१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

लाङकावी(मलेसिया)– ‘वाउ नेचुरली नेपाल, सच अ ब्युटी अफ प्याराडाइज एण्ड डाइभसिर्टी,’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम। 

दक्षिण कोरियाका ब्रायन किमलाई चाँही नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी विमान चढेर नेपाल घम्न जाने रहर रहेछ। आफ्नो देशबाट छिट्टै नेपाल सिधा उडान हुने भएकाले निकै उत्साही भएका रहेछन्। 

चीन टुरिजम डेभलपमेन्टका प्रतिनिधि जेन्नी चेङलाई पनि निगमको विमान चढेर नेपालको सुन्दरता हेर्न जाने धोको छ। त्यसैले उनी सोध्दै थिए, ‘नेपालले कहिलेदेखि चीनबाट सिधा उडान गर्ने, म लगायत धेरै जना नेपाल घुम्न जाने योजनामा छौं।’ 

मलेशियाको लाङ्कावीमा जारी प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) ट्राभल मार्टको ४१औंँ संस्करणमा सहभागी विदेशीले नेपालको पर्यटन र प्राकृतिक सुन्दरता भौगोलिक विविधता तथा स्थानीय रहनसहनबारे जानकारी लिइरहेका भेटिन्थे। मार्टमा नेपाल पेभिलियनको विशेष आकर्षण रह्यो। यस पेभिलियनमा विदेशीको भीड देखिन्थ्यो।

मार्टमा नेपालको तर्फबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहकार्य तथा समन्वयमा १० निजी क्षेत्र (टुर अपरेटर, ट्राभल र होटल) व्यवसायीको सहभागिता छ। नेपाली स्टलको सजावट, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, पर्यटकीय गन्तव्य, प्राकृतिक एवं भौगोलिक विविधताको तस्बिरमा विदेशी आगन्तुकका आँखा लोलाइरहेका थिए। 
सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्रमुख पर्यटकीय गन्तव्यका आकर्षक झलकसहितको सजावट नेपा पेभिलियन साँच्चीकै आकर्षक छ। 

अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका नागरिक नेपालको पर्यटकीय गन्तव्य भ्रमण गर्न निकै इच्छा देखाएका छन्।पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले मार्टमा सहभागी आगन्तुक क्रेता तथा सञ्चारमाध्यमले नेपाललाई पर्वतीय पर्यटनका अतिरिक्त विश्व पर्यटन बजारमा चिनाउने अन्य पर्यटकीय वस्तु तथा सेवाको बारेमा चासो देखाएको बताए।

नेपाली पेभिलियनअन्तर्गत नेपाल पर्यटन बोर्ड, वायुसेवा निगमसहित होटल, ट्राभल एजेण्सी, टुर अपरेटर्स, सामुदायिक घरवासलगायत निजी क्षेत्रका विविध सेवा प्रदायक कम्पनीहरुद्वारा आ–आफ्नो क्षेत्र विशेष पर्यटन सेवा प्रवद्र्धन गरिनु नेपाली पर्यटन प्रवद्र्धनका लागि एक उदाहरणीय संयोजन बनेको उनले बताए। 

मार्टमा नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको स्टलमा विदेशीले अभिरुचिपूर्वक जानकारी लिइरहेका थिए। बोर्डका वरिष्ठ प्रवन्धक सुनील शर्माका अनुसार नेपालसहित ५० देशका कक्षमध्ये नेपालले समग्र नेपालको ‘ब्राण्ड’ लोगो प्रस्तुत गरेको छ। ‘गोइङ नेपाल’को स्टलमा विदेशीसँग गफिएका लीलाधर भट्टराईले भने, ‘नेपालले यो पटक सामुदायिक घरवासको सहभागिता गरेर राम्रो प्रतिक्रिया पाएको छ।’ 

लाङकावीको मसुरी इन्टरनेश्नल एक्जिविसन हलमा भएको मार्टमा सहभागीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा गन्तव्यको प्रचार÷प्रसार गर्नेछन्। साथै मार्टमा सहभागी निजी पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्य स्थलहरुको प्याकेज पनि बिक्री गरेका छन्। 

मार्टबाट नेपालको पर्यटकीय गन्तव्यको राम्रो ब्रान्डिङ भएको सहभागीको भनाइ छ। मलेसियाको पर्यटन मन्त्रालय होस्ट तथा पाटा मुख्यालय आयोजक रहेको ‘पाटा ट्राभल मार्ट २०१८’ मा नेपालसहित ७० देशका हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ। मार्टमा ६३ देशका दुई सयभन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता छ। सिवी अधिकारी/रासस

प्रकाशित: २९ भाद्र २०७५ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App