१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मान्छे किन अपराधी हुन्छ ?

एलपि भानु शर्मा
प्राध्यापक पोखरा विश्वविद्यालय
जीवन विकास विशेषज्ञ

हाम्रो समाजमा जघन्य आपराधिक घटना घट्ने गरेका छन् । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ । यसपालिको लेखमा बलात्कारजस्ता जघन्य अपराध किन हुन्छन् ? व्यक्ति किन जस्तोसुकै घृणित कार्य गर्न पनि अग्रसर हुन्छ भन्नेबारे मनोवैज्ञानिक र आध्यात्मिक तवरबाट उल्लेख गरिन्छ । 

जन्मिदै कोही अपराधी हुँदैन 

जन्मिदै कोही पनि अपराधी भएर जन्मँदैन । मानिसका कुनै पनि गुणहरु व्याख्या गर्दा अपराधी हुने प्रकारको हुँदैन । मान्छे अपराधी हुनुमा उसको आन्तरिक गुणका कारण हुने होइन । अपराधी हुनुमा बाह्य कारण पर्दछन् । जस्तै ऊ कस्तो परिवारमा हुर्किएको छ, उसले कस्तो प्रकारको शिक्षा पाएको छ, समाज कस्तो छ भन्ने कुराले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । 

अध्यात्मले धेरै लामो समयदेखि बलात्कारको कुरालाई गहिरोसँग हेरेको छ । मान्छेभित्र अपराध गर्ने भाव किन आउँछ ? वास्तवमै के जन्मिँदै मान्छे अपराधी जन्मिन्छ ? मान्छे वास्तवमै अपराधी नै हो कि अपराधी बन्छ ? अध्यात्मले यसको लामो समयदेखि खोजी अनुसन्धान गरेको छ ।

मनोविज्ञानले पनि यसमा खोजी गरेको करिब सय वर्ष पुगिसकेको छ । मनोविज्ञानले अझ विशेष गरेर दोस्रो विश्वयुद्धपछि खोजी गरेको छ । पहिलो विश्वयुद्धभन्दा पहिले जति पनि मनोविज्ञानका शास्त्रहरुलाई खराब कुराको अध्ययन भन्ने गरिन्थ्यो । मान्छे खराब तथा हिंस्रक प्रवृत्तिको भयो भने मनोविज्ञानको अध्ययन गर्ने भन्ने विचार हावी थियो । क्लिनिकल्ली अनहेल्दी जसलाई प्याथोलोजिकल भन्ने गरिन्छ तिनको अध्ययनै मनोविज्ञानको अध्ययन हो भन्ने मान्यता थियो । अब समय बदलिएको छ । मनोविज्ञान जताततै पुगेको छ ।

के मानिसभित्र आपराधिक गुण हुन्छ ?

सन् १९४३ मा डा. अब्राहम मास्लोले मान्छेको मनोविज्ञानको क्षेत्रमा क्रान्ति गरे । उनले ‘मोटिभेसनल पर्सनालिटी’ व्यक्तिभित्र केले प्रेरणा जन्माउँछ ? व्यक्तित्वको निर्माण केले हुन्छ ? भन्ने कुराको गहिरो अध्ययन गरे । उनको निष्कर्ष के रह्यो भने मान्छेभित्र केही आवश्यकता हुन्छन् । त्यो आवश्यकता पूर्ति गर्नका निम्ति लागि पर्छन् । मुख्य गरेर ती आवश्यकताहरु पाँच प्रकारका हुन्छन् भन्ने कुरा उनले औँल्याए । 

ती आवश्यकताहरु पिरामिड शैलीमा जाने उनले बताए र एउटा आवश्यकता पूरा भएपछि मानिसमा अर्काे आवश्यकता जन्मन्छ । ती आवश्यकता पूरा गर्न मान्छे मरिमेटेर लाग्छ । जसमध्ये शारीरिक आवश्यकता, भावनात्मक आवश्यकता, सुरक्षा, अहंता त्यसपछि सेल्फ एक्चुअलाइजेसनको आवश्यकता पर्छ भनेर उनले औंल्याएका छन् ।

उनले औंल्याएका आवश्यकतामा कहीँ पनि अपराधको आवश्यकता छैन । अपराधी भन्ने कुरा उसको बानी व्यवहारमा खराब आचरण उत्पन्न भएर हुने हो । अपराध बन्नु पर्छ भनेर कसैले पनि भनेको छैन । यही विषयको बारेमा पत्रकार सम्मलेलन भयो । पत्रकार सम्मेलनमा उनले भने, ‘वास्तवमा मान्छेभित्र अपराध छैन । मान्छेको भित्री प्राणमा आपराधिकता हुँदैन । बाहिरी कुरा भनेको गलत सिकाइले अपराध गर्छ । उसको जुन हुर्काइ बढाइ छ त्यही प्रभावले अपराध जन्मिन्छ । कुनै पनि बालक सुरुमा जन्मँदा अपराधी जन्मिँदैन । अपराध लिएर व्यक्ति जन्मिँदैन, व्यक्तिमा नराम्रो चरित्र उत्पन्न हुनुलाई अपराधी भनिन्छ । पत्रकारले थुप्रै प्रश्न सोधे उनले प्रमाणका साथ जवाफ दिए । त्यस्तै मान्छे जन्मिदानै बलात्कारी जन्मिदैन, किन हुन्छ त मान्छे बलात्कारी ?

शिक्षामा कमजोरी 

हाम्रो शिक्षा व्यावहारिक छैन । व्यवहारमुखीभन्दा पनि साक्षरतामुखी शिक्षाको विकास भइरहेको छ । त्यसकारण बलात्कार जस्ता जघन्य अपराधमा अशिक्षित मान्छेको तुलनामा शिक्षित मान्छे नै संलग्न भइरहेको छ । 

शिक्षाले घरपरिवार समाजमा बलात्कार गर्न हुन्न भनेर प्रत्यक्ष त सिकाउँदैन तर यौनको सवालमा हाम्रो समाज बोल्दैन सिकाउँदैन एकआपसमा कुरा गर्न बन्देज लगाउँछ जसले गर्दा अन्जानवश कुण्ठावश नै बलत्कारीहरु समाज परिवारले नै उत्पादन गरिरहेको छ । स्कुल कलेजमा पनि यौन जिज्ञासासम्बन्धित पर्याप्त पाठ्यक्रम छैन जसले गर्दा धेरै समस्याहरु र आपराधिक घटनाहरु बढेका छन् । 

हामीले विद्यालयीय शिक्षामा धेरै कमजोरी गरेका छौँ । हामै्र देशमा पनि राम्रो साक्षरतादर पुग्न आँटिसकेको छ । तर शिक्षामा यौन केहो ? परिवार के हो ? महिला के हो ? पुरुष के हो ? पढाएनौँ हामीले । पाठ्यक्रमहरुमा त्यो छैन । देखाएनौँ यौनको प्यासलाई कसरी मेटाउने भनेर सिकाएनौँ । आमा–बुबा, विद्यालय कतैबाट पनि यौन केहो भनेर सिकाइएन । पाठ्यक्रममा पनि छैन । शिक्षामा नसिकाएकै कारण मानिसले विकृत तरिकाले प्यास मेटाएको छ । 

विभेद सिकाएनौं

हामीले महिला र पुरुष भनेको अलग–अलग हो भन्ने ग-यौँ । हुुर्काउने तरिकामा पनि केटा र केटी लाई फरक देख्यौँ । केटाकेटी सँगै र्हुकिएको बच्चामा त्यस्तो हुँदैन । उनीहरुमा यौन प्यास त हुन्छ तर शरीर नै के रहेछ भन्ने खुलदुली हुँदैन । जहाँ हामीले धेरै ठूलो पर्खाल लगायौँ महिला अलग पुरुष अलग भनेर त्यहाँ धेरै अपराध भएका छन् । 

महिला र पुरुष सगैँ रहँदा नराम्रो आँखाले हे-यौँ । जसले गर्दा समाजले अप्रत्यक्ष रुपमा बलात्कारी जन्माइरहेको छ । सिधा हिँड्न नसकेर बाँगो बाटो हिँड्न बाध्य भएको हो ।

जति खुला समाज उति कम बलात्कार 

महिला र पुरुषमा जुन विभेद छ यो प्राकृतिक विभेद हो । स्वाभाविक रुपमा पुरुषलाई जिज्ञासा हुन्छ महिला के रहेछ त हेर्न पाए ? महिलालाई पनि स्वाभाविक जिज्ञासा हुन्छ पुरुष के रहेछ त हेर्न पाए । दुवैलाई एकअर्काप्रति बढी जिज्ञासा हुन्छन् । किनभने शारीरिक बनावट फरक छ । फरक भुगोललाई हेर्न चाहन्छ । खुला समाजमा एकअर्कासँग बोल्ने, कुराकानी गर्ने गर्दा गहन प्रेममा बलात्कार हुँदैन ।

आज पनि कतिपयले ‘को एजुकेशन’ को विरोध गर्ने गरेका छन् । यो गलत हो । को एजुकेशन अहिलेको आवश्यकता हो । केटाकेटी सगैँ पढ्दा एकअर्कासँग कुराकानी हुन्छ । त्यस्तोमा कौतुहलता कम हुन्छ र कमै घटना मात्र घट्छन् सहपाठीलाई बलात्कार गरेको घटना विरलै हुन्छ । मित्रतामा सम्मान हुन्छ । सम्मानमा प्रेम जन्मिन्छ । त्यसकारण समाजलाई खुला राख्न आवश्यक छ । यौनको बारे खुलेर कुरा गर्नुपर्छ । खुला प्रकारको समाजमा यस्तो घटना कम हुन्छ । एउटा नयाँ संस्कारको समाजको अभ्यास गर्नु पर्छ । लोकतान्त्रिक समाज खुला हुनुपर्छ । व्यवहार पनि लोकतान्त्रिक हुनका लागि हामीले हरेक कुरामा खुलापन हुन जरुरी भइसकेको छ । 

जहाँ खुला समाज छ, राम्रोसँग बोल्न, बस्न, सँगै हिँड्न समस्या छैन त्यस समाजमा यस्ता घटना कम हुन्छन् । जहाँ महिला र पुरुषको खासै विभेद गरिन्न । त्यहाँ निकै कम हुन्छ । त्यस्तोमा गलत आकर्षण रहँदैन । यौनको प्यास प्राकृतिक हो । 

अरुको अस्तित्वबारे पनि बुझौँ

हाम्रोमा अरुको अस्तित्व स्वीकार गर्ने परम्पराको विकास भएन । अर्काे व्यक्तिको छुट्टै सम्मान छ, स्वाभिमान छ सम्मान गर्नुपर्छ भन्ने बोध हामीले सिकाएनौँ । जसले गर्दा विभिन्न प्रकारका अश्लील हर्कत देखाउँछन् । त्यसकारण पुरुषहरुले महिलालाई दुव्र्यवहारपूर्ण तरिकाले हेर्ने, संवेदनशील अंगमा हेर्ने गर्छन् अरुको अस्तीत्व नबुझेकै कारण समस्या भएको हो । 

कारबाही के गर्ने ?

कुनै पनि अपराध हुनुको पछाडि धेरै कारण हुन्छन् । अपराधीलाई सजाय त दिनुपर्छ तर सजाय दिइसकेपछि ऊ अर्काे चोटी सभ्य मान्छे भएर निस्कने किसिमको सजाय दिनुपर्छ । बलात्कारीलाई जेल हाल्ने चलन छ जेल त हाल्नुपर्छ तर जेलमा नै सभ्य मान्छेका गुणहरुबारे सिकाइ हुनुपर्छ । हामीले यसो गर्न नसकेकै कारण अपराधी जेल गएर छुटेपछि अधिकांश अपराधी झन् धेरै अपराधी भएर निस्केका छन् । उनीहरुलाई सुधार्नु आजको आवश्यकता हो । जेल नै सुधार गृहको रुपमा परिणत हुन जरुरी छ । 

आध्यात्मिक हुन आवश्यक 

हरेक व्यक्ति आध्यात्मिक हुन आवश्यक छ । अध्यात्मले भित्र भएका गलत इच्छालाई सदाका लागि समाप्त गर्छ । दुरुपयोग बन्द गर्छ अध्यात्मले प्रेमपूर्ण बनाउन सिकाउँछ । आध्यात्मिक व्यक्तिले अरूको अहित चिताउँदैन । 

प्रजु पन्तसँग कुराकानीमा आधारित 

प्रकाशित: ३ आश्विन २०७५ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App