१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बत्ती बाल्ने कि निभाउने बहसमा मधेस राजनीति

लहान - संघीय समाजवादी फोरम नेपालबाट लहान ७ का वडाध्यक्ष निर्वाचित राकेश गुप्ता रोशनले भदौ ३१ गत्ते फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘त्रुटी नसच्याएसम्म यो संविधानले मधेसी जनजातीलाई कुनै फाइदा पुर्याउन सक्दैन।’ संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष एवं प्रदेश २ संयोजक रोणुकुमारी यादवले जारी गरेको असोज ३ लाई ‘कालो दिन’कै रूपमा मनाउने निर्णयसहितको प्रेस विज्ञप्ति अहिले समाजिक सञ्जालमा भाइरल मात्र बनेको छैन राजनीतिक बजारलाई तताएको छ। संविधान दिवसको दिन बत्ती बालेर स्वागत गर्ने कि बत्ती निभाएर विरोध गर्ने भन्ने विषयले मधेस केन्द्रित राजनीतिक दलमा धु्रवीकरण ल्याइदिएको छ।

समाजवादी फोरम नेपाल प्रदेश २ का संयोजकसमेत रहेकी यादवले जारी गरेको विज्ञप्तिमा सार्वजनिक स्थानमा कालो झण्डा झुन्ड्याउने, दिनभरि हातमा कालोपट्टी बाँध्ने, साँझ ७ देखि १५ मिनट बत्ती निभाउने तालिका सार्वजनिक गरिएको छ।

समाजवादी फोरमको मधेस प्रदेश समितिले गरेको निर्णयप्रति समर्थनका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ। यादवको विज्ञप्तिपछि संघीय सरकारमा समेत सहभागी समाजवादी फोरममा तरंग पैदा गरिदिएको छ। यो विज्ञप्तिले समाजवादी फोरममा धु्रवीकरण ल्यादिएको छ । एउटा धु्रव संविधान दिवसको पक्षमा अर्को विरोधमा। यसको पुष्टि असोज १ गत्ते समाजवादी फोरमका उपमहासचिव(केन्द्रीय कार्यालय प्रमुख) प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिबाट पुष्टि हुन्छ। अधिकारीद्वरा जारी गरिएको विज्ञसप्तमा ‘पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन पार्टीले तत्काल कुनै नर्णय नगरेको हुँदा त्यस्ताखालका कार्यक्रममा सहभागी नहुन आग्रह गरिन्छ,’ भनिएको छ। फोरमबाट भदौ २ र असोज १ गते जारी फरक विज्ञप्तिले पार्टीभित्रका दुई ध्रुवलाई छताछुल्ल पारिदिएको छ। समाजवादी फोरमका जिल्ला नेता कार्यकर्ता र समर्थक पनि दुई धु्रवमा बाँडिएका छन्।

संघीय समाजवादी फोरम नेपाल मधेस प्रदेश संयोजक समेत रहेकी पार्टी उपाध्यक्ष यादवले मधेस प्रदेश समितिको कार्यसम्पादन समितिले गरेको कालो दिनमा सहभागी भई समर्थन जनाउन गरेको आग्रह र पार्टीका उपमहासचिवले कालो दिनको कार्यक्रममा सहभागी नहुन गरेको आग्रहपछि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीहरू पनि समस्यामा परेका छन्। प्रदेश २ मा फोरम नेपालकै मुख्यमन्त्री रहेका छन्।

संविधान संशोधन गरी मधेसलगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिबद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भए पनि अहिलेसम्म प्रतिबद्धता पूरा नभएको यादवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उपाध्यक्ष यादवले नागरिकसँग भनिन्, ‘मधेसको भावना मधेसी जनताको बलिदानीपूर्ण संघर्षको जगमा उभिएर मधेस प्रदेशको कार्य सम्पादन समितिबाट भएको निर्णयबाट पछि हट्दिन।’

‘मधेसी आदिवासी जनजातालगायतका उत्पीडित जनता अझै यो संविधानलाई हुवहु स्वीकार गरिसकेका छैन,’ उनको भनाइ छ। चुनावमा उल्लेख्य सहभागिता जनाएर मधेसी जनताले संविधानलाई स्वीकार गरिसकेका छन् भन्ने प्रश्नमा उनले भनिन्, ‘चुनावमा मधेसी आदिवासी तथा उत्पीडित जनताले मधेसबादी दललाई नभई संविधान संशोधनप्रति भरोसाको मत थियो ।’ मधेसी दल जितेर गए संविधान संशोधनमार्फत संविधानमा अधिकार संस्थागत हुने भरोसाको मतलाई अवमूल्यन हुन नदिनकै लागि असोज ३ गते कालो दिन मनाउने निर्णय गरेको उनको जिकिर छ। केन्द्रले जारी गरेको विज्ञप्तिमा केन्द्रीय समितिको बैठकको निर्णय हो कि होइन आफूलाई जानकारी नभएको उनले बताइन्।

वर्तमान सरकारलाई समाजवादी फोरमले समर्थन जनाउँदा पहिलो बुँदामै संविधान संशोधन गरी आन्दोलनका क्रममा उठेका माग र मुद्दा सम्बोधन गरिने उल्लेख भए पनि सहमति कार्यान्वयन नभएको यादवको भनाइ छ। ‘सहमति कार्यान्वयन नहुँदासम्म सडक सरकार र सदनमार्फत हामी आन्दोलनमा रह्न्छौ भने हाम्रो पार्टीको लाइन नै हो,’ उनले भनिन्, ‘सहमति कार्यान्वयन भएको छैन त्यही भएर हामी अधुरो संविधान भन्दै विरोध गरेका हौं।’

मधेस प्रदेश समितिले गरेको निर्णय मधेसी जनताको बलिदानीपूर्ण संघर्षको जगमा उभिएर गरिएको उनले पटकपटक दोहर्याइन्।

प्रदेश २ सरकारका घटक दल राष्ट्रिय जनता पार्टी नेपालले(राजपा) असोज ३ गत्ते साँझ ७ बजे १५ बल्याक आउट गर्ने निर्णय सर्कुलर गरिसकेको छ। यो दिनलाई राजपाले बिरोध दिवसको रुपमा मनाउने निर्णयसहित जिल्लालाई कार्यक्रम थप्ने समेत स्वतन्त्रता दिएको छ।

प्रकाशित: २ आश्विन २०७५ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App