१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

ती त्यागी गणेशकाे अपमान र यी भाेगीकाे मान

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व लौह पुरुष वीर गणेशमान सिंहको निधन भएको आज २१ वर्ष पूरा भएको छ । मेरा उमेर समूहका कार्यकर्ताले अत्यन्त नजिकबाट नियाल्न नपाएका नेपाली राजनीतिका शिखर व्यक्ति गणेशमान सिंहका बारेमा कलम चलाउनु साँच्चै कठिन कार्य हो । पिता सुब्बा ज्ञानमान र आमा सुभद्रा कुमारीको जेष्ठ सुपुत्र सिंहको जन्म १९७२ कात्तिक २४ गते र मृत्यु २०५४ आश्विन २ गते भएको हो । प्रजातान्त्रिक आन्दोलनका मुख्य खम्बा सिंहका बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा नै निधन भएकाले उहाँको लालनपालन जेठा बाजे बडाकाजी रत्नमानले गर्नुभयो । सम्पन्न परिवारमा हुर्के बढेका सिंहले दरबार हाइस्कुलमा राणाका छोराछोरीसँग पढ्ने अवसर प्राप्त गर्नुभयो । ६ कक्षामा पढ्दै गर्दा राणाका छोराछोरीलाई आदर सम्मान नगरेको आरोपमा स्कुलबाट निष्काशित हुनुभएका उहाँले बहिदार पदको जागिर खानुभयो । राणाको दरबार अगाडि साइकल गुडाएको आरोपमा सजाय पाउनुभएका उहाँमा राणा विरोधी भावना मौलाउँदै गयो । थप अध्ययनका लागी भारत पठाइयो । घर फर्केका बखत १९९७ सालमा प्रजापरिषद्को सदस्यबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका सिंह अन्ततः यो देशको सर्वोच्च कमान्डरका रूपमा स्थापित हुनुभयो । राणा विरोधी कार्यमा लागेको आरोपमा सर्वस्वहरणसहित आजीवन काराबासको सजाय तोकी जेल हालेका सिंह २००१ सालमा भद्रगोल जेलको पर्खाल नाघेर फरार हुनुभयो । पुनः भारत जानुभएका सिंह प्रवासमा रहँदा जननायक बिपी कोइरालासँग मिलेर २००३ माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेस पार्टी गठन गर्नुभयो । २००६ सालमा सुवर्ण शमशेर राणाको प्रजातान्त्रिक नेपाली कांग्रेससँग एकीकरण भई नेपाली कांग्रेस पार्टीको स्थापना भयो।

प्रजातन्त्र स्थापनाका लागि राजनैतिक जीवनको अधिकांश समय जेल र प्रवासमा बिताउनुभएका सिंह राणाले सर्वस्वहरण गर्दा पनी विचलित हुनुभएन । राणाका कारिन्दाले हानेका सयौँ कोर्राका पीडामा ऐया भन्नुभएन । ऐया भन्यो भने प्रजातन्त्रवादीहरू कमजोर हुन्छन्, प्रजातन्त्र कमजोर हुन्छ भन्ने उहाँको मान्यता थियो । २००७ सालको प्रजातन्त्र प्राप्तिपछी २००८ सालमा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा कृषि, भूमि र खाद्यान्न मन्त्री र २०१५ सालमा भएको संसदीय निर्वाचनमा काठमाडाैंबाट निर्वाचिन भएपछि बिपी कोइरालाको नेतृत्वमा बनेको सरकारमा निर्माण तथा यातायात मन्त्री गरी २ पटक मन्त्री बन्नुभयो । २०१७ साल पुस १ गते नेपाल तरुण दलको महाधिवेशन स्थलबाट तत्कालीन राजा महेन्द्रको आदेशमा महामानव बिपी कोइराला, सुवर्ण शमशेर राणा, कृष्णप्रसाद भट्टराई साथै उहाँ पनि पक्राउ पर्नुभयो । प्रजातन्त्रको घाँटी निमोठियो र पञ्चायती व्यवस्थाको आगमन भयो । वीर गणेशमान सिंहलाई ८ वर्षसम्म सुन्दरीजल जेलमा राखियो । रिहा भएपछि पुनः भारत प्रवासमा रही पञ्चायती व्यवस्थाविरुद्ध संघर्षमा लाग्नुभयो । २०३३ पुस १६ गते मेलमिलाप नीतिसहित बिपी कोइरालासँगै नेपाल फर्कनुभएका सिंहलाई एयरपोर्टबाट नै गिरफ्तार गरी राजकाज मुद्दा लगाई पुनः सुन्दरीजल जेलमा बन्दी बनाइयो । २०३६ सालको जनमत संग्रहमा सक्रिय भूमिका निर्वाह गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता सिंह २०३९ साउन ६ गते महामानव बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेस पार्टीको सर्वोच्च कमान्डर बन्नुभयो । २०४२ सालमा भएको सत्याग्रहको नेतृत्व गर्नुभएका नेता सिहंले आफ्नै निवास चाक्सिबारी क्षेत्रपाटीमा २०४६ माघ ५, ६ र ७ गते नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो र पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलनको घोषणा गर्नुभयो । वामपन्थीहरूलाई पनि कार्यगत एकताका आधारमा आन्दोलनमा सहभागी हुन राजी गराउनुभयो । देसैभरि आन्दोलनको आँधीबेहरी आयो उहाँलाई घरमा नै नजरबन्द गरियो । अस्वस्थ हुनुभयो वीर अस्पताल लगियो । अस्पतालभित्र नै पनि नजरबन्दमा राखियो । अन्ततः २०४६ चैत २६ गते राति राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध फुकुवा गरेको घोषणा गर्न बाध्य हुनुप¥यो । देशमा प्रजातन्त्रको उदय भयो । सबै नेपालीलाई रैतीबाट नागरिक बनाउन सफल हुनुभयो । मानवअधिकार तथा शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूलाई अमेरिकाबाट प्रदान गर्ने पिसरन पुरस्कारबाट सन् १९९० मा सम्मानित हुनुभएका नेपालकै एक्लो व्यक्ति सिंहले सदियौँदेखि शोषित पीडित जनतालाई उन्मुक्ति दिलाउन अहं भूमिका निर्वाह गर्नुभयो।

३० वर्षे पञ्चायतको शासन सत्ताले जनतालाई मौलिक स्वतन्त्रता, हकअधिकार, विकास निर्माण, समृद्धि दिन नसकेको ठहरसहित गणेशमान सिंहले व्यवस्था फाल्ने अठोट गर्नुभयो र प्रजातन्त्रको उदय भयो । गणेशमान सिंहले चाहेको समृद्धि यो पुस्ताले आउँदो पुस्तालाई आजका दिनसम्म दिन सकेको छैन । आगामी दिनमा सक्छ कि सक्दैन ? यो पुस्ताले दिएको निम्न विकास, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, गरिबी, पछौटेपन, बेरोजगारी अबको पुस्ताले स्वीकार गर्छ कि गर्दैन ? समय बलवान छ, समय परिवर्तनशील छ । वीर गणेशमान सिंहले आफ्ना उत्तराधिकारीहरूलाई सुम्पिएर जानुभएको शिशु प्रजातन्त्र र देशलाई आर्थिक विकासमा अगाडि बढाउने जिम्मेवारीलाई समयको गतिअनुसार बढाउन सकियो कि सकिएन । समयको गन्तव्यमा पु¥याउन सकियो कि सकिएन । यसले भविष्यमा देशलाई कुन मोडमा लैजान्छ । आजको गहन प्रश्न यही हो । प्रजातन्त्रका पिता वीर गणेशमान सिंहप्रति हार्दिक श्रद्धाञ्जली।

(अध्यक्ष, तरुण दल काठमाडौँ)

प्रकाशित: २ आश्विन २०७५ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App