१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बोक्सी आरोपमा अझै मारिँदैछन् नारी

दाङ - दाङको दंगिशरण गाउँपालिका ३ की टंकी रावत बिरामी परिरहन्थिन्। औषधिमूलो गर्दा समेत बिसेक नभएपछि उनी रोग निको पार्न धामीकहाँ पुगिन्। धामीले टंकीलाई बोक्सी लागेको र उनकै सासू बोक्सी भएको बताइदिए। टंकीले यो कुरा कसैलाई भने भनिनन् तर उनको मनमा सासू रहुन्जेल आफू कहिल्यै निको नहुने भन्ने सोच बन्यो। अनि उनले बुन्न थालिन् बोक्सी हटाउने क्रूर योजना। अन्ततः गत भदौ ५ गते उनले सासु खोपीको हत्या गरिदिइन्।

टंकीले सल्यानमा झारफुक गर्न जाने र सँगै सासूलाई पनि लैजाने योजना बनाइन्। टंकीले ललाईफकाई सासू खोपीलाई सल्यानको कपुरकोट पु-याइन्। अर्को दिनदेखि सासू–बुहारी नै सम्पर्कविहीन भए। १२ गतेसम्म उनीहरुको अत्तोपत्तो नभएपछि परिवार खोजतलास गरिदिन आग्रह गर्दै प्रहरीकहाँ पुग्यो । प्रहरीले खोजतलासका क्रममा १५ गते खोपीलाई सल्यानको कपुरकोट गाउँपालिका २ स्थित शिवन्दिर सामुदायिक वनमा मृत फेला पा-यो। बुहारी टंकीको भने अझै अत्तोपत्तो थिएन। प्रहरीले खोपीको हत्या भएको आशंका ग¥यो र टंकीको खोजी सुरु ग-यो। उनी कपिलवस्तुको कृष्णनगरमा फेला परिन्। ‘पटकपटक बिरामी हुँदा झारफुक गर्ने क्रममा सासूले बोक्सी बनेर सताएको देखिने गरेको थियो,’ उनको बयान उद्धृत गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले भने, ‘सासू बाँच्दा सम्म आफू निरोगी हुन नपाउने देखेपछि हत्या गरेकी हुँ।’

प्रहरीका अनुसार टंकीले कपुरकोटस्थित धामीसँग झारफुक गरेर फर्कने क्रममा ५ भदौमा बाटोमा लाठीले टाउकोमा हानेर सासूको हत्या गरेको स्वीकार गरेकी छन्। ‘आफू बिरामी हुँदा सासू नै लागेको भनेर धामीले भनिदिएपछि ती महिलामा सासूप्रति निकै वितृष्णा जागेछ,’ डिएसपी सापकोटाले भने, ‘सासूलाई मार्ने योजना बनाएर ललाईफकाई झारफुकको नाममा सल्यानमा पु¥याएको उनले स्वीकार गरेकी छन्।’

बोक्सी काण्डमा अर्को घटना पनि यस्तै छ। श्रीमान् क्यान्सरका रोगी। भारतमा उनको उपचार भइरहेको छ। झारफुकबाटै निको भइहाल्ला कि भन्ने मनसायले तुलसीपुरस्थित एक परिवार धामीकहाँ पुग्यो। धामीले भनिदिए, ‘श्रीमती बोक्सी बनेर लागेकी छिन्।’ त्यसपछि परिवारका सबै सदस्य क्रूद्ध बने। अन्ततः ती महिलालाई परिवारका सदस्य मिलेर निर्घात कुटपिट गरे। ‘बिरामी श्रीमान्माथि श्रीमती नै बोक्सी लागेको धामीले बताइदिएपछि ती महिलालाई परिवारबाटै निर्घात कुटपिट गरियो,’ एक गाउँलेले भने, ‘लछारपछारबाट ती महिलाको शरीरका विभिन्न भागमा निकै चोट लागेको थियो।’ घटना थाहा पाएपछि कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ ग¥यो तर ती महिलाले आफ्नै परिवारविरुद्ध किटानी जाहेरी दिन मानिनन् । त्यसपछि परिवारका सबै सदस्यलाई परिवारले छाडिदिएको ती गाउँलेले बताए। उनका अनुसार अबदेखि बोक्सी आरोपमा अभद्र व्यवहार नगर्ने सहमतिमा दोषीहरुलाई छोडिएको थियो।

बोक्सीबारेको अन्धविश्वासका कारण भएका यी प्रतिनिधिमूलक घटना हुन्। महिलामाथि लगाइने बोक्सी आरोप ग्रामीण समाजमा अहिले पनि उत्तिकै विद्यमान छ। मूलतः उपचार प्रविधिभन्दा पनि धामीझाँक्री गरेरै रोग निको हुन्छ भन्ने मानसिकताबाट ग्रामीण भेक अहिले पनि ग्रस्तै छ । सुरुमा धामीझाँक्रीकहाँ पुग्ने र रोग निको नभएपछि बल्ल अस्पताल पुग्ने प्रवृत्ति अहिले पनि कायमै छ। सुरुमा अस्पताल पुगेर उपचार गराएकाहरु पनि धामीझाँक्रीको शरणमा पुग्ने गरेका उदाहरण जिल्लामा कैयन छन्। यसर्थ उपचारभन्दा झारफुकमै बढी विश्वसनीय मान्ने ग्रामीण समाजले धामीले घोषणा गर्ने रोगको कारणलाई बिनाशंक पत्याउँछ। अनि ग्रामीण भेगका कैयन महिलाले कथित बोक्सीको आरोपमा ज्यानै गुमाउनुपरेको छ भने कैयन निर्घात कुटपिटको मारमा परेका छन्। ‘धामीझाँक्रीबाटै रोग निको हुन्छ भन्ने अन्धविश्वासको जरा उखेलिन सकेको छैन,’ राष्ट्रियसभा सदस्य अनीता देवकोटाले भनिन्, ‘यही अन्धविश्वासमा धामीको शरणमा पुग्नेहरुले धामीले सुनाइदिने निर्णय नै सर्वेसर्वा बन्छ अनि बोक्सीको आरोपमा निर्दोष नारीले अत्याचार बेहोर्नुपरिरहेको छ।’

मूलतः कथित बोक्सीको आरोप अपहेलित महिलामाथि नै लगाउने गरिएको हुन्छ। वृद्धा, एकल महिला तथा अशक्तलाई बोक्सीको आरोप लगाउने प्रवृत्ति निकै रहेको देवकोटाले बताइन्। उनले भनिन्, ‘पहिलेदेखि अपहेलित र अशक्तलाई लगाइने यस्ता आरोपले उनीहरुमाथि झनै अभद्र व्यवहार प्रदर्शन गरिन्छ।’

बिरामीका आफन्तमात्रै हैन, कथित बोक्सीको आरोपमा कुटपिट गर्नेहरु आरोप लगाउने धामी तथा माता स्वयं हुन्छन्। झारफुककै क्रममा काँप्दै उनीहरु कथित बोक्सी दाबी गरिएका महिलामाथि जाइलागेका घटनासमेत जिल्लामा छन्। लमही नगरपालिका ९ का अन्दाजी २७ र ३० वर्षीया महिलालाई बर्दघाट नगरपालिका १० नवलपरासीकी ४५ वर्षीया तुलसा कोइरालाले बोक्सीको आरोप लगाइन्। उनी माता भनेर चिनिन्थिन्। उनलाई एक स्थानीयले आफ्ना परिवारका सदस्य बिरामी भएको भन्दै झारफुकका लागि नवलपरासीबाट बोलाएका थिए। कथित ती माताले झारफुकका क्रममा पूजा लगाउन भनिन्। बिरामीका परिवारले उनले भनेजस्तै गरिदिए। पूजा हेर्नका लागि आएका गाउँलेमध्ये दुई महिलालाई उनले बोक्सीको आरोप लगाउँदै झम्टिइन्। दुई महिलालाई कुटपिटसँगै उनले खुर्सानीसमेत खुवाइन्।

बोक्सीको आरोपमा कुटपिट गरेकी ती माता अहिले जेलसजाय भोगिरहेकी छिन्। गत वैशाख १९ गते भएको यो घटनाबारे पीडित पक्षले उजुरी हालेपछि जिल्ला अदालतले माता भनिने ती महिलालाई गत असार ६ गते ६ महिना कैदको फैसला सुनाएको थियो।

धामीझाँक्रीको विश्वासमा रहने ग्रामीण समाजमा अहिले पनि कथित बोक्सीको आरोपमा महिलामाथि हुने अमानवीय व्यवहारका घटना उत्तिकै छन्। तथापि बोक्सीको आरोपमा हुने यस्ता घटना कमैमात्रै सार्वजनिक हुन्छन्। मूलतः बोक्सीको आरोपमा कुटिने अधिकांश महिला अशक्त तथा बेसहारा हुन्छन्। न्यायिक निकाय उनीहरुको पहुँचभन्दा धेरै टाढा रहन्छ। यसर्थ अमानवीय व्यवहार सहनुमात्रै उनीहरुले विकल्प देख्छन्। यसैगरी कथित बोक्सीको आरोपमा लगाइने घटनाहरु आर्थिक लेनदेनमै टुंग्याइने भएकाले पनि यस्ता घटना बाहिर आउन पाउँदैनन्। ‘मूलतः बोक्सीको आरोपमा अमानवीय व्यवहार सहने महिला बेसहरा, अशक्त हुन्छन्, उनीहरुका लागि न्यायिक निकाय र न्यायिक बाटो धेरै टाढा रहन्छ,’ इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले भने, ‘अर्को कुरा यस्ता मुद्दाहरु अधिकांश लेनदेनबाटै मिलाइन्छन्, यी दुई कारणले बोक्सी आरोपका घटनाहरु खासै बाहिर सार्वजनिक हुन पाउँदैनन्।’ पछिल्लो ६ महिनामा बोक्सी आरोप लगाई हिंसा गरिएका घटना आधा दर्जन हाराहारीमा छन्।

प्रकाशित: ४ आश्विन २०७५ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App