१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भजनमा मन भुलाउँदै पाकाहरू

काठमाडौं - श्री गुरु गणेशाया भजन जियाय
प्रभु गुरु गणेशाया भजन जियाय
च्वापु अ न शररिया वाहन तिछुँगसे
पालीलडु दिल जपमाला, ज्वना दिल ल्हा अ ती अ
मन्ष्यया पुजा भाव आदिस छिचरण
अमङ्गल फुतकाव बिव जित सुमंगल
ल्याक मया तन मन केवल छिचरण
छिगुपाली पाया कोस बिव जित बास
पाटनढोकाको गणेश मन्दिरको पाटीमा दैनिक सुनिने यो भजनको आफैमा विशेष अर्थ छ । ‘गणेशको भजन मैले गाए, गणेशको भजनमा हिउँको जस्तो तेज गणेश प्रभु हजुरको बहानको भक्ति गर्छु, हातमा जपमाला र लड्डु समाएको, हामी भक्तजनको आचरण मंगल होस्, राम्रो होस् खराब मनस्थिति हटोस्, जेजस्तो भएपनि हामीलाई पाउँ, तनमनले हामी भजन गर्छौ, श्रद्धा गर्छौ प्रभु गणेश हामी भक्तलाई शरण पाउँ,’ भजनमा नियमित आइरहने ६९ वर्षे कृष्णबहादुर महर्जन अथ्र्याउँछन्।

साँझ ७ बजे यो भजन एक घण्टासम्म गाउने गरिन्छ । यहाँ दैनिक १० देखि १५ वटा सम्म भजन गाइन्छ । यहाँका नेवार समुदाय महिला पुरुषको समूहमा मिलेर भजन गाएर गुंला पर्व मनाउँछन् । साँझ परेपछि दिनको बिदाईसँगै खाना खाएर भेला भई भजन गाउनु यहाँको दैनिकी नै बनेको छ । एक महिनासम्म मनाइने ‘गुँला पर्व’मा भजन गाउनकै लागि पाटीमा सबै उमेरका महिला तथा पुरुष भेला हुन्छन् । जहाँ भजनको सुरुवात ‘श्री गणेशाया म्ँये’बाट गरिन्छ । स्थानीय ८४ वर्षे लुलाल महर्जन पट्यार लाग्दो दिनलाई भजनबाट बिदा गर्न पाउँदा खुसी हुन्छन् । पाटनढोका गणेश मन्दिरसँगै बस्ने लुलाल कहिले घर नजिकैको तरकारी पसल, कहिले किराना पसल, कहिले घर अगाडिको पाटीमा बसेर दिन बिताउँछन् । साँझको समय मनपराउने लुलाल साँझ पर्नासाथ पाटीमा जान्छन् र छरछिमेकीका साथ भजन गाउँछन्, लुलालका अनुसार साउन २७ गतेबाट सुरु भएको ‘गुँला पर्व’मा एक महिनासम्म भजनकिर्तन गरिन्छ । उनी भजन गायनसँगै बाजा बजाउन पनि पोख्त छन् । नेवारी समुदायका जोशी, श्रेष्ठहरूले सुरुवात गरेको भजन गाउने चलन २०५५ सालदेखि बन्द भएको थियो । ‘हाम्रो पौराणिक संस्कृतिलाई लोप हुन दिनु हुँदैन । यसलाई बचाइ राख्नु पर्छ भन्ने सोचले हामी १५–१६ जना मिलेर पाटीमा बसेर भजनकिर्तन गर्न सुरु गरेको २ वर्ष भयो ।’ नयाँ पुस्तामा हस्तान्तरण नभएर भजनकिर्तन लोप भएको बुझ्ने लुलाल भजनकिर्तन गर्दा कुनै विघ्नवाधाहरू हटेर जाने दाबी गर्छन् । ‘भजन भनेको विश्वास हो । आस्था हो । भजन गाँउदा रोग कष्ठ लाग्दैन । मन प्रसन्न हुने माध्यम हो’ लुलाल भन्छन्।

अर्का वृद्ध कृष्णबहादुर महर्जनको अनुभवमा सुरुवातदेखि गाइने भजन र हिजोआज गाइने भजनमा परिवर्तन आएको छ । ‘३० वर्ष अगाडी हामीले गाउने भजन र हिजोआजको भजन गाउने तरिका, लय, तालमा फरक देखिएको छ,’उनी भन्छन्, ‘समय परिवर्तनसँगै भजनमा गाउने लयमा पनि परिवर्तन आएको छ । कुन भजनमा कुन बाजा बजाउने भन्ने फरक फरक कुरा हुन् । मन्दिरसँगै रहेको पाटीमा गाइने भजन पनि नेवारी समुदायमा फरक हुन्छ ।’ उनका अनुसार स्थानीय रोशन शाक्यले भजन गाउन प्रशिक्षण दिएका हुन् । ‘गुँला पर्व’ टोल–टोलमा भजन गाउँदै प्रसाद खाएर मनाउने गरिन्छ । पर्वको अन्तिम दिन भिमसेन थानको पुजा गरिन्छ।

कृष्णले दिनभरी काममा टाढाटाढा गएका मानिसहरू भजन सुन्नकै लागि घर फर्किने गरेको दाबी गर्छन् । ‘देवीदेवताको नाममा भजन गाउँदा मनमा भएको पीडा कम भएर जान्छ । उसबेला पाटन ढोकादेखि रंगशालासम्म बासको घारीले घेरेको हुन्थ्यो । पाटन ढोकाको पाटीमा भजन हुन्छ भनेर आउने गर्थे,’उनले सम्झिए,‘ढुंगे धारा, इनारको नजिक पाटी बनाइएको छ । जुन बटुवाको लागि बस्न र पानी पिउन सहज हुन्छ।’

ज्यापु समाजका अध्यक्ष नक्कुललाल डंगोल मल्लकालको समयमा भजनकिर्तनको सुरुवात भएको बताउँछन् । ‘भजनकिर्तन भनेको आस्था हो । पवित्र मनको शान्ति हो । बेलुकाको समयमा छरछिमेकी एक ठाँउमा बसेर भजन गर्दा एकआपसमा आत्मियता बढ्दो रहेछ,’डंगोलले भने, ‘हामी हिन्दु र बौद्ध धर्म तथा राजाको बयान गरिएका भजनहरू गाउँछौं । यो पर्वमा गाउने भजनको संरक्षण हुन सकेको छैन । पुस्तागत हस्तान्तरण हुन नसक्नुमा राज्य पनि दोषी छ।’

स्थानीयका अनुसार भजन किर्तन गर्नेको जीवनको सुनिश्चितता नहुँदा नेवारी संस्कार बिस्तारै लोपोन्मुख हुँदैछ । सामूहिक गुठी, सामूहिक रुपमा संगठित भई आस्थाको केन्द्रविन्दु भएमा एक पुस्ताबाट अर्को पुस्तामा संस्कार हस्तान्तरण हुने स्थानीयको बुझाई छ । ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्नको लागि भविष्यको सुनिश्चितता नै छैन । एउटा बाजा बिग्रयो भने आफ्नै गोजीबाट नै त्यसको मर्मत सम्माहर गर्नु पर्ने अवस्था छ ।’अध्यक्ष डंगोलले भने।

प्रकाशित: ३१ भाद्र २०७५ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App