१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘मुलुकी संहिताले सञ्चार क्षेत्रमा निम्त्याएको समस्या समाधान गर्छाैं’

काठमाडौं– सभामुख कृष्णबहादुर महराले भदौ १ गतेबाट लागू भएको मुलुकी ऐन (देवानी तथा अपराध) संहिता लगायतका विषयमा उठेका प्रश्नहरुमाथि छलफल भइरहेको बताएका छन्। संहितामा समावेश विषयले सञ्चार क्षेत्रलाई अंकुश लगाएको भन्ने आवाजको यथार्थ बुझ्न तथा समस्या भए त्यसको समाधानका लागि सरकार अत्यन्तै गम्भीर ढंगले लागि परेको उनको भनाई छ।

कानून निर्माणमा भएगरेका व्यवस्था देशमा सुशासन कायम गर्न बनेको तर त्यसको कतिपय अवस्थामा बुझाई फरक पर्दा अप्ठ्यारो भएको सभामुख महराले सुनाए।

बुधबार काठमाडौंमा नयाँपाइला डटकमको शुभारम्भ कार्यक्रममा सभामुख महराले देशको मूल कानून सिंगो नेपाली जनतालाई एकतामा बाँध्न बनेको र त्यसले सार्थकता पाएको दाबी गरे।

लामो राजनीतिक संघर्षबाट देशमा ल्याइएको संविधानको मूल मर्ममा सबै नेपालीको आस्था र भरोसा जोडिएकाले अव देश त्यसैको जगमा टेकेर सुशासन र विकासमा अघि बढ्ने ढोका खुलेको बताए।

संविधान जारी भएको ३ वर्ष पुग्दै गर्दा निर्माण गर्नुपर्ने मौलिक हक तथा त्यससँग सम्बन्धित व्यवस्था तयार भइसकेकाले अब राज्य संचालनमा कुनै संवैधानिक जटिलता नरहेको स्पष्ट पारे।

यसैबीच, सभामुख महराले संविधानका अन्तरवस्तुसँग असन्तुष्ट रहँदै आएका मधेसकेन्द्रीत दललाई संविधानको मर्म बुझ्न आग्रह गरे। उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुँदै जाने बताए। त्यसका लागि समयले नै त्यसको आवश्यकता महसुस गर्ने उनको भनाई थियो।

यस्तै उनले संविधानले सञ्चार माध्ययमलाई दिएको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको उच्चतम रुपमा प्रयोग गर्दै सूचना प्रवाहमा सन्तुलित भएर लाग्न सुझाव दिए।

परिवर्तनको संकेत दिँदै नयाँपाइला डटकम नेपाली सञ्चार क्षेत्रमा आएकोमा खुशी व्यक्त गर्दै उनले समाजको हरेक तह र वर्गको पाइला बन्न आग्रह गरे। अनलाइनको शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेकपाका नेता योगेश भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: ३ आश्विन २०७५ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App