१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतलाई हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं – डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै माल्दिभ्सले १२ औं साफ च्याम्पियन फुटबलको उपाधि जितेको छ। 
बंगलादेशको बंगबन्धु रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा भारतलाई २–१ गोलले पराजित गर्दै माल्दिभ्सले १० वर्षपछि दोस्रो पटक उपाधि उचालेको हो। 

यसअघि माल्दिभ्सले सन् २००८ मा भारतलाई नै १–० ले पराजित गर्दै उपाधि जितेको थियो। 

१० वर्षपछि च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई दिलाउने क्रममा खेलको १९ औं मिनेटमा इब्राहिम महुदी र ६६ औं मिनेटमा अलि फासिरले गोल गरे। 

इब्राहिमले हसन नैजको पासमा डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्दा पहिलो हाफको खेलमा माल्दिभ्सले अग्रता बनाएको थियो। पहिलो हाफमा बराबरी गोलका लागि संघर्षरत उपाधि दाबेदार भारतका कैयन प्रयास खेर गए। 

एक गोलले पछि परेको भारत दोस्रो हाफको ६६ औं मिनेटमा दोस्रो गोल खान पुग्यो। हेमजाद मोहम्मदको पासमा फासिरले गरेको प्रहार गोलमा परिणत हुन पुग्दा भारतको आठौं पटक उपाधि हत्याउने सम्भावना पर धकेलिएको थियो। 

यद्यपी भारतका सुमीत पासीले (९०+२) मिनेटमा सान्तवना गोल फर्काएका थिए। 

पाँचौं पटक प्रतियोगिताको फाइनल खेलेको माल्दिभ्स दोस्रो पटक उपाधि उचाल्न सफल भयो । १९९७ र २००९ मा भारतसँग पराजित भएर उपविजेता बनेको माल्दिभ्स २००३ मा बंगलादेशसँग टाइब्रेकरमा पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो।

भारत १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ को विजेता हो । माल्दिभ्स र श्रीलंकालाई समान २–० ले हराउँदै समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाएको भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रकाशित: ३० भाद्र २०७५ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App