१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

छेन्दु– चीनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्।

भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु जस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए। उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाैंदेखि सांस्कृतिक एवम् विविध सम्बन्ध रहेको चर्चा गरे। उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गरे। 

उपराष्ट्रपतिले नेपालका प्रधानमन्त्रीहरुको भ्रमणको क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए। उनने चिनियाँ बन्दरगाहा प्रयोग सम्बन्धी संझौतामा चाँडै हस्ताक्षर हुनुपर्ने उल्लेख गर्दै त्यसमा हस्ताक्षर भएपछि नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए।

नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पुनले नेपाली भूमी चीन विरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। लासा काठमाडौं रेल परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै लासा, काठमाडौं, लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिने र त्यसबाट चीनलाई नै बढी लाभ हुने बताए। ‘अवश्य पनि यसबाट नेपाललाई पनि ठूलो लाभ हुनेछ’, उनले भने। 

उपराष्ट्रपति पुनले अवरुद्ध तातोपानी नाका सञ्चालमा जोड दिनुहुँदै केरुङ नाकाको स्तरोन्नती, ओलाङचुङगोला लगायतका नाका सञ्चालनमा जोड दिए। 

नेपालका समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको औल्याउँदै उनले चीनसँग नेपालका ठूलो व्यापार घाटा रहेको र त्यसलाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस् पहल गर्नुपर्नेमा जोड दिए।  

उपराष्ट्रपतिले नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण रहेको उल्लेख गर्दै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गरे। उनले नेपालको जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गरे। 

उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनका घनिष्ठ र साझेदारी देश भएको बताए। उनले नयाँ युगमा चीन नेपाल सम्बन्धलाई नयाँ उचाईमा उठाउनुपर्ने बताए। उनले बेल्ट एण्ड रोड एनिसियटिभको कार्यक्रम मार्फत नेपालसँगको परम्परागत सम्बन्धलाई चीनले नयाँ उचाईमा उठाउन चाहेको बताए।

उपप्रधानमन्त्रीले नेपालको स्थिरता, विकास, समृद्धि र नेपाली जनताको जीवन स्तरमा परिवर्तन ल्याउन नेपालले चाल्ने हरेक कदमको चीनले स्वागत गर्ने बताए। उनले समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न चीनको सहयोग रहने बताए। 

प्रकाशित: ३ आश्विन २०७५ १६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App