१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तीय संस्थाको सेयर कर्मचारीलाई छुट्याउने प्रस्ताव विवादमा

काठमाडौं–बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई  शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने प्रस्ताव विवादमा परेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री वितरणकालागि छुट्याउँछन भने नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईपनि शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने व्यवस्था गर्न लागिएको थियो।

नयाँ प्रस्तावित व्यवस्थामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाईपनि शून्य दशमलव पाँच प्रतिशत सेयर छुट्याउने व्यवस्था गर्न लागिएको थियो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा कर्मचारीकालागि पनि सेयरको प्रस्ताव राखिएको छ। अर्थ मन्त्रालयले टेबुल गरेको मुल विधेयकमा त्यस्तो प्रस्ताव नभएपनि व्यवस्थापिका संसदको अर्थ समितिले कर्मचारीलाई सेयर सम्बन्धी नयाँ व्यवस्था थप गरेको थियो।

तर, यो विधेयक संसदको पूर्ण बैठकले सो व्यवस्थासहित अन्य विवादित व्यवस्थामा पुर्नविचार गर्न भन्दै समितिमा फिर्ता पठाएको थियो। सेयर सम्बन्धी प्रस्ताव ट्रेड युनियनको दबाबमा अर्थ समितिले गठन गरेको उपसमितिले राखेको थियो।

उक्त विधेयकमाथि छलफलका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीलाई सेयर प्रदान गर्ने व्यवस्थाले जटिलता सृजना गर्ने तर्क गरे। ‘कर्मचारीको भूमिका र लगानीकर्ताको भूमिका फरक कुरा हो,’ उनले भने,‘तर, दुवै एउटै भूमिकामा रहँदा कर्मचारीको प्रभावकारिता रहँदैन, र यसले जटिलता सृजना गर्न सक्छ।’

समितिको आइतबार बसेको बैठकमा राष्ट्र बैंकका पूर्व गर्भनर युवराज खतिवडाले कर्मचारीलाई सेयर दिँदा स्वार्थको द्वन्द्व हुनसक्ने चेतावनी दिए। ‘मैले बाहिरबाट सुनेको छ, अहिले कर्मचारीहरु बैंकको काममा भन्दा बढी सेयर बजारमा बढी सक्रिय रहन्छन्,’ उनले भने,‘कर्मचारीलाई सेयर छुट्याउँदा उनीहरुको आफ्नो मूल कर्तव्यमा भन्दा सेयर बजारमा खेल्ने अवसर दिन्छ।’

कर्मचारीलाई सेयर दिने हो भने त्यसलाई अनुशासनको दायराभित्र राखिनुपर्ने उनको तर्क थियो। तर, अर्का पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले कर्मचारीलाई सेयर छुट्याउँदा उनीहरुको बैंक र वित्तीय संस्थाप्रति स्वामित्व हुने र त्यसले काम गर्न मनोवल अझै बढाउने जिकिर गरे। ‘हाइड्रोपावरको पनि स्थानीयलाई सेयर छुट्याइन्छ,’ उनले भने,‘ यसरी बैंक र वित्तीय संस्थाका कर्मचारीलाई पनि सेयर छुट्याउनु उनीहरु प्रतिबद्ध भएर काम गरुन भन्नका लागि हो।’

 

प्रकाशित: २ आश्विन २०७३ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App