१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘विकास निर्माणमा सरकारी निकायकै सहयोग पाइएन’

बलराम लामा, वडाध्यक्ष, महालक्ष्मी नगरपालिका–१०

वडाध्यक्ष भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
निर्वाचित भएयता जनताले महसुस गर्ने खालका धेरै काम भएका छन् । हाम्रो वडा महालक्ष्मी नगरपालिकाको विकट क्षेत्रभित्र पर्छ । हिजो मलगायत त्यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्न सक्ने स्थिति थिएन । निर्वाचित भएपछि मैले जनताको दैनिकीलाई नै सहज बनाउने काम गरेको छु । सबैभन्दा पहिले त कम्तिमा उहाँहरूमा आधारभूत आवश्यकता पूरा गरौं भन्ने मेरो सोच थियो । सोही अनुसार काम अघि बढाएँ । मेरो वडामा बाटोको ज्यादै समस्या थियो । त्यसको लागि निकै पहल गरेर बाटो सञ्चालन गरेको छु । लाकुरी भञ्ज्याङदेखि मानेदोभानसम्म सडक बनेको छ । अहिले गाडी चल्न सक्छ । बर्खाको बेला तीन महिना गाडी चलेन । सडक नै अवरुद्ध भएपछि जनताको दैनिकी नै अवरुद्ध हुन्छ भन्ने लागेर हामीले त्यसलाई जोडदार रूपमा अघि बढायौं । त्यसबाहेक खोलामा पुल बनाउने, खानेपानीको बन्दोवस्त मिलाउने, भूकम्पपीडितका समस्या हल गर्नेलगायत धेरै काम गरेका छौं।

तपाईँको वडालाई यो वर्ष कति बजेट आयो र बजेटले समेटेका मुख्य योजना के–के छन्?
गत वर्ष पनि ७५ लाख थियो र अहिले पनि सोही मात्रामा रकम आएको छ । गत वर्षको केही रकम खर्च गर्न सकेनौं । हामीसँग भएको बजेट जनताको दैनिकी आवश्यकतामाथि खर्च गर्छौं । मुख्य त शिक्षा,स्वास्थ्य, सीप र आयआर्जनको क्षेत्रमा बजेट खर्च हुन्छ । यो वर्षको धेरैजसो बजेट सडक विस्तारमै केन्द्रित छ भन्दा हुन्छ।

आयआर्जनको क्षेत्रमा के–के काम गर्नुभयो?
सबैभन्दा पहिले त महिलाहरूलाई तालिम दियौं । बाख्रा पालनका लागि भनेर १० महिला समूहलाई ८० हजारका दरले बजेट पनि दिएका छौं । हिजो हामी परम्परागत पशु पालनामा थियौं र अहिले व्यावसायिरूपमा पशुपालन हुनुपर्छ भन्नेतिर सबैको सोच गएको छ । सोही अनुसार हामीले स्थानीयलाई तालिम र आवश्यक बजेट दिएका छौं । ८० बाख्रा वितरण पनि गरेका छौं । अरु वडाले जसरी हामीले काम गर्दै अघि बढेका छौं । अरुको तुलनामा तुलनामा हाम्रो वडा निकै पछाडि छ।

तपाईँको वडाका समस्या के–के हुन्?
वडाका समस्या धेरै छन् । मेरो वडा निकैै विकट र पछाडि छ । किनकी यो ठाउँमा सडक पनि कठिन तवरले पुगेको छ । ठाउँ ठाउँमा टेलिफोनले काम गर्दैन, एम्बुलेन्स छिर्ने सडक पनि कहिलेकाहीँ अवरुद्ध भइदिन्छ । इन्टरनेटको पहुँचबाट पनि यो वडा निकै टाढा नै छ । यो वर्ष हामीले खानेपानीको योजना सुरू गर्नुपर्छ भनेर लागेका छौं । त्यसमा गैर सरकारी संस्थाहरुले पनि रामै्र सहयोग गर्नुभएको छ।

उपत्यकाका अन्य वडाहरूबाट पर्याप्त बजेट नहुँदा विकासका काम गर्न नपाएको गुनासाहरू आइरहन्छन् । तर, तपार्इँको वडामा बजेट फ्रिज हुनुको कारण के हो?
यसको धेरै कारण छ । हामीले नगरसभामा पनि यो कुरा उठाएका थियौं । बजेट दिने प्रक्रिया नमिलेका कारण हामीले काम गर्न सकेनौं भनेर भनेका थियौं । हामीले चाहँदा चाहँदै पनि नेपाल सरकारकै कार्यालयहरूले समन्वय नगरिदिँदा योजना अनुरूप काम गर्न पाएका छैनौं । जिल्ला वन कार्यालयले पनि हामीलाई झुलाउँदै आएको छ । विधि प्रक्रिया पनि कठिन छ । जिल्ला वन कार्यालयले निकै सास्ती दिएको छ । पिछडिएको ठाउँलाई सर्पोट गरेको छैन । विकट वडाको जनप्रतिनिधि भेनेर धेरैले हेप्छन्, विकास निर्माणमा सरकारी निकायले नै सपोर्ट गरेका छैनन्।

तपाईँको वडाका भूकम्पपीडितको समस्या कस्तो छ?
घडेरी छैन । वडाको सबैतिर लगभग भिरालो जमिन नै छ । मुख्य समस्या भनेको नक्सामा पुनर्निर्माण प्राधिकरणले बाटो नभए घर बनाउन नपाइने नीति ल्याएको छ, त्यसले हामीलाई निकै समस्या पारेको छ । अर्को समस्या भनेको बाजे बराजुको नाममा रहेको जग्गाका कारण पनि घर बनाउन निकै सास्ती भएको छ स्थानीयलाई । स्थानीयका आफ्नै जग्गा नभएकाले पनि समस्या छ । हामीले यस विषयमा नगरपालिकासँग समन्वय गरिरहेका छौं । सकेसम्म स्थानीयलाई मर्का नपर्ने गरी काम गरिरहेका छौं । यसबारे पुनर्निर्माण प्राधिकरणले पनि अलि बढी चासो दिनुपर्छ।

तपाईँको वडा विकट क्षेत्रमा छ, भौतिक र पूर्वाधार विकासको हिसाबले पनि पछौंट नै मानिन्छ, त्यस्तो ठाउँमा बसेर काम गर्न कत्तिको सजिलो छ?
सजिलो त छैन । तर, हामीले अप्ठेरो मानेर पनि भएन विस्तारै–विस्तारै सहज बनाउँदै अघि बढेका छौं । सकेसम्म हामीले जनताकै समस्यालाई केन्द्रमा राखेर त्यसको समाधान खोज्दै अघि बढ्ने छौं।

स्थानीय कस्तो–कस्तो समस्या बोकेर आउँछन् ?
मुख्य त भूकम्पपीडितले आफ्नो समस्या हल गरिदिन बारम्बार आग्रह गर्नुहुन्छ । कतिपयले घर कहाँ बनाउने भन्ने समस्या बोकेर आउनुहुन्छ । त्यस्तै, वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता सहजै उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँहरू अझै पनि भत्ता बुझ्न घन्टौं धाएर लूभूमै जान बाध्य हुनुहुन्छ । हामीले उक्त समस्या हल गर्ने जमर्को गरेका छौं । हामीले स्थानीयको सबैखाले समस्यालाई सम्बोधन गर्दै आएका छौं । वडासँग भएको बजेट र जनशक्ति प्रयोग गरेर स्थानीयलाई सेवा दिन्छौं।

अर्को मुख्य कुरा भनेको स्थानीयमा चेतना स्तरको कमी छ । राहत पाएको रकम पनि धेरैले घर बनाउन प्रयोग गरेनन्।

तपाईँको वडा उपत्यकाकै सबैभन्दा सानो मानिन्छ, जम्मा २५ सय जनसंख्या छ, यतिथोरै जनसंख्या भएको ठाउँमा पनि स्थानीयका समस्या समाधान गर्न नसक्नुको कारण के हो?
जनसंख्या थोरै भए पनि मेरो वडा निकै दुखिया छ । भिरालो पाखामा छरिएका बस्ती छन् । बर्खायाममा सडक पनि चल्दैनन् । अरु सेवा सुविधा पु¥याउन योभन्दा अगाडि कसैले चासो दिएका थिएनन् । जनप्रतिनिधि आएपछि एकैचोटी सबै समस्या हल गर्न सकिन्छ जस्तो लाग्दैन । विस्तारै वेश बनाउँदै काम गर्छौं । सानो र विकट क्षेत्र भएकोले सबैभन्दा पहिले आधारभूत आवश्यकतालाई नै हामीले प्राथमिकतामा राख्छौं । अर्को कुरा, योजना अनुसारको बजेट भएन । हरेक व्यक्तिको माग फरक–फरक छ, व्यक्तिगत समस्या हल गर्न वडाको बजेटले भ्याउँदैन।

आफ्नो कार्यकालमा वडालाई कस्तो बनाउने सपना देख्नुभएको छ?
मेरो वडालाई हिलोमुक्त वडा बनाउँछु । मेरो वडामा पिच सडक छैन । मैले त्यसलाई सबैभन्दा पहिलो परिकल्पना बनाएको छु । गोरेटो बाटोलाई फराकिलो बनाएर पर्यटन विकास गर्ने अर्को लक्ष्य हो।

तपाईँको क्षेत्र विकट मानिए तापनि पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको छ, त्यसको लागि योजना के छ?
महालक्ष्मी नपाको १० वडा जंगल नै जंगलले घेरिएको वडा हो । पर्यटनको हिसाबले पनि यो क्षेत्र ज्यादै सम्भावना बोकेको मानिन्छ । लाकुरीभञ्ज्याङ सबैभन्दा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट उपत्यकाको सबै दृश्य नियाल्न पाइन्छ । गर्मी नहुने र ठिक्कको ठाउँ हो । त्यहाँ पर्यटक तान्न केही काम भएका पनि छन् । थप कामको लागि माथिल्लो निकायले पनि हेरिदिनुपर्यो । नगरपालिकाका प्रतिनिधिले पनि बेला–बेलामा आएर अवलोकन गरिदिनुप¥यो । मेरो वडाको ६० प्रतिशत भिरालो जमिन छ ।  यस्तो क्षेत्रमा होमस्टे पनि सञ्चालन गर्न सकिन्छ भन्ने हेतुले काम अघि बढाएको छु।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: १ आश्विन २०७५ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App