१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

होस्टेल रहर कि बाध्यता

पहिले होस्टेल वा छात्रावास भन्नाले टाढाटाढाबाट स्कुल, क्याम्पसमा पढ्न आउने विद्यार्थीहरूलाई स्कुल वा क्याम्पसले उपलब्ध गराउने आवासलाई बुझिन्थ्यो । त्यहाँ विद्यार्थीलाई बस्नका लागि आवासको मात्र व्यवस्था हुन्थ्यो । घरबाट आउजाउ गर्न नसक्ने विद्यार्थीहरू खर्चपर्च लगेर होस्टेलमा बस्थे । ओड्ने–ओछ्याउने, लुगा–फाटो, पकाउने–खाने सबै सामान आफैँले जोहो गर्नुपथ्र्यो । होस्टेल बस्ने भनेको आफ्नो स्याहार आफैँ गर्न सक्ने भएपछि मात्र हुन्थ्यो । होस्टेल बस्नेले पकाउने–खाने, लुगा धुने, सरसफाइ लगायत आफ्नो सबै काम आफैं गर्नुपथ्र्यो । होस्टेल बस्नेहरू होस्टेल बसाइकै क्रममा एक किसिमले परिपक्व हुन्थे । आफ्ना सानातिना व्यवहार आफैं गर्न सक्ने हुन्थे । 
हिजोआज होस्टेलको रूप फेरिएको छ । सहरी इलाकामा अहिले होस्टेल व्यवसाय नै बनेको छ । धेरैजसो स्कुल–कलेजहरूले आ–आफ्नै होस्टेल चलाएका छन् भने स्वतन्त्र व्यवसायका रूपमा पनि प्रशस्तै सुविधासम्पन्न होस्टेल खुलेका छन् । सानाबच्चादेखि किशोर–किशोरी र उच्चशिक्षार्थीसम्म बस्न मिल्ने होस्टेल छन् । आफ्नो आवश्यकता र क्षमताअनुसार केटीहरूका लागि अलग र केटाहरूका लागि अलग होस्टेल छान्न पाइने भएको छ । ती होस्टेलमा विद्यार्थीलाई चाहिने सम्पूर्ण सुविधा दिन थालिएको छ । होस्टेलर्सहरूलाई बिहान उठाउनेदेखि बिहान–साँझको खाजा, खाना, बस्ने, पढ्ने–लेख्ने, सुत्ने सबै व्यवस्था होस्टेलभित्रै पाइने भएको छ । सूचना र मनोरञ्जनका लागि पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट आदि जेजति सुविधा चाहिने हो होस्टेलभित्रै पाइने भएको छ । विद्यार्थीले आफ्नो सरसफाइ गर्ने र ठिक समयमा खाना खाने गरे मात्र पुग्छ, सुविधा दिनका लागि होस्टेलहरू प्रतिस्पर्धा गरिरहेका छन् ।

उपत्यकाबाहिरबाट काठमाडौंमा पढ्न आउने विद्यार्थीका लागि कोठा खोजेर बस्नुभन्दा होस्टेलमा बसेर पढ्न सजिलो भएको छ । एकदुई जनाका लागि कोठा खोज्दा भनेजस्तो नपाइने र जेनतेन पाइहाले पनि भाडा महँगो हुने भएकाले होस्टेल बस्नु आर्थिक हिसाबले पनि सस्तो पर्छ । कोठाको भाडा तिर्नु, सामान जुटाउनु, दिनदिनै कोठामा यसो भएन र उसो भएनको झन्झट बेहोर्नुभन्दा पढ्दै गरेका किशोर–किशोरीहरूका लागि होस्टेल सजिलो विकल्प भएको छ । त्यसैले हिजोआज काठमाडौंमा होस्टेलको संख्या पनि ह्वात्तै बढेको छ । 

समयको महत्व बुझेर मैले राम्रोसँग पढेँ भने भविष्यमा केही गर्न सक्छु भन्ने भावना जाग्ने विद्यार्थीका लागि होस्टेलको बसाइ राम्रै हुन्छ । होस्टेलमा बसाइको चिन्ता नहुने, खाना बनाउने झन्झट नहुने, समयको बचत हुने, समान स्तरका साथीहरू पनि हुने भएकाले मिहिनेतीहरूले होस्टेल बसाइबाट राम्रो लाभ लिन सक्छन् । होस्टेलले बिहान उठेदेखि राति सुत्ने बेलासम्मका दिनचर्या निश्चित समयमा गर्ने व्यवस्था मिलाएको हुन्छ । खाने, खेल्ने, पढ्ने, साथीसँग हेलमेल गर्ने, मनोरञ्जन र सूचना प्राप्त गर्ने निश्चित समय हुन्छ । त्यसो हुँदा विद्यार्थीलाई रुटिनअनुसार काम गर्ने बानी पर्छ । होस्टेलमा फरक–फरक पृष्ठभूमिबाट आएका विद्यार्थी हुन्छन् । उनीहरूका फरक–फरक बानीबेहोरा र फरक–फरक शैली हुन्छन् । यसर्थ यो एउटा सानो तर विविधतायुक्त समाज पनि हो । त्यस्ता साथीहरूसित बस्दा मिलनसार विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाउँछ भने सामूहिक भावनाको विकास पनि हुन्छ । घरमा समान उमेरका दौँतरी हुने सम्भावना कम हुन्छ तर होस्टेलमा यो सुविधा हुने भएकाले किशोर–किशोरीको आन्तरिक मनोविकासमा पनि यसले सकारात्मक सहयोग गर्दछ । 

होस्टेलको जीवन फाइदै फाइदाको भने छैन । लहैलहैमा बहकिने विद्यार्थीका लागि खतरा पनि उत्तिकै छ । बाबु–आमाले पैसा दिइहाल्नुहुन्छ भन्ने सोचाइ भएका, समयलाई राम्रोसँग नबुझ्ने, बाबु–आमाले गरेको दुःख नबुझ्ने विद्यार्थीका लागि होस्टेल झन् बिग्रिने ठाउँ पनि हुन सक्छ । होस्टेलमा मस्तसँग खाने–बस्ने समयको सदुपयोग गर्न नसक्ने विद्यार्थीले जति समय भए पनि पढ्दैनन्, खर्च मात्र बढ्छ । यस्तोमा खराब साथीहरूको सङ्गतमा लागेर कुलतमा फस्ने सम्भावना पनि हुन्छ । किशोर अवस्था उत्सुकताको समय हुने भएकाले किन ? कसरी ? कस्तो ? भन्ने कौतुहलले गर्दा नयाँनयाँ अनुभव गर्ने चाहना उनीहरूमा भइरहन्छ । यस्तो अवस्थामा खराब बानी बसिहाल्यो भने पछि त्यस्तालाई जति सम्झाइबुझाइ गरे पनि केही लाग्दैन । 

आफ्ना छोराछोरीलाई होस्टेल राख्ने अभिभावक निकै सचेत हुनुपर्छ । छोराछोरीको होस्टेलको फिस तिरिदिएर मात्र अभिभावकको जिम्मेवारी पूरा हुँदैन, उनीहरूले राम्ररी पढेका छन् कि छैनन् ? समयको कत्तिको सदुपयोग गरेका छन् ? उनीहरूका साथी कस्ता छन् ? होस्टेल बसेपछि आफ्ना छोराछोरीमा कस्तो परिवर्तन आएको छ ? भन्ने कुरा अभिभावकले अत्यन्तै सचेततापूर्वक तटस्थ भएर हेर्न सक्नुपर्छ । होस्टेल बसे पनि आफ्नो छोराछोरीले पढ्दैन, समयको ख्याल गर्दैन, खराब साथीहरूको सङ्गतमा लागेको छ भने त्यस्तालाई होस्टेलबाट निकाल्दा जाती हुन्छ । बरु त्यस्तालाई आफूसँगै राखेर घरनजिकै जेजस्तो सुविधा छ त्यसैमा पढाउनुपर्छ । 

लामो समय होस्टेल बस्ने विद्यार्थीले घरका काम व्यवहार भुल्न सक्छ । पारिवारिक र परम्परागत शिष्टाचार, रितिथिति, चालचलन सानो उमेरमा जति सजिलै ग्रहण गर्न सकिन्छ ठूलो भएपछि त्यति सजिलै सकिन्नँ । सानो छँदा कति कुरा आफैँ देखेर सिकिन्छ भने कति कुरा अभिभावकले सम्झाएर बुझाएर सिकाएर पनि बानी पार्न सकिन्छ तर ठूलो भएपछि त्यसो गर्न सुहाउन्न । त्यसैले छोराछोरीलाई होस्टेल राखेका अभिभावकले छुट्टीको समयमा उनीहरूलाई घरमा लगेर सबै काम, व्यवहारहरू सिकाउनुपर्छ । मेलापर्वमा सकेसम्म परिवारका सबै सदस्य सँगै हुनुपर्छ र आफ्नो रुचि, क्षमता र परम्पराअनुसार मनाउनुपर्छ । होस्टेल बस्ने छोराछोरीलाई घरमा लगेका बेला आफन्तकहाँ लैजाने चिनापरिचय गराउने गर्नुपर्छ । यसो गरिएन भने बालबालिका आफ्नो समाज, आफ्ना नातागोता सबै बिर्सन्छन् । बेला–बेलामा यसरी बानी व्यवहार सिक्ने अवसर दिने हो भने होस्टेल बसे पनि उनीहरुलाई समाजमा घुलमिल हुन गाह्रो हुँदैन । आफ्ना नातागोतालाई पनि बिर्सिँदैनन् र सामाजिक शिष्टाचार पनि सिक्छन् । 

हिजोआज धेरैजसो एकल परिवार हुने, कसैका बाबु–आमा दुवै जना काममा व्यस्त हुने, कोही कामका लागि विदेश जाने हुनाले सजिलोका लागि सानै बच्चालाई स्कुलको होस्टेलमा राख्ने चलन बढेको छ । यसरी सानै उमेरका बच्चालाई सकेसम्म होस्टेलमा नराखेकै राम्रो हो । सानैमा होस्टेल राख्दा बच्चा बढी न्यास्रो मान्ने र पढाइमा ध्यान दिन नसक्ने हुन्छ । यति मात्र होइन ठूलो हुँदै जाँदा छोराछोरी र आमा–बाबुबीच ममताको दूरी पनि बढ्न सक्छ र उनीहरूले आमा–बाबुको वास्ता नगर्ने हुन सक्छन् । सानैदेखि सधैँको न्यास्रोले गर्दा बच्चाको मानसिक विकास पनि पर्याप्त हुँदैन । उनीहरू ठूलो भएपछि बाबु–आमाले मलाई माया नगरेर होस्टेलमा राखेका हुन् भन्ने नकारात्मक मानसिकताको विकास हुन सक्छ । 

क्याम्पस पढ्ने उमेरका किशोर–किशोरी होस्टेल बस्नुपरे पनि सानो बच्चा जति न्यास्रिँदैनन् । उनीहरू के कारणले गर्दा आपूm होस्टेल बस्नुपरेको भन्ने कुरा पनि विचार गर्न सक्छन् । आफ्ना पारिवारिक समस्याको जानकारी र उज्यालो भविष्यको आशा भयो भने बाबु–आमाप्रति नकारात्मक भावना पनि रहँदैन । 

सानो बच्चालाई होस्टेल राख्दाका फाइदा

साना बच्चालाई होस्टेलमा राख्दा उनीहरुमा समयतालिका अनुसार काम गर्ने बानीको विकास हुन्छ । समयमा खाना खाने, समयमा खेल्ने, समयमा पढ्ने, समयमा सुत्ने र उठ्ने बानी बसाल्नका लागि होस्टेल बसाइ उपयोगी हुन्छ । आमाबाबुसँग बस्दा धेरैजसो बच्चाले आमाबाबुलाई नटेर्ने हुन्छन् तर होस्टेल बस्नेका सन्दर्भमा त्यो समस्या कम हुन्छ । होस्टेलको नियम नै निश्चित समयमा निश्चित काम गराउने खालको हुने भएकाले बालबालिका भनेको मान्ने, अह्राएको गर्ने हुन्छन् । सानैदेखि साथीभाइसँग मिल्न सक्ने बानीको विकास पनि बालबालिकामा हुन्छ । 

सानो बच्चालाई होस्टेल राख्दा हुने बेफाइदा 

सानो बच्चालाई होस्टेल राख्दा सबैभन्दा ठूलो कुरा त उसले बाबुआमाको न्यानो काखमा हुर्कन पाउँदैन । जुन कुरा हरेक बच्चाका लागि नभइनहुने कुरा हो । सानो उमेरका बालबालिकालाई आफ्नै आमाबुबाले उसको स्वास्थ्य, पौष्टिक खाना जस्ता कुरामा जति ख्याल गर्छन् त्यति अरूले गर्न सक्दैनन् । यसले उसको शारीरिक विकासमा प्रभाव पार्छ भने होस्टेलको कडा अनुशासनमा बस्नुपर्दा बच्चामा प्रसन्नता कम हुन्छ र उसको मानसिक विकासमा प्रभाव पर्छ । यस्तो कपडा लगाएर यहाँ जान्छु उहाँ जान्छु भन्ने हुँदैन । उसका रुचि र चाहनामा कमी हुन जान्छ । बाबुआमा नभए पनि त हुँदो रहेछ भन्ने मानसिकताको विकास हुँदै जान सक्ने भएकाले बच्चाले बाबुआमालाई वास्ता नगर्न सक्छ । सानो बच्चाले बाबुआमाको समस्या थाहा पाउँदैनन् । मलाई माया नगरेर होस्टेल राखिदिएका हुन् भन्ने लाग्न सक्छ । घर–परिवार, इष्टमित्र, नातागोतासँग चिनापरिचय कम हुन्छ । आफ्ना संस्कार, संस्कृति, परम्परा र शिष्टाचारबारे थाहा हुँदैन । समाजमा हेलमेल पनि कम हुन्छ । बालबालिकाहरू सामाजिक जीवनभन्दा यान्त्रिक जीवनमा बढी अभ्यस्त हुन्छन् । 

किशोरकिशोरीलाई होस्टेल राख्दा हुने फाइदा 

किशोर अवस्था धेरै साथीहरू बनाउने र साथीहरूको समूहमा हुँदा प्रसन्न हुने उमेर हो । घरमा आफ्ना समान उमेरका अरू साथी नहुने र भए पनि कम हुने भएकाले साथीहरूको समूहमा बस्दा उनीहरूलाई रमाइलो महसुस हुन्छ । धेरै साथी बनाउन र साथीहरूबाट नयाँनयाँ कुरा सिक्न होस्टेल सजिलो हुन्छ । उनीहरूमा जिम्मेवारीको बोध हुन्छ र स्वावलम्बी बानीको विकास हुन्छ । हरेक काम समयमा गर्ने बानी बस्छ र काममा लगनशीलता आउँछ । साथीहरूलाई सहयोग गर्ने बानी पर्छ भने आज्ञाकारी पनि हुन्छन् । 

किशोरकिशोरीलाई होस्टेल राख्दा हुने बेफाइदा 

ठूला भइसकेका केटाकेटीहरू आफूलाई मनमा लागेको कुरा बोल्न सक्ने हुनाले होस्टेको बसाइमा अलिकति चित्त बुझेन भने पनि गुनासो गरिहाल्छन् । यो होस्टेलमा बस्दिनँ ऊ होस्टेलमा बस्दिनँ भन्ने, अर्को होस्टेलमा रमाइलो र सुविधा हुने कुरा सुने भने त्यसैमा जान जिद्दी गर्ने हुन्छन् । बिचैमा होस्टेल चेन्ज गर्नुप-यो भने बाबुआमालाई तनाव पनि र खर्च पनि बढ्छ । साथीहरूको देखासिकीले गर्दा महँगोमा पनि पर्न सकिन्छ । पैसा खर्च गरेर राखे पनि नपढ्ने, साथीहरूको लहलहैमा लागेर बिग्रिने हुन् कि भन्ने चिन्ता बाबुआमालाई भइरहन्छ । साथीहरूसँग झगडा गर्ने र कहिलेकाहीँ कुटपिट गर्नेसम्मका अप्रिय घटना पनि भएको देखिन्छ । 

अहिले सबैजसो ठाउँमा स्कुल क्याम्पस खुलेका छन् । अधिकांश नेपाली बालबालिका र किशोर–किशोरीहरू घरै बसेर आमाले पकाएको खाना खाएर स्कुल क्याम्पस पढ्न सक्ने भएका छन् । शिक्षादीक्षाको यत्तिको सहजता भइसकेको अवस्थामा महत्वाकांक्षा राखेर टाढाको स्कुल क्याम्पस पढाउनुभन्दा घरैबाट आउजाउ गर्न सकिने स्कुल क्याम्पसमा पढ्नु राम्रो हो । यसो गर्दा नयाँ पुस्ता घरैमा हुर्कन्छ, पारिवारिक र सामाजिक विधिव्यवहार पनि सिक्छ र शिक्षा पनि प्राप्त गर्छ । सामाजिकताविनाको एकोहोरो किताबी पढाइभन्दा सामाजिकतासहितको शिक्षा भावी जीवनका लागि बढी उपयोगी हुन्छ । कुनै खास विषय वा कुनै खास स्कुल क्याम्पसको पढाइले ठूलो मान्छे बन्ने होइन सृजनशीलताले महान् बन्ने हो । आफ्नै घरपरिवार र समाजमा राखेर बच्चालाई राम्रो शिक्षादीक्षा दिने र सृजनशीलताका लागि मौका दिने हो भने त्यसैले उन्नत र व्यावहारिक जीवन जिउन सक्छ । 

प्रस्तुति : सृजना पाण्डेय

प्रकाशित: १ आश्विन २०७५ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App