१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले बडिगाड खोला थुनियो : दुई किलोमिटरसम्म ताल बन्दा बाढीको उच्च जोखिम, स्थानीय त्रसित

बडिगाड–७ तुरतुरेमा पहिरो झरेर थुनिएको बडिगाड खोला। तस्विरः नागरिक

बागलुङ – जिल्लाको बडिगाडखोला गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा पहिरो झरेर बडिगाड खोला थुनिदा दुई किलोमिटर लामो ताल बनेको छ। गयराति ११ बजेटबाट झर्न थालेको चट्टान सहितको पहिरोले खोला थुनिएपछि ठुलो ताल बनेको हो।

करिब पाँच सय मिटर वरपरको चट्टानी भू–भाग पहिरोको रुपमा झरेपछि बडिगाडखोला थुनिएर उक्त ताल बनेको बुर्तिबाङबाट पत्रकार रामनारायण सुवेदीले जानकारी दिए। तटीय क्षेत्रमा ताल फुटेर क्षति पु¥याउने आशंकामा स्थानीय त्रसित रहेको पनि उनले बताए।

सुवेदीका अनुसरा बडिगाड–७ बाट बनेको ताल ढोरापाटन नगरपालिका–२ को खरेटाको रुखसम्म आइपुगेको छ। पानीको सतह मध्यपहाडी लोकमार्गसम्म आइपुगेको जानकारी दिँदै सुवेदीले करिब डेडसयदेखि दुई सय मिटरको उचाइसम्म पानी सतह पुगेको अनुमान गरिएको बताए।

खोला थुनिएपछि तटीय क्षेत्रका स्थानीय रातभर बाढी आउने आशंकाले त्रसित रहेको बडिगाड–२ खर्बाङका कमल पौडेलले बताए। ‘बाढी आउने खतरा बढेसँगै स्थानीय रातभर जाग्राम बसेका छन्’, उनले भने, ‘ताल एकै चोटी फुटे ठूलो क्षति प-याउने छ।’

रातभर थुनिएको खोला बिहानबाट ओभरफ्लो भएर बग्न थालेको घटनास्थल पुगेका बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए। ‘हामी बडिगाडको तल्लपट्टी छौं, माथि दुई किलोमिटर भन्दा लामो ताल बनेको छ भनेर खबर आएको छ,’ प्रजिअ खरेलले भने, ‘पानी ओभरफ्लो हुन थालेकाले केही राहत त भएको छ, तर स–सानो पहिरो अहिले पनि झरिरहेकाले जोखिम पूरै कम भने भएको छैन। सतर्कता अपनाउनुपर्ने नै छ।’ नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा पुगे पनि पहिरो झरिरहेकाले ताल खोल्ने काम सुरु गर्न नसकेको उनले जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०७५ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App