१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पावरहाउस हेरेरै चित्त बुझाउँदै उपभोक्ता

इलामको माबु गाउँमा केही समयअघि उत्पादन सुरु गरेको पञ्चकन्या जलविद्युत् आयोजनाको पावर हाउस। तस्बिर : भीम/नागरिक

इलाम - सन्दकपुर गाउँपालिका–३ का रणध्वज लिम्बूको घरबाट नजिकै माइखोलामा हेर्दा विद्युत् आयोजनाको आकर्षक भवनसहितको पावरहाउस देखिन्छ । पञ्चकन्या जलविद्युत् आयोजना निर्माण थाल्दा उनीसहितका गाउँले अब गाउँमै ‘बिजुलीको खानी’ आयो भनेर कम खुसी थिएनन् । तर, उनलाई के थाहा राष्ट्रिय प्रसारणको बिजुली नआउञ्जेल त्यस्ता ‘बिजुलीका खानी’को कुनै भर छैन भन्ने।

जिल्लाका गाउँमा कहिले दुई दिन, कहिले चार दिन र कहिले महिनाभन्दा बढी समय बिजुलीको छायासम्म देखिँदैन । बिजुली नभएपछि घरमा मोबाइल चलाउन, रेडियो सुन्न, टिभी हेर्न र सानोभन्दा सानो काम पनि गर्न असहज हुन थालिसकेको छ । जिल्लाका आधा दर्जभन्दा बढी खोलामा झन्डै दर्जन विद्युत् आयोजना बनेपनि रणध्वजको जस्तो सास्ती खेप्नेमा उद्योगी, व्यवसायी, सर्वसाधारणलगायत हजारौं छन् । पछिल्लो पटक बुधबारदेखि यो समाचार तयार पार्दा (बिहीबार साँझ) सम्म इलाम, पाँचथर र ताप्लेजुङमा अन्धकारमै छन्।

यी तीन जिल्लामा निर्माण भएका विद्युत् आयोजनाले अहिले स्थानीय आवश्यकताको १२ गुणाभन्दा बढी उत्पादन दिइरहेका छन् । तर, स्थानीय उपभोक्ताको सधैं खेप्नुपर्ने विद्युत् अभावको मार उही छ । राष्ट्रिय प्रसारण लाइनमा सानो गडबडी आउनेबित्तिकै इलाम, पाँचथर र ताप्लेजुङका हजारौं उपभोक्ता विद्युत्विहीन भएर बस्न बाध्य हुने गरेका छन्।

इलाम, पाँचथर र ताप्लेजुङका लागि आठ मेगावाट विद्युत् माग छ । तर, यहाँका खोलाबाट ९७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यति भएर पनि पटक–पटक विद्युत् कटौती हुने गरेकाले उपभोक्ता अन्धकारमा बस्न बाध्य हुने गरेका छन् । पहिरो–हावाहुरीले विद्युत् पोल र तारमा क्षति गरेपछि बुधबार साँझदेखि इलाम, पाँचथर र ताप्लेजुङ अन्धकारमा बस्न बाध्य भए । विद्युत् बन्द भएपछि बुधबारदेखि जिल्लाबाट प्रसारण भइरहेका रेडियो, पत्रिका, अनलाइनलगायत सञ्चारका साधनसमेत बिहीबार ऊर्जा अभावले ठप्प भए । मोबाइल चार्ज सकिएर हजारौं सेवाग्राही प्रभावित बने । विद्युतीय व्यावसायिक काम ठप्प भयो । विद्युत् अभावले तीनै जिल्लाका सयौं चिया कारखानाको काम ठप्प भयो।

दुई दिनअघि जिल्लाको रोङ गाउँपालिकास्थित कोल्बुङमा पहिरो जाँदा ३३ केभी लाइनका चार पोलमा क्षति पुगेको र तारसमेत चुँट्टिएको थियो । नेपाल विद्युत् प्राधिकरण इलाम शाखा प्रमुख रविनबाबु घिमिरेले कोल्बुङको पहिरोले पोल र तारमा क्षति पु-याएपनि गोदक सबस्टेसनबाट तीनै जिल्लामा विद्युत् आपूर्ति गरिएका बेला दमकबाट गोदकसम्म ल्याइएको १३२ केभी प्रसारण लाइनमा पनि खराबी आएको बताए । दमक–गोदक प्रसारण लाइनको टावर नम्बर ३ (दमकभन्दा एक किमि टाढा) को तार हावाहुरीले क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको काबेली करिडोर आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले जानकारी दिए।

इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् उत्पादन गरिरहेका नौ आयोजना छन् । तर, स्थानीय जलविद्युत् आयोजनाको मेसिन ‘स्टार्ट’ गर्न राष्ट्रिय प्रसारणको विद्युत् आवश्यक पर्ने भएकाले बाहिरी ऊर्जा नभएका बेला यी आयोजना पनि ठप्प हुने गरेका छन् । प्राविधिकका अनुसार बाहिरको ऊर्जा नहुँदा जलविद्युत् आयोजनाको मेसिन ‘स्टार्ट’ गर्न ‘जोखिम’ हुने भएकाले स्थानीय आयोजनाको उत्पादन पनि बन्द हुने गरेको हो । पञ्चकन्या जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक सन्तोष प्रधानले राष्ट्रिय प्रसारणको बिजुली नभएका बेला स्थानीय आयोजनाले भार थेग्न नसक्ने बताए । ‘आयोजनाको डिजाइन गर्दा नै राष्ट्रिय प्रसारणबाहेकको क्षमताले मेसिन चल्ने बनाएको हुँदैन,’ उनले भने, ‘मेसिन स्टार्ट नै नहुने त होइन तर जोखिम मोलेर गरेको उत्पादन पनि धेरैबेर टिक्दैन।’

तर, करिडोर प्रमुख द्विवेदीले बाहिरी ऊर्जा नभएकै बेला पनि स्थानीय जलविद्युत् आयोजनाको मेसिन स्टार्ट गर्न खास समस्या नहुने गरेको बताए । ‘आयोजना सञ्चालकलाई बाहिरी ऊर्जाबाहेक मेसिन स्टार्ट गर्दा भाइब्रेसन अलि बढी हुने भएर मेसिन बिग्रिन्छ कि भन्ने डर हुन्छ,’ उनले भने, ‘बिग्रिहाल्ने त होइन तर जोखिम हुने डरले आयोजना सञ्चालन गरिँदैन।’

इलामका सानिमा माईले २९ मेगावाट, पञ्चकन्याले १६, जोगमाईले साढे सात, हिमाल दोलखाले १२, अपर पुवाखोलाले तीन, पुवाखोला पहिलोले चार, पुवाखोलाले ६, ताप्लेजुङको सिवानीले पाँच र पाँचथरको अप्पर हेवाखोलाले उत्पादन गरेको १५ मेगावाट विद्युत् काबेली प्रसारण लाइनमा आइरहेको छ । ‘तर, राष्ट्रिय प्रसारण नहुँदा स्थानीयले सेवा दिन सकेका छैनन्,’ द्विवेदीले भने, ‘यस्तो अवस्थामा स्थानीय आयोजना भएर पनि सेवा नपाएझैं हुन्छ।’

यी तीन जिल्लामा नयाँ आयोजना पनि धमाधम बनिरहेका छन् । इलाम नगरपालिका–५ बरबोटे र वडा २ सुम्बेकस्थित माइखोलामा ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना निर्माणाधीन छ । सुम्बेक गाउँमा ९.१ मेगावाटको सगरमाथा, सिद्धिखोलामा १० मेगावाटको सिद्धिखोला र माइबेनीमा ९.२ मेगावाटका जलविद्युत् आयोजना बन्ने तर्खरमा छन् । जिल्लामा हिमाल दोलखा, पुवाखोला, पुवाखोला–१, सानिमा माई, अप्पर माई र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । सानिमा माई र अप्पर माईलगायत केही आयोजना क्यासकेडसहितका हुन्।

तथ्यांकअनुसार देशभरलाई पुग्नेभन्दा निकै बढी बिजुली प्रदेश १ मै उत्पादन हुने देखिन्छ । तर, वर्षायाममा समेत ‘खोलाहरूमा पानी कम’ भएको कारण देखाउँदै प्राधिकरणले विभिन्न स्थानमा लोडसेडिङ गर्ने गरेको छ । देशभरमा अहिले एक हजार चार सय मेगावाट बिजुली माग रहेपनि आठ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको ऊर्जा मन्त्रालयको तथ्यांक छ । प्रदेश १ का खोलाबाट मात्रै व्यवसायीले एक हजार सात सय मेगावाट बिजुली निकाल्ने लाइसेन्स लिइसकेका छन् । तर, उत्पादन ज्यादै कम छ । थप पाँच सय मेगावाट बिजुली उत्पादनका लागि मन्त्रालयले अनुमतिपत्र दिएको छ । अहिले ६ सय मेगावाट बिजुली देशलाई अपुग रहेको मन्त्रालयको तथ्यांक छ।

नेपालका खोलाहरूबाट ८३ हजार मेगावाट बिजुली उत्पादन हुनसक्ने सरकारी अनुमान छ । व्यवसायीले भने प्रदेश १ का खोलामा मात्रै १५ हजार मेगावाट बिजुली उत्पादनको क्षमता रहेको अनुमान गरेका छन् । जलविद्युत् उत्पादन व्यवसायी बसन्त नेपाल सप्तकोसीमा मात्रै चार हजार ६ सय मेगावाट बिजुली उत्पादनको पहिचान भएको बताउँछन् । देशको कर्णालीमा सबैभन्दा बढी, त्यसपछि कोसी र गण्डकीमा जलविद्युत् उत्पादनको क्षमता पहिचान भइसकेको उनले जनाए । विद्युत् प्रसारण लाइनमा समस्या हुने गरेकाले पनि विद्युत् सेवा दिन कठिन हुने गरेको प्राधिकरण बताउँछ।

प्रकाशित: २९ भाद्र २०७५ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App