१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पत्रकारलाई जेल हाल्ने अदालती निर्णयको सुकीद्वारा प्रतिरक्षा

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी। तस्बिर : एजेन्सी

यांगुन (बिबिसी) – रोयटर्स समाचार एजेन्सीका दुई पत्रकारलाई जेल हाल्ने अदालती निर्णयको नोबेल शान्ति पुरस्कार विजयी म्यानमारकी प्रजातन्त्रवादी नेत्री एवं राज्य सल्लाहकार आङ साङ सुकीले प्रतिरक्षा गरेकी छन्।

पत्रकारलाई  जेल हाल्ने म्यानमार अदालतको निर्णयको अन्तर्राष्ट्रिय रूपमै निन्दा भइरहेको बेला प्रजातन्त्र र प्रेस स्वतन्त्रताका लागि लामो समय नजरबन्दमा परेकी आङ साङ सुकीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो।

रोयटर्समा कार्यरत पत्रकार वा लोन र क्या सोए ओले देशको कानुन उल्लङ्घन गरेकाले सजाय तोकिएको र यो विषय प्रेस स्वतन्त्रताको विषयसँग सरोकार नराख्ने सुकीले बताइन् । उनले म्यानमार स्वतन्त्र प्रेसको पक्षमा रहेको दाबीसमेत गरेकी छन् । नेत्री सुकीले पक्राउ परेका पत्रकारमाथि पूर्वाग्रह र नियोजित कारबाही नगरिएको समेत बताएकी छन् । ‘पत्रकार भएकै कारण उनीहरु जेल परेका होइनन्, उनीहरुले सरकारी गोपनीयता ऐनलाई भंग गरेका कारण अदालतले दोषी ठह¥याएको हो,’ सुकीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

रोहिन्जा मुसलमानको हत्याको अनुसन्धानका क्रममा प्रहरीको डकुमेन्ट लिएको आरोपमा ती दुई पत्रकारलाई म्यानमारको अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेको थियो । सुकीले आफ्नो सरकारले रोहिन्जासम्बन्धी घटनालाई फरक ढंगले अनुसन्धान गरिरहेको समेत बताएकी छन् । उनले अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिन्जामाथि भएको सैनिक कारबाहीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सकिने निष्कर्षमा म्यान्मार सरकार पुगेको पनि बताएकी छन्।

म्यानमारको उत्तरी रखाइन राज्यमा रोहिन्जा मुलमानविरुद्ध भएको सैनिक दमनको समाचार संकलन गर्दा सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीया क्या सोए ओेलाई गत साता सात वर्षको जेल सजाय तोकिएको थियो । समाचार संकलनकै कारण पत्रकारलाई जेल हालिएको भन्दै विश्वभरबाट म्यानमारको आलोचना भइरहेको छ।

संयुक्त राष्ट्रसंघलगायत विश्व समुदायले पत्ररकारलाई जेल हाल्नु नै स्वतन्त्र पे्रसको अभिव्यक्तिमाथि हमला भएको संज्ञा दिएका छन् । पत्रकारलाई दिइएको सजायको विषयमा सुकीले अत्यन्त चलाखीपूर्वक बचाउ गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

रोयटर्सका दुई पत्रकारलाई दिइएको जेल सजायको युरोपियन युनियन, अमेरिकालगायत विश्वजगतले नै आलोचना गरिरहेको छ । साथै संयुक्त राष्ट्रसंघलगायत विश्वका कैयौं मानवअधिकारवादी संघसंस्थाले उनीहरुको रिहाइका लागि म्यानमार सरकारसँग आग्रहसमेत गरेका छन्।

म्यानमारको सैनिक सरकारले करिब दुई दशकसम्म घरमै नजरबन्द राखेको प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी केही वर्षअघि मात्र स्वतन्त्र भएकी थिइन् । हाल म्यानमार सरकारको राज्य सल्लाहकार एवं विदेशमन्त्रीसमेत रहेकी सुकीले पत्रकारलाई जेल सजाय गरिएको विषयमा एक साता लामो मौनता तोड्दै बिहीबार आफ्नो भनाइ सार्वजनिक गरेकी छन्।

रोहिन्जा विद्रोहीले प्रहरी चौकीमा आक्रमण गरेपछि गत वर्षको अगस्ट २५ देखि सरकारी फौजले गरेको जबाफी कारबाहीका कारण हालसम्म सात लाख भन्दाबढी रोहिन्जा मुसलमान छिमेकी बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका छन् । अल्पसंख्यक रोहिन्जा मुसलमानमाथि भएको दमनका लागि म्यानमारका उच्च सैन्य अधिकारीविरुद्ध जातीय नरसंहारको मुद्दा चलाइनुपर्ने संयुक्त राष्ट्रसंघले माग गर्दै आएको छ।

प्रकाशित: २९ भाद्र २०७५ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App