बिपी ४० वर्षमै हुनुभयो, तर आज?

सोमबार, ०१ असोज २०७५, ०८ : ५६ जीवनाथ धमला

वैचारिक दृष्टिकोणले नेपालको राष्ट्रिय राजनीतिमा वर्तमानसम्मकै केन्द्रीय व्यक्तित्व बिपी कोइरालाले नेपाली युवाहरूलाई प्रेरणादायी, अनुशीलनीय र जीवनोपयोगी सुझाव एवं सल्लाह दिनुभएको थियो । बिपीलाई राजनीतिक हिसाबले आदर्श मान्ने वा नमान्ने सबै खाले युवाहरूले तिनको अध्ययन वा पुनःस्मरण गर्नु उपयुक्त हुनेछ।

बिपी कोइराला २००७ साल र त्यसयताका हरेक प्रजातान्त्रिक संघर्ष र आन्दोलनहरूका वैचारिक पृष्ठभूमिमा सबैभन्दा पहिले सम्झिइने राजनेता रहनुभएकामा कुनै द्विविधा छैन । उहाँको राजनीतिक जीवनको प्रारम्भिक कालखण्ड नै वैचारिक नेतृत्वको हिसाबले परिपक्व र दूरदर्शितापूर्ण रह्यो । त्यो समय उहाँको युवाकाल थियो । २००७ सालको जनक्रान्तिमा उहाँको बौद्धिक राजनीतिक क्षमता, सांगठनिक कुशलता र युवोचित साहस अनि प्रतिबद्धताले देशलाई १०४ वर्षीय निरंकुश जहानियाँतन्त्रबाट मुक्त पारी प्रजातन्त्रको स्थापना गर्न निर्णायक भूमिका खेल्यो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाताका (२००३ साल) उहाँ ३२ वर्षका र जनक्रान्तिका समयमा ३६ वर्षका हुनुहुन्थ्यो । २००३ साल पहिले नै उहाँले भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएर लामो समयसम्म जेलजीवन बिताइसक्नुभएको थियो र एक बौद्धिक एवं साहसी व्यक्तित्वको छवि बनाइसक्नुभएको थियो । त्यसताका नै प्रसिद्ध भारतीय स्वतन्त्रता सेनानी डा. राजेन्द्रप्रसाद जस्ता व्यक्तिहरू उहाँद्वारा प्रभावित भएका थिए । जनक्रान्ति (२००७ साल) सम्म आइपुग्दा बिपी एउटा सम्मानित राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित भइसक्नुभएको थियो।

वास्तवमा युवाले आफूलाई विचार प्रवाह गर्न सक्ने हैसियतमा पु-याउन सघनरूपमा अध्ययन, चिन्तनमनन गरेर त्यसबाट नयाँ विचार दिन सक्नुपर्छ। नयाँ विचारका लागि कच्चा पदार्थ भनेका मूलतः अरूका विचारहरू नै हुन् । अध्ययनबाट नै अरूका विचारहरूबारे ज्ञान हुन्छ।

बिपीका युवावस्थाको राजनीतिक व्यक्तित्वको एक संक्षिप्त झलक हो त्यो । विद्यार्थी जीवनदेखि नै बिपीले एक स्वप्नद्रष्टा र आशावादी युवाका रूपमा राजनीतिको कठोर यात्रारम्भ गर्नुभयो र अन्ततोगत्वाः एक महान्  विचारक र राजनीतिज्ञको हैसियतमा पुग्नुभयो । उहाँको दृष्टिमा ‘युवा’ भनेको के हो त ? उहाँले भन्नुभएको छ, “मेरो दृष्टिमा नयाँनयाँ विचारहरूको ग्रहणशीलता, सामाजिक मूल्यहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना, परिस्थिति र तिनका प्रभावप्रतिको सजगता जस्ता कुराहरूबाट नै खास युवाको पहिचान हुन्छ।”

युवाका बारेमा यसभन्दा बढी अर्थयुक्त भनाइ अर्को सजिलै नभेटिएला पनि । बिपीले माथिका पंक्तिमा मूलतः युवाका दुइटा गुण औँल्याउनुभएको छ । पहिलो गुण “नयाँनयाँ विचारहरूको ग्रहणशीलता” भन्ने छ । यसको भावार्थ ज्यादै सघन र विस्तृत हुनसक्छ । नयाँ विचारहरूको सिर्जनाको आरम्भ अध्ययनशीलतबाट हुन्छ । अध्ययन, विचार सिर्जनाको पहिलो खुड्किलो हो । अध्ययनले विचार सामथ्र्य र कल्पनाशीलता बढाउँछ । कल्पनाशीलता सबै सम्भावनाहरूको आरम्भ हो । प्रारम्भिक तवरले अध्ययन भनेको समाज वा परिवेशमा उपलब्ध लिखित वा अलिखित ज्ञान र अनुभवहरूलाई यथार्थ ढंगले बुझ्नु हो, यस प्रकारका ज्ञान–विज्ञानका असीमित क्षेत्रहरूको बौद्धिक तथा विश्लेषणात्मक विचरण गर्दै तीबाट उत्सर्जित उज्यालोलाई आफूमा समाहित गर्नु हो, अनि आफूलाई झन्झन् सामथ्र्यवान् बनाउँदै जानु हो । असल विचारलाई आत्मसात् गर्दै आफ्नो जीवनपद्धतिलाई गतिशील बनाउनु हो । यसप्रकार ज्ञान र विचारद्वारा सुसज्जित युवाले नै राष्ट्रलाई विचार दिन सक्छ, गति दिन सक्छ र आफ्नो क्षमताद्वारा राष्ट्रलाई उठाउन सक्छ । एउटा युवा शारीरिक हिसाबले मात्र युवा भएर अर्थ रहँदैन । वैचारिक ग्रहणशीलताको मर्मलाई मनन गरी सो अनुसारको क्षमता स्वयंबाट प्रतिध्वनित गराउन सक्ने युवाको अपेक्षा बिपीले गर्नुभएको हो।

बिपीको भनाइको अर्को पक्ष हो, “सामाजिक मूल्यहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना, परिस्थिति र तिनका प्रभावप्रतिको सजगता ।” बिपीले युवामा यस गुणलाई अपरिहार्य ठान्नुभएको छ । आफ्ना सामाजिक मूल्यमान्यता र आदर्शहरूप्रति युवाको विवेकसम्मत अभिरुचि रहनुपर्छ । नेपाली समाजको पहिचान यहाँका साझा मूल्यमान्यताहरूको जगबाट निर्मित छ, तीप्रति युवाले निरपक्ष रहनुहुँदैन, तीप्रति विवेकसम्मत दृष्टिकोण बनाउनुपर्छ । सामाजिक रूपमा स्थापित असल परम्परागत पद्धतिहरूले समाजलाई नैतिकरूपमा कसिलो बनाएका हुन्छन् । तिनलाई सम्मान गर्दै सामाजिक नवजागरणको आह्वान गर्न युवावर्ग समक्ष हुनु जरुरी छ । यसका साथै हरेक राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना र परिस्थितिहरूप्रति चासो राख्दै तिनको सजगतापूर्वक मूल्यांकन गर्ने दायित्व पनि युवावर्गमा छ । नेतृत्व क्षमता विकासका लागि सोझो ज्ञानप्राप्ति मात्र पर्याप्त नभई प्राप्त ज्ञान र सूचनाको सान्दर्भिकता, महत्व र प्रभाव वा त्यसको परिणामप्रति पनि युवावर्ग सजग हुनु आवश्यक छ । आफ्नो देश र अन्तर्राष्ट्रिय जगत्मा भइरहेका राजनीतिक, सामाजिक, आर्थिक, विज्ञान–प्रविधि आदि अनेक क्षेत्रमा भइरहेका परिवर्तन र विकासबारे युवा वर्गले आफूलाई सुसूचित गराउँदै आफ्नो सामथ्र्यलाई प्रभावकारी बनाउन सकेमा मात्र युवाको वास्तविक पहिचान रहने कुरा बिपीले बताउनुभएको थियो।

बिपीले सम्झनुभएका गुण र क्षमताबाट आजका नेपाली युवावर्ग कत्तिको सुसज्जित छ त ? युवावर्ग वास्तविक अर्थमा युवोचित छ कि छैन त ? यसतर्फ विचार गर्दा धेरै प्रतिशत सकारात्मक हुन सकिने स्थिति छैन । विचारहरूको ग्रहणशीलता वा अन्य गुणहरूलाई आत्मसात् गर्दै बौद्धिक एवं जिम्मेवारीबोधयुक्त क्षमता भएको युवावर्गको उपस्थिति अझै अपेक्षित नै छ । युवालाई युवोचित गुणहरूद्वारा भर्भराउँदो र तेजस्वी बनाउने भनेको समाजले हो । समाजको बौद्धिक, सांस्कृतिक र सुसंस्कारित अनुहारको निर्माण हुन त्यसभित्र विद्यमान सामाजिक, राजनीतिक संघसंस्थाको अहम् भूमिका रहन्छ । यसका निम्ति पहिलो र शीर्ष आधार भनेको शिक्षा हो । हाम्रो समग्र शैक्षिक अवस्था (गुणात्मक अवस्था) ले युवालाई कति हदसम्म अध्ययनशील, कल्पनाशील, विवेकशील र विचारशील बनाउन प्रेरित गरेको छ त ? यसतर्फ राज्यद्वारा गम्भीर मूल्यांकन गरिनुपर्ने आवश्यकता छ । रोजगारमुखी, प्राविधिक एवं तत्काल बिकाउ हुनसक्ने योग्यता हासिल गराउने उद्देश्यबाट प्रेरित हाम्रा अधिकांश शिक्षण संस्थाहरूले आफ्ना विद्यार्थीलाई स्वयंतर्फ केही बेर घोरिएर आफूले प्राप्त गरेको ज्ञानबारे आत्मनिरीक्षण गर्न सिकाउँछन् कि सिकाउँदैनन् ? पाठ्यक्रमको निर्धारित सीमित ज्ञानले अधिकांश शिक्षण संस्थालाई वार्षिक परीक्षामा उच्च प्रतिशत नतिजा हात पार्न मद्दत त गर्ला तर उच्च प्रतिशत अंक ल्याउने ती विद्यार्थीभित्र पाठ्यक्रमभन्दा बाहिर उपलब्ध सीमाहीन ज्ञानको क्षितिजमा पौडेर जीवन र जगत्लाई नयाँ ढंगले बुझ्नेतर्फको तृष्णा जगाउँछ कि जगाउँदैन ? यस्ता प्रश्नहरूको जस्तो उत्तर प्राप्त गर्न सकिन्छ, त्यसबाट बिपीले परिभाषित गर्नुभएको युवा वर्ग कुन स्तरमा रहेको छ, सो ठम्याउन सकिन्छ।

मूलतः युवा वर्गको गुणात्मकता शिक्षण संस्थाहरूले उनीहरूलाई प्रदान गर्ने शैक्षिक स्तरबाट मापन गर्न सकिन्छ । तल्लो तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षण संस्थाहरू र तिनका नियामक निकायहरूले यसतर्फ गम्भीररूपमा संस्थागत समीक्षा गर्नु जरुरी देखिन्छ।

युवाहरू परिवर्तनका बाहक हुन् । कुनै पनि देशको भविष्य कस्तो हुँदैछ भन्ने कुरा युवा शक्तिको अवस्था हेरेर मूल्यांकन गर्न सकिन्छ । युवाको अवस्था भनेको उसको शैक्षिक अवस्था, बौद्धिकता, विचारशीलता, नयाँ विचारहरूको ग्रहणशीलता, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमहरूप्रतिको सजगता, विवेकशीलता, सच्चरित्रता आदिको स्तर के र कस्तो छ भन्ने नै हो । बिपीले गर्नुभएको युवा पहिचानका आधार नेपाली युवावर्गमा कतिको विद्यमान छन्, अथवा छैनन् भने त्यसका कारणहरू पहिल्याएर सबल राष्ट्रिय युवावर्गको निर्माणतर्फ राज्य नै अग्रसर हुनु पनि अपरिहार्य देखिन्छ । बिपीले भन्नुभएको छ, “शारीरिक सामथ्र्य भए पनि यदि कुनै युवक मानसिक रूपले भने कमजोर छ र कुनै विचार दिन सक्दैन भने उसको युवा उमेरको सार्थकता कहाँ रह्यो र ?” वास्तवमा युवाले आफूलाई विचार प्रवाह गर्न सक्ने हैसियतमा पु¥याउन सघनरूपमा अध्ययन, चिन्तनमनन गरेर त्यसबाट नयाँ विचार दिन सक्नुपर्छ । नयाँ विचारका लागि कच्चा पदार्थ भनेका मूलतः अरूका विचारहरू नै हुन् । अध्ययनबाट नै अरूका विचारहरूबारे ज्ञान हुन्छ । बिपी स्वयंले विश्वका शीर्ष विचारकहरूकै विचारहरूको गहन अध्ययन गर्नुभएको थियो । फेरि विचार भनेको राजनीतिक क्षेत्रकै मात्र हुँदैन । कुनै पनि विषयमा नयाँ विचारको खोजी गर्न सकिन्छ जसले समाजलाई केही भिन्न चेतना र ज्ञानले प्रभाव पार्न सकेको होस् । त्यसैले बिपीले युवा उमेरको सार्थकताको अपेक्षा राख्नुभएको हो । शारीरिक स्वस्थताले मानसिक सबलताका लागि मद्दत पु-याउने कुरा त निर्विवाद छँदै छ । युवा उमेरको सार्थकता बौद्धिक वा वैचारिक सामथ्र्यमा रहन्छ, बिपीको यसो विचार रह्यो।

बिपीले युवालाई लक्षित गर्दै भन्नुभएको छ, “प्रजातन्त्र भनेको त मनोभावना वा धारणा हो । जीवनप्रतिको भावना, समाजप्रतिको भावना, कुनै पनि प्रश्नमाथिको दृष्टिकोण नै प्रजातन्त्र हो ।” प्रजातन्त्र भन्नु मानवीय जीवनपद्धति वा संस्कार अनि जीवन र जगत्लाई हेर्ने दृष्टिकोण हो भन्ने सन्देश बिपीले दिनुभएको छ । नेपाली युवा जगत्ले प्रजातन्त्रका मर्महरूलाई आत्मसात् गरेर आफ्नो संस्कार एवं संस्कृतिको निर्माण गर्न सकेमा उनीहरूले राष्ट्रका लागि योगदान दिन सक्छन् भन्ने उहाँको भनाइ थियो । बिपीले यी र यस्ता विचारहरूमार्फत एउटा सबल र राष्ट्रको भविष्यप्रति जिम्मेवार हुन सक्ने युवावर्गको अपेक्षा गर्नुभएको थियो।

युवा भनेको देशको भविष्य हो भन्नुहुने बिपी युवामाथि अत्यन्तै विश्वास र भरोसा पनि गर्नुहुन्थ्यो । उहाँकै आह्वानमा भएको प्रजातान्त्रिक संघर्षका क्रममा असंख्य युवाहरूले देशका खातिर शहादत पनि प्राप्त गरे । बिपी विचारकै जगमा भएका क्रान्ति वा आन्दोलनहरूमा युवाले हाँसीहाँसी आत्मबलिदान गरेको गौरवशाली इतिहास छ । राष्ट्रिय जनआन्दोलनहरूमा रहेको युवावर्गको सहभागिताले देशकै इतिहासलाई नयाँ उचाइमा पु-याउन निर्णायक भूमिका खेलेको तथ्य पनि कतै छिपेको छैन।

देशको वर्तमान यथार्थको अर्को पाटो पनि छ । आर्थिक विकासको गति मन्द छ । लाखाैँ युवाहरू विदेशी भूमिमा पसिना चुहाइरहेका छन् । उनीहरू आफ्नो शारीरिक श्रम बेच्न बाध्य छन् । देशभित्र बेरोजगारीले छट्पटाएको युवा जनशक्तिले विदेशिनु बाहेकको भरलाग्दो विकल्प देखेको छैन । अर्कातिर देशभित्रकै युवावर्ग कति तन्मयतापूर्वक आफ्नो बौद्धिक र विचारशील सामथ्र्य विस्तारमा उद्यत छ, कति अध्ययनशील छ र राष्ट्रको भविष्य आफ्नो काँधमा बोक्न कति जिम्मेवारीपूर्वक क्रियाशील भइरहेको छ, यसतर्फ राज्य गम्भीर हुनुपर्ने त छँदै छ, अर्कोतिर स्वयं युवावर्गले आत्मनिरीक्षण गर्नु पनि उत्तिकै जरुरी देखिन्छ।

“युवक भनेको एउटा व्यक्ति मात्र नभएर समाजकै भविष्य हो । युवकहरू जिम्मेवार नभए समाज बिग्रिन्छ, देश बिग्रन्छ । युवकहरू भविष्यप्रति व्यग्र हुनुपर्छ,” बिपी कोइराला।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad