१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एएफसी यु–१६ महिला छनोटः नेपालको फराकिलो हार

नेपाली टाेलीकी खेलाडी अस्मिता चाैधरी (राताे) फिलिपिन्सकी खेलाडीसँग बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएपछि नेपालले अर्को चरण प्रवेशका लागि आउँदा दुई खेल जित्नैपर्ने भएको छ। 

हलचोकस्थित एपिएफ क्लबको खेलमैदानमा बुधबार भएको खेलमा पाहुना टोली फिलिपिन्स खेलअवधिभर हाबी हुँदा पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित हुन पुगेको हो । फिलिपिन्सलाई जिताउन कप्तान मारिया लाजोले दुई तथा मिकाइला भिलासिन र सिमोन्सले समान १–१ गोल गरे। 

खेलको १२औं मिनेटमा सविता रानामगरले प्रहार गरेको फ्रिकिक फिलिपिन्सकी गोलकिपर ओडेजा मारी यपले विफल पारिदिँदा नेपाल अग्रता लिनबाट चुकको थियो । लगत्तै अस्मिता चौधरीले गोलका लागि प्रहार गरेको बल गोलपोस्टनजिकैबाट बाहिरिँदा नेपालले अर्को अग्रताको मौका गुमाएको थियो । त्यसपछि राम्रो प्रदर्शन गर्न नसकेको नेपाल बाँकी समय पाहुना टोलीसामु निरीह बन्यो । पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा कप्तान लाजोले गोल गर्दै फिलिपिन्सका लागि पहिलो अग्रता दिलाएकी थिइन्। 

पेनाल्टी बक्सभित्रको बललाई क्लियर गर्ने क्रममा जिन्ना काटे सिमोन्सको खुट्टामा परेपछि दिलाएको पासलाई लाजोले आकर्षक शैलीमा गोल गरेकी हुन् । पहिलो हाफको अतिरिक्त समयमा जिन्नाकै पासमा कप्तान लाजोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा फिलिपिन्सलाई २–० को अग्रता दिलाएकी थिइन्। 

खेलको १२ औं मिनेटमा सविता रानामगरले प्रहार गरेको फ्रिकिक फिलिपिन्सकी गोलकिपर ओडेजा मारी यपले विफल पारिदिँदा नेपाल अग्रता लिनबाट चुकको थियो।

दोस्रो हाफमा केही सुधारिएको खेल प्रस्तुत गरे पनि नेपालले बललाई नियन्त्रणमा लिन सकेन । ७६औं मिनेटमा सिमोन्सले गोल गर्दै खेललाई ३–० मा पुर्याएकी थिइन् । त्यसको ६ मिनेटपछि भिलासिनले गोल गर्दै फिलिपिन्सको अग्रता ४–० मा पुर्याइन् । बाँकी समयमा नेपाली खेलाडीले केही मुभ बनाए पनि गोल गर्न नसक्दा टोली पहिलो खेलमा स्तब्ध बनेको हो।

अब नेपाललाई अर्को चरण प्रवेशका लागि मलेसिया र म्यानमारसँगको खेलमा जित हात पार्नुपर्ने भएको छ ।  बुधबारै सम्पन्न पहिलो खेलमा अन्तिम १५ मिनेट सम्हालिन नसक्दा मलेसिया म्यानमारसँग ३–० ले पराजित भएको छ । हलचोककै मैदानमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा म्यानमारकी म्याट नोइ खिनले खेलको ७५औं, ८७औं र ८९औं मिनेट गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

प्रतियोगितामा अब नेपालले शुक्रबार म्यानमारसँग खेल्नेछ भने सोही दिन फिलिपिन्स र मलेसियाबीच पनि खेल हुनेछ। यस्तै छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आइतबार खेल्नेछ भने आइतबारै  फिलिपिन्स र म्यानमारबीच पनि खेल हुनेछ । समूह ‘ई’ को छनोट खेलमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन्। 

सहभागी ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर एएफसीले  थाइल्यान्डमा हुने प्रतियोगिताका छनोट गर्न लागेको हो । ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने यस्तै ६ समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले पनि दोस्रो चरणको यात्रा तय गर्नेछन् । प्रतियोगिताका लागि उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् भने थाइल्यान्डले आयोजकको रूपमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ४ आश्विन २०७५ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App