१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराऊ’

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले साल्ट्र ट्रेडिङ कर्पोरेसनलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन निर्देशन दिएका छन्।  चाडबाडमा उपभोक्ता ठगिने गरेको गुनासो आइरहँदा मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन्।

साल्ट्र ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले कर्पोरेसनलाई सुपथ मूल्य पसलमार्फत सहज रुपमा दैनिक उपभोग्य वस्तु बिक्रीको व्यवस्था मिलाउन निर्देशन दिए । ‘सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउनुपर्छ,’ मन्त्री यादवले भने, ‘कर्पोरेसनले सेवामुखी रुपमा काम गर्नुपर्छ।’

बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन साल्ट ट्रेडिङ जस्ता संस्था स्थापना भएकाले आफ्नो दायित्व पूरा गर्नुपर्ने आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए।

बजारमा देखिने मूल्य वृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्न भूमिका निर्वाह गर्न सफल भएको कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए । ‘सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा काम गर्दै आएका छौं,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुको कमी हुन दिँदैनौं।’

कार्यक्रममा कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको निर्देशन अनुसार सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरणको व्यवस्था मिलाउने बताइन्।

३६ सुपथ मूल्य पसल
साल्ट ट्रेडिङले चाडपर्वलाई लक्ष्य गरेर ३६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारको निर्देशनअनुसार उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।

कर्पोरेसनले राजधानीको कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरवार, सतुंगल, भक्तपुर, ललितपुरलगायत स्थानमा कर्पोरेसनका शाखामा पसल सञ्चालन गर्ने जनाएको छ । ट्रेडिङले उपत्यकाका नौ स्थान, तीनवटा घुम्ती सेवा र उपत्यका बाहिरका २२ वटा कार्यालयसहित ३६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

नजिकिँदो चाडपर्वलाई लक्षित गरेर असोज १२ गतेदेखि पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङ कर्पोरेसनका विभागिय प्रबन्धक ब्रजेशकुमार झाले बताए । आपूर्तिमन्त्री मातृका यादवको अध्यक्षतामा बसेको बैठकले सरकारी स्वामित्वका संस्थामार्फत दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन दिएको छ । सुपथ मूल्य पसलमा मोटा चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, बासमती चामलमा १० रुपैयाँ, नुनमा दुई रुपैयाँ छुट दिने भएको छ।

दसैं–तिहार तथा छठ पर्वलाई लक्षित गरेर सञ्चालन गरिएका पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने आपूर्ति मन्त्रालयले जनाएको छ । उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए।

प्रकाशित: २९ भाद्र २०७५ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App