१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

संविधान र अरिंगालको संक्रमण

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको ३ वर्ष पुगेको छ । यसबीचमा संविधानलाई संस्थागत गराउन भएका प्रयास निश्चितरूपमा प्रशंसनीय छन् । खासगरी संविधानअनुसार निर्वाचनद्वारा ३ तहको सरकार निर्माण भएको छ । उपलब्धिका रूपमा रहेका विषय कार्यान्वयनमा छन् । अनेक जातीय राजसंस्थाहरूको अन्तिम अवशेष शाही राजसंस्थालाई बिदा गरेपछि प्रारम्भ एकप्रकारको राजनीतिक संक्रमण अन्त्य गर्न राजनीतिक नेतृत्वले सकेसम्म कसरत नगरेको होइन।

हिंसाको मुहानका रूपमा यो वा त्यो कारणले निरन्तर रहेको राजसंस्थाको अवशानपछि नेपाल आयामिक परिवर्तनतर्फ उन्मुख छ । वर्तमान संविधान जारी गर्न प्रधानमन्त्रीका रूपमा नेतृत्वगर्ने  नेपाली कांग्रेसका तत्कालीन सभापतिसुशील कोइरालालाई सम्मानपूर्वक यसबेला स्मरण गर्नुपर्ने हुन्छ । ३ असोज, २०७२ मा संविधान जारी गरेकै कारण उहाँको राजनीतिक भविष्य अन्त्य भएको तीतो सत्य कुनै समयमा इतिहासकारले उत्खनन् गर्नेछन्।

असोज ३ बाट नै नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसको अधोगति आरम्भ भएको यथार्थलाई पनि कुनै दिन कसैनकसैले पुष्टि गर्नेछन् । खासगरी एमालेसँगको गठबन्धन तोड्ने र सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार गराउन भएको निर्णय धेरै अर्थमा घातक थियो र यसतर्फ जसले प्रेरित गरे तिनका विषयमा खोजीनीति हुनु अनिवार्य छ ।२०६४ को निर्वाचनपछि जसरी गिरिजाप्रसाद कोइरालाप्रति प्रतिशोधपूर्ण राजनीति भयो त्यही कथा सुशील कोइरालामा समेत दोहोरिएको थियो ।यो सिलसिला निरन्तर रहने देखिँदैछ।

नयाँसंविधानअनुसार २०७४ मा तीनै तहको निर्वाचन गराउने नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कोइरालाद्वयले भोग्नुपरेको जस्तै प्रतिशोध बेहोर्नुपर्दैन भन्ने छैन ।उहाँमाथि मसिना विषय र प्रसंगलाई लिएर सार्वजनिकरूपमैभइरहेका आलोचनाको निष्कर्ष के हो भने संंशयपूर्ण र कठीन अवस्थामा समेत निर्वाचन गराउने काम भएकै कारण अबका दिनमा देउवालाई समेत लज्जित गराउने आन्तरिक र बाह्य दुवैप्रकारका खेल हुनेछन् । देउवाको तेजोवध नगरी निर्वाचन सफल पार्न उहाँले गरेको इमान्दार प्रयासको बदला पूरा हुने छैन । देउवापछि जोसुकै आए पनि नेपाली कांग्रेसको शीर्ष नेतृत्वको हविगत कोइरालाहरूको जस्तै गरी निरन्तर दोहोरिने निश्चित छ । त्यसमा को पात्र कसरी प्रकट हुन्छ, समयले नै देखाउनेछ। 

सरकारका सात महिनाले नेपाली जनतामाझ केही विशेष उपहार प्रदान गरेको छ भने त्यो हो– निराशा । भय, निरंकुशता, उखानतुक्का, भ्रष्टाचार, बलात्कर, हत्या, झुट र असुरक्षा।


राजनीतिक संक्रमण अन्त्य गर्ने र स्थायित्वको मार्ग प्रशस्त गर्न खोज्ने नेतृत्वलाई अस्थिर बनाउने र आक्रामक बुख्याचाहरूमार्फत अस्थिरता जीवित राख्ने प्रपञ्चको खेल नेपालमा नयाँ होइन । त्यो खेल लामो समयदेखि निरन्तर मञ्चित छ । नेपालको राष्ट्रियतालाई आफ्नो शीरमा राखेर लोकतन्त्र र सामाजिक÷आर्थिक रूपान्तरणको पदमार्ग समात्न खोज्ने शक्तिलाई निरस्त पार्न तयार राजनीतिक बुख्याचाहरूले दिन÷प्रतिदिन यो देशको क्षमता, विश्वसनीयता र अस्तित्वलाई समेत चुनौती दिन लागेको अनुभव हुँदैछ ।२०७२ मा जारी संविधानले नेपाली जनतालाई पूर्णरूपमा हुकुमी शासनबाट सदाका लागि मुक्त पारी स्वतन्त्र, सर्वोच्च, सार्वभौमसत्ता सम्पन्न नागरिकमा परिणत गरेको थियो । तर अहिले नेपाली नागरिक निरीह हुन लागेका छन्। 

२०७२ को संविधानले शान्ति, सहमति, सहकार्य, सद्भाव, कानुनी राज्य र सामाजिक न्यायका पक्षमा आफूलाई उद्वोधित गराएको थियो । संविधानमा केही विषय छन् जसलाई कतिपय नेपालीले समर्थन जनाएका छैनन् । एक पक्ष संघीयता मान्देैन, अर्को पक्ष धर्मनिरपेक्षता स्वीकार गर्दैन, अर्को पक्ष संघीयतामा स्वायत्तताको माग गरिरहेको छ । एकथरीले राजस्वमा तर मार्दै संविधानविरुद्ध उभिने निर्णयसमेत गरे ।तर यी विषय क्रमशः सुधार गर्दै मान्य हुने कुरामा नेपाली जनता आस्वस्त थिए । अर्थात् राजनीतिक स्थायित्व, शान्ति र अहिंसा, सामाजिकन्याय, समतामूलक समाज निर्माण, आधारभूत नागरिक स्वतन्त्रता अनि स्वतन्त्र सार्वभौम सर्वोच्चताका पक्षमा नेपाली जनता अहिले पनि उत्तिकै विश्वास गर्छन् । तर संविधान जारी भएपछिका दिनमा जसरी कार्यान्वयनको प्रश्न विवादास्पद हुँदैछ त्यसले जनताको विश्वासमा पानी फेरिँदै गएको देखिन्छ । जनता आकुल हुन लागेका छन् । निर्वाचनपछि बनेकोे सरकारका सात महिनाले नेपाली जनतामाझ केही विशेष उपहार प्रदान गरेको छ भने त्यो हो– निराशा । भय, निरंकुशता, उखानतुक्का, भ्रष्टाचार, बलात्कर, हत्या, झुट र असुरक्षा । राष्ट्रवादको आक्रामक आवरणमा देशको स्वाभिमानलाई बन्धक बनाइएका अनेक उदाहरण छन् । हिजो गरिएका अनेक प्रतिज्ञाको पोल जनताले खोलिरहनु नपर्ने भएको छ।

७ महिनाको यो कहालीलाग्दो स्थितिबीचसंविधानले ३ वर्ष पूरा गर्दैगर्दा संविधान कार्यान्वयनको जिम्मेवारी लिनुभएका प्रधानमन्त्री यतिविधि असहिष्णु हुनुभएको छ कि अबका दिनमा नयाँ राजनीतिक द्वन्द्वको सम्भावना बढ्ने संकेत देखिन लागेका छन् । सरकारका काम हेर्दा निरंकुश सत्ताको पूर्वाभ्यास गर्न लागेको स्पष्ट देखिन्छ ।लोकतन्त्रको अर्थ असहमति राख्न पाउने स्वतन्त्रता हो । जीवनको शास्वत अधिकारसँग जोडिएको अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सौन्दर्य हो । यदि असहमतिको अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गरिन्छ भने लोकतन्त्र निरंकुशतन्त्र, कुरूपतन्त्र, हुल्लडतन्त्र, अराजकतन्त्रमा परिणत हुने निश्चित छ । आफूसँग असहमतहरूलाई अरिंगालको गोलो जस्तो बनेर घातक आक्रमण गर्न आफ्ना कार्यकर्तालाई प्रधानमन्त्रीले भर्खरै आह्वान गर्नुभएको हुनाले पनि अराजकताको उत्कर्षतर्फ देश अग्रसर भएको प्रतीत हुँदैछ।

संघीय लोकतान्त्रिक गणतन्त्रका लागि एक थोपो पसिनासमेत नचुहाउनुभएका वर्तमान प्रधानमन्त्रीले निरंकुशशैलीमा विपक्षीहरूमाथि जाइलाग्न दिनुभएको सन्देश र गर्नुभएको आग्रहले कम्युनिस्ट पार्टीका इमान्दार सदस्यलाई लज्जाबोध गराएको हुनुपर्छ।

यो सन्देश आफ्ना समर्थक कार्यकर्तालाई मात्रै हो कि उहाँको नेतृत्वमा चलिरहेको राज्यसंयन्त्रलाई पनि हो ?स्पष्ट छैन । यो आग्रह कार्यकर्तामा मात्र सीमित होला भनेर विश्वास गर्ने आधार प्रधानमन्त्रीको तीव्र महत्वाकांक्षा र आन्तरिक निरंकुशताको कार्यशैलीले दिएको छैन । नेपाल कम्युनिस्ट पार्टीमा धेरै वैचारिक क्षमता भएका, कार्यकुशलता भएका, जीवन उत्सर्ग गरेका, परिवर्तनका लागि अनवरत संघर्ष गरेका र आजको उपलब्धिकालागि जेलनेल यातना भोगेका अनेक सदस्यछन् ।केहीलाई छाडेर उनीहरूमा अव कुनै साम्यवादी निरंकुशताको सपना पनि छैन होला । आजको समाजको माग, आवश्यकता, क्षमता सबैलाई सूक्ष्म विश्लेषण गर्न सक्ने ठूलो पंक्ति नेकपामा छ । लोकतन्त्रका मर्यादा ध्वस्त पारेर समाज विकास हुँदैन भन्नेमा धेरै सदस्य विश्वस्त देखिन्छन् पनि । तर संघीय लोकतान्त्रिक गणतन्त्रका लागि एक थोपो पसिनसमेत नचुहाउनुभएका वर्तमान प्रधानमन्त्रीले निरंकुशशैलीमा विपक्षीहरूमाथि जाइलाग्न दिनुभएको सन्देश र गर्नुभएको आग्रहले कम्युनिस्ट पार्टीका इमान्दार सदस्यलाई लज्जाबोध गराएको हुनुपर्छ । वचन र कर्मले सरकार प्रमुखको हैसियत जनाउँछ । वर्तमान प्रधानमन्त्रीले केही दिनपहिले सरकारका पक्षमा आक्रामक नभएको भन्दै आफ्ना सहयोगी र कार्यकर्तासँग गुनासो गर्नुभएको थियो । उहाँका यतिविधि घटिया शब्दशैली र टिप्पणी हुने गर्छन् कि एकपटक आफूलाई मौरी र अरु पार्टीलाई झिंगाको उपमा दिने काम गर्नुभयो । त्यसको प्रतिटिप्पणी गर्नु आवश्यक थिएन । केलाई चलाइ गन्ध भन्ने नेपाली उखानै छ।

प्रधानमन्त्रीले संविधान जारी भएको ३ वर्षमा विपक्षीमाथि अरिंगालको गोलोजस्तै गरी खनिन दिएको सन्देशलाई नेकपाका सदस्यले स्वीकार गर्छन् त ? उनीहरूले अरिंगालको गोलो जस्तो हुन स्वीकार गरेनन् भने प्रधानमन्त्रीको पद र पार्टीको अध्यक्ष पदको गरिमा जोगाउन उहाँले आफ्नै पार्टीको अर्को कुनै साथीलाई ती पदमा विराजमान गराउने नैतिक साहस देखाउनु हुन्छ ? वस्तुतः अस्थिरताको मुख्य कारणकासाथ बुख्याचाको भूमिका प्रधानमन्त्री आफँै निर्वाह गरिरहनुभएको छ । किन ? किन उहाँ निहुँ खोज्दै हुनुहुन्छ ? के ७ महिनाका असफलता ढाकछोप गर्ने बहानाका रूपमा यस्ता उत्तेजक अभिव्यक्ति दिँदै हुनुहुन्छ ? कि साँच्चै उहाँ यो परिवर्तनविरुद्ध प्रतिक्रान्तिको राजमार्ग निर्माण गर्ने खेलमा सक्रिय हुनुहुन्छ ? यसको जवाफ दिनैपर्छ । उहाँका समर्थकले कसमाथि अरिंगालको गोलो खनिएझैँ खनिनुपर्ने हो ? के निर्मलाका हत्यारा पत्ता लगाऊ भनेर नारा लगाउनेहरूविरुद्ध अरिंगाल जस्तो गरी आक्रमण गर्नुपर्ने हो कि ? के उपकुलपति र एउटा विद्यार्थीलाई अपराधीशैलीमा एयरपोर्टबाट किन फिर्ता गरेको भनेर सोध्नेविरुद्ध खनिनुपर्ने हो? अथवा सुनका ठूला माछा लुक्ने दुलो कहाँ लुकाउनुभयो भनेर सोध्नेदेखि काम नगर्ने ठेकेदार र यातायात सिन्डिकेटको महाभारत किन पूरा भएन भनेर जान्न खोज्नेहरूलाई चिल्नुपर्ने हो ?

दिनहुँ स्वतन्त्रताको घाँटी निमोठ्दै पत्रकारलाई हत्कडी लगाउनु संविधान र स्वतन्त्रतामाथि आक्रमण ठान्नेका मुखमा टोक्नुपर्ने हो कि ? नेपाल एयरको वाइडबडी प्रकरणको रहस्य सार्वजनिक गर्न माग गर्नेका मुख सुन्निने गरी चिल्नुपर्ने हो? विधानविपरित बर्खास्तगी किन गरिँदैछ भनेर सोध्नेका आँखामा चिल्नुपर्ने हो? जनकपुर हुँदै राजधानीसम्म विदेशी सेनाले हतियार र आर्मी ड्रेससहित मार्चपास्ट गर्ने काम राष्ट्रको स्वाभिमानविरुद्ध भयो भनेर कराउनेका मुख बन्द गर्न अरिंगालको गोलो खनिनुपर्ने हो कि ? सरकारी ढुकुटीबाट ओली वंशकालागि ठूला भोजभतेर लगाउनु बेइमानी हो भन्ने र पार्टीका ४ सयभन्दा बढी सदस्य र अरु सम्मिलित बैठकको खर्च जनताको तिरोबाट लुट्न पाइँदेैन भनेर कराउनेको घाँटी कस्न अरिंगाल हुनुपर्ने हो कि ? चुनावलगत्तै ५ हजार घर–घरमा पुर्याउने काम किन गरेनौँ भनेर प्रश्न गर्ने वृद्धवृद्धाका सुकेका ओठ र गिजामा खिल रोप्ने कि ?करको भारले थिच्न हुन्न भन्नेहरूलाई अरिंगाल भएर टोक्ने हो कि ?यी त केही नमुना प्रश्नमात्र हुन् । ७ महिनामा यस्ता धेरै प्रश्न पैदा भएका छन् । के ती सबैलाई निर्जीव गराउन अरिंगालको गोलो भएर नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरू देशभर दौडन्छन् त ? यिनै प्रश्न हुन् जसले राजनीतिक संक्रमणलाई स्थायी बनाउने काम गर्दैछन् र संविधानको मर्ममाथि प्रहार गर्न लागेका छन्।

प्रकाशित: ३ आश्विन २०७५ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App