सा, मकवानपुर, रौतहट र सर्लाही लगायत जिल्लाबाट हवाई मार्ग प्रयोग गरी काठमाडौं ओहोरदोहोर गर्न सिमरा आउनुपर्छ। सिमरा एअरपोर्ट  प्रयोगकर्ताका लागि यहाँ तारे होटल आवश्यक रहेको वाग्लेले बताए।

कार्यक्रमहरुमा भाग लिन आउने उच्च अधिकारी, राजनीतिक दलका नेता, उद्योगी र पर्यटक यहाँ सुविधासम्पन्न होटलको अभाव झेलिरहेको वाग्लेको भनाइ छ।

वाग्लेले सञ्चालनमा आउनेबित्तिकै देशभरका चारतारे होटलको सूचीमा यो टपटेनभित्र पर्ने दाबी गरे। परीक्षण सञ्चालनपछि होटलमा आउने अतिथिलाई तीन महिनासम्म २५ प्रतिशत छुट दिने उनको भनाइ छ।

प्रकाशित: ३ आश्विन २०७३ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App