१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधन गर्न सरकार तयार छः नेता तामाङ

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘संविधानमा त्रुटीहरु छन् । दुनियाँमा त्रुटीरहित संविधान कहीँपनि छैन्। तर, अहिले संविधानप्रति असहमतिका ग्राफ धेरै सानो अंशमा छ।’

नेता तामाङले अहिले संविधान संशोधन गर्ने बुँदाहरु कम भएको बताए। उनले भने, ‘भएका असहमतिका बुँदाहरुपनि हामी सहमतिमै हल गर्छौं। अहिले कालो दिवस हो भन्नेबाट होइन भन्नेमा साथीहरु आउनुभएको छ।’

उनले फेरि संविधान संशोधनको विषयलाई आन्दोलन बनाएर अघि बढ्न नहुने बताउँदै भने, ‘फेरि यही विषयलाई आन्दोलनको विषय बनाएर अघि बढ्यौं भने संघीय लोकतान्त्रिक गणतन्त्रलाई झनै कमजोर बनाउँछ। त्यसैले सहमतिमार्फत अघि बढ्नुपर्छ।’ 

संविधान अकाट्य नभएकोले केही प्रावधानहरुमा असहमति छ भने संशोधन गरेर अघि बढ्न यो सरकार सँधै तयार रहेको उनको भनाई थियो। उनले भने, ‘सरकारले संशोधनको लागि बिल ल्यायो भने, अहिले त सत्तामा फोरमपनि छ, फोरमबाट सरकारमा उपप्रधानमन्त्री  हुनुहुन्छ। संशोधनको लागि विद्येयक ल्याउने दायित्व उहाँको पनि हो, यदि प्रस्ताव आयो भने हेरेर पारित गर्न संसद तयार छ।’

फरक प्रसँगमा उनले भोलि मनाउने संविधान दिवसमा २ नम्बर प्रदेशमा मुख्यमन्त्रीले पनि मनाउने स्पष्ट पारे। उनले भने, ‘अहिले म मध्यान्हमा यो कुरा बोल्दैछु। भोलि उहाँले संविधान दिवस मनाउनुहुन्छ।’

संशोधन भएन भने सरकार छाड्छौंः फोरम

सत्तारुढ संघीय समाजवादी फोरमका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ। जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्वीकार्य हुँदैन्।’

नेता यादवले आफ्नो पार्टीले भोलिको संविधान दिवसलाई दिवसको रुपमा पनि नमनाउने र कालो दिवस पनि नमनाउने स्पष्ट पारे। 

संविधानमा नागरिकता लगायत धेरै प्रावधानमा आफूहरुको असन्तुष्टि रहेको जनाउँदै उनले संविधान संशोधन भएपछिमात्रै ३ करोड नेपालीहरु खुशी हुने जनाए। 

उनले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिनेपनि चेतावनी दिए। उनले भने, ‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्डपनि सरकारमा बस्दैन्। यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं।’

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे।

प्रकाशित: २ आश्विन २०७५ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App