१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पुलिस क्लब सेमिफाइनलमा

काठमाडौं- नेपाल पुलिस क्लबको महिला टोली२–१ सेटले पछि परेको खेल उल्टाउँदै तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ। पुलिसले शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग कठिन खेलमा २५–२२, २४–२६, २०–२५, २५–१९, १५–५ को नतिजा निकाल्यो। अब सेमिफाइनलमा पुलिसले पश्चिमाञ्चलसँग आइतबार प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा साबिक विजेता एपिएफको भेट न्यु डायमन्ड एकेडेमीसँग हुनेछ।

कभर्डहलमा सुरुआती सेट जितेपनि पुलिस टोलीमा आत्मविश्वासको कमी थियो। त्यसपछिलगातार दुई सेटमा पुलिसले आफ्नो लयजोगाउन सकेन। नयाँ खेलाडीलाई प्राथमिकतामा राख्दै टोली निर्माण गरेको आर्मीले भने खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई दबाबमा राख्यो। औसत उमेरमा पुलिसभन्दा कम भए पनि आर्मीका खेलाडीले तारिफयोग्य खेले। तर अन्तिम दुई सेटमा भने आर्मीका खेलाडी अनुभवमा कमजोर देखिए। त्यसको फाइदा उठाउँदै अनुभवी पुलिसले पाँचौं सेटमा खेल जित्दै अन्तिम चारमा स्थान बनाएको हो।

पुलिसका प्रशिक्षक रुपेश विष्ट टोलीले दबाबमा खेल्दा दुई सेट हार्नुपरेको बताए। उनले भने, 'नयाँ टिम भएपनि आर्मीले हाम्रो स्पाइकरलाई खुलेर खेल्न दिएन। हामीले जित्नैपर्ने दबाबमा खेल्यौं। उनीहरूले सहज रूपमा खेले। अन्त्यतिर समन्वय मिलेपछि खेल जित्न सहज भयो।'

आर्मीका प्रशिक्षक जगदीश भट्टले अनुभवको कमी नै हारको मुख्य कारण भएको बताए। उनले भने, 'हाम्रा नयाँ खेलाडीले राम्रो गर्दै गएका छन्। स्तरअनुसार आज उत्कृष्ट खेल्ने प्रयास गरेका हुन्। अनुभवको कमीले गर्दा अग्रता लिएको खेल हार्नुपर्‍यो।'

महिलाकै अर्को खेलमा पश्चिमाञ्चलको टप्स बोर्डिङले काभ्रे जिल्ला भलिबल संघको टोलीलाई सोझो सेटमा २५–७, २५–११, २५–९ ले हरायो। पश्चिमाञ्चलका प्रशिक्षक कुमार गुरुङले आशा गरेभन्दा टोलीले राम्रो खेलेको बताए। उनले भने, 'हाम्रो लक्ष्य फाइनल खेल्ने हो। आज ब्लक, स्पाइक र डिफेन्स तीनै पक्षमा हामीले राम्रो गरेका छौं। जितले टोलीको मनोबल बढेको छ। हामी सेमिफाइनलमा पुलिसलाई कडा चुनौती दिने कोसिस गर्छौं।'

पुरुषतर्फ त्रिभुवन आर्मीले मणिमुकुन्द क्लबलाई सोझो सेटमा २५–१२, २५–१०, २५–१५ ले पराजित गर्‍यो। क्वार्टरफाइनलको अन्तिम खेलमा पश्चिमाञ्चलले ढोरपाटन भलिबल टे्रनिङ सेन्टरलाई २१–२५,२५–७,२५–२१, २५–१७ ले हरायो। सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चलसँग खेल्नेछ। अर्को सेमिफाइनलमा हेल्प नेपाल र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २ आश्विन २०७३ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App