महेन्द्रका कम्युनिस्ट

शुक्रबार, २९ भदौ २०७५, ०९ : ०३ युवराज गौतम

339


नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भयो । त्यसको दुई वर्षपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा सो पार्टीमाथि प्रतिबन्ध लगाए । राजा महेन्द्रले २०१३ सालमा सो पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिदिए । तर २०१८ साल माघ २ गते सो पार्टीले प्रकाशित गरेको अपिलमा राजा महेन्द्रलाई ‘प्रजातन्त्र विरोधी’ भनिएको छ । सोही अपिलमा २०१७ सालमा राजाले उठाएको कदम राजनीतिक दलहरूकै कमजोरी, असफलता र घात÷प्रतिघातको परिणति भएको उल्लेख छ।

अपिलमा नेपाली कांग्रेसलाई ‘प्रतिगामी’ भनिएको छ । मातृकाप्रसाद कोइरालालाई आफ्नो पक्षमा लिएर प्रजातन्त्रलाई कमजोर बनाउन राजा त्रिभुवनले दाउ खेलेको, खुकुरी दलमार्फत असुरक्षा फैलाएर नेपाली सेनाको परमाधिपति (सुप्रिम कमान्डर) पद आफैँले लिएको र मौलिक अधिकार हनन गरेको आरोप लगाइएको छ । नेपाल–चीन जोड्ने बाटो (अरनिको राजमार्ग) बनाउने राजा महेन्द्रको कदम र ‘चीन–नेपाल सीमा सम्झौता’ लाई नेकपाले ‘अत्यन्त राम्रा कुरा’ भनेको छ । यस्तै पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) तथा उत्तर–दक्षिण जोड्ने राजमार्ग निर्माण सराहनीय मानेको छ पार्टीले । झन्डै ५६ वर्षपछि ती  पुराना दस्तावेज अध्ययन गर्दा पार्टीका नेताहरू दोधारमा रहेको बुझ्न सकिन्छ । राजा महेन्द्रको वाणी ‘हाम्रो सबभन्दा ठूलो पुँजी आफ्नै पुरुषार्थ र जनबल हो’ भन्ने वाक्यांशसमेत अपिलमा समावेश गरिएको छ भने राजतन्त्रप्रति घुमाउरो समर्थन गरिएको छ । एउटा वाक्यांश यस्तो छ– ‘विश्व इतिहासको त कुरै छाडौँं, हाम्रै देशको इतिहासमा पनि सामन्तीहरूका तर्फबाट कति यस्ता कार्य भएका छन्, जुनका निम्ति अन्य देशमा गृहयुद्धसमेत भएका थिए ।’ अपिलमा राजालाई हजार गाली गरिए पनि उनले गरेका राम्रा कामको सन्दर्भ प्रस्तुत गरिनु प्रेम र घृणाको चाकाचुली खेलेझैँ लाग्छ।

कम्युनिस्टहरू राजा महेन्द्रले हुर्काएका हुन् भन्ने कुराको वस्तुनिष्ठ आधार देखिँदैन।

राजा महेन्द्रले नेपाली कांग्रेसको सरकार भंग गर्दा सो सरकार राष्ट्र, राष्ट्रियता र जनताप्रति उदासीन रहेको कारण अस्थिरता बढेको आरोप लगाएका थिए । ती आरोप र राजा महेन्द्रका प्रवचनहरू अध्ययन गर्दा २०१७ साल पहिलेको घाउ २०४६ सालपछि किन धेरैपल्ट बल्झियो भनेर युवा पुस्ताका अध्येताहरू आज प्रश्न उठाउने गर्छन् । कुनै दलप्रति घृणा वा माया नभएका केही मेडिकल डाक्टरले हालै पंक्तिकारसँग छलफलका क्रममा भने– हामी कांग्रेस र कम्युनिस्टकै छोरा हौँ । तर राजा महेन्द्र त अत्यन्त सक्षम र दूरदर्शी रहेछन् भन्ने कुरा बल्ल बुझ्दैछौँ । पृथ्वीनारायण शाहले साहस गरेकै कारण नेपाल एकीकरण भएको रहेछ र राजा महेन्द्र नभइदिएको भए नेपाल भारतकै प्रान्त बन्ने रहेछ।

नेपालगन्ज र काठमाडौँंमा कार्यरत ती युवा चिकित्सकले ‘देशका ठूलाबडाले राजा महेन्द्रलाई गालीमात्र गरेको र राजाभन्दा दलका नेता उच्चकोटीका हुन्’ भनेर प्रचार गरिएकामा आपत्ति जनाए । झन्डै तीन घन्टा छलफल चल्यो । उनीहरूको भनाइ थियो– हामी तपाईँलाई चिन्दैनौँ तर राजा महेन्द्रका बारेमा तपाईँले लेखेका कैयन् लेख पढ्दा आजको पुस्ताले राजा महेन्द्रलाई बुझ्नैपर्ने रहेछ भन्ने लाग्यो।

मैले भनेँ– २०२८ साल माघ १७ गते बिहान ३ बजेतिर चितवनको दियालो बंगलामा राजा महेन्द्र परलोक भएको खबर मैले रेडियो नेपालको समाचारबाट थाहा पाएको हुँ, कक्षा ५ मा  पढ्दा । त्यसबेला थोत्रा बाकसमा पिताजीले भेला पारेका पुस्तक खोतल्दा राजा महेन्द्रका बारेमा केही पुस्तिका र कैँचीले काटेर राखेका गोरखापत्रका लेख देखेको थिएँ।

राजकाज जानेका महेन्द्रले कांगे्रस, कम्युनिस्ट, गोरखा परिषद् जस्ता दलमा आफ्नै ‘संवाददाता’ राखेकै हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ।

नरेन्द्रनाथ बाँस्तोलाको नेतृत्वमा झापा इलाममा २००७ सालको क्रान्तिमा सक्रिय रहेको, झापा र इलाममा शिक्षक पेशामा रहेको र इलाममा घरेलु उद्योगको प्रशिक्षकसमेत भएको हुँदा पिताजीलाई राजनीतिमा अभिरुचि थियो । तर त्यसबेला काठमाडौँमा बस्ने कांग्रेसका नेताहरूले आरोप लगाएझैँ अधिकांश पुराना कांग्रेसी राजा महेन्द्रप्रति पूर्वाग्रही थिएनन् । त्यस्तै कम्युनिस्टहरू राजा महेन्द्रले हुर्काएका हुन् भन्ने कुराको पनि वस्तुनिष्ट आधार देखिँदैन । नेपाली कांग्रेसका महामन्त्री भइसकेका डा. तुलसी गिरी, विश्ववन्धु थापालगायत धेरै कांग्रेसीले राजा महेन्द्रको आर्थिक प्रलोभनमा परेर उनलाई सहयोग गरेका होइनन् । डा. गिरीको त दशौँ हजार विघा पैतृक जमिन धनुषा, महोत्तरी, सिरहा, सर्लाही आदि जिल्लामा फैलेको थियो।

राजनीतिक इतिहासका अन्वेषक गृष्मबहादुर देवकोटाले ‘नेपालको राजनीतिक दर्पण’ ग्रन्थमा राजा महेन्द्रले नेपाली कांग्रेसको सरकार भंग गर्दा नेपाल कम्युनिस्ट पार्टीले दीपावली गरेको प्रसंग लेखेका छन् । त्यो कम्युनिस्ट पार्टीको सिसी (सेन्ट्रल कमिटी) कै निर्णय थियो र दलहरूमाथि प्रतिबन्ध लगाइँदा पनि कम्युनिस्टहरूले झलमल्ल बत्ती बाले सहरमा । सिसीद्वारा गरिएको निर्णयमा शिशीको मादक पदार्थ अवश्य पनि दोषी थिएन किनभने त्यो ‘निर्णय’ गलत थियो भनेर आजसम्म नेपाल कम्युनिस्ट पार्टीले आत्मआलोचना गरेको पाइँदैन।

नेपाली कांग्रेसले सबै कम्युनिस्टहरू राजा महेन्द्रका मानसपुत्र हुन् भनेर एउटै बर्कोले छोप्न खोज्नु उचित देखिँदैन तर राजकाज जानेका महेन्द्रले कांगे्रस, कम्युनिस्ट, गोरखा परिषद् जस्ता दलमा आफ्नै ‘संवाददाता’ राखेकै हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ।

नेपाली कांग्रेसको सरकार छँदा राजा महेन्द्रले आफ्ना अंगरक्षकलाई बोलाएर फलानो नेतालाई ‘बेलुका सात बजे राजदरवारमा ल्याइ पु-याउनू’ भनेछन् । नेतालाई घरमा नभेटेपछि अंगरक्षकले त्यही कुरा जाहेर गरे । महेन्द्रले भनेछन्– त्यो मान्छे साँझपख रक्सी खान यट्खा, नरदेवी, न्हैकन्तला र ठँहिटीका भट्टीतिर जान्छ । नेवार केटाहरूसँग बसेर छोइला, कचिला, अइला खाइरहेको हुन्छ । हाकुचा, पाकुचाका भट्टीमा खोज्नू । नरदेवीको मैचाकहाँ पनि जान्छ । त्यहाँ पनि बुझ्नू महेन्द्र पचहत्तरै जिल्लाका सूक्ष्म सूचनाहरू त्यही दिन थाहा पाउँथे भनेर सुनाउँछन् उनका पुराना सहयोगीहरू । भनिन्छ, इन्दिरा गान्धी प्रधानमन्त्री छँदा उनकै एकजना मन्त्रीलाई मासिक तलव दिएर महेन्द्रले गुप्तचर बनाएका थए । भारतीय गुप्तचर संस्था रअका संस्थापक रामनाथ काओले पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउन खोजेको र नेपालको तराईमा पृथकतावादी आन्दोलन चर्काउने योजना बनाएको चाल पाएपछि राजा महेन्द्र साह्रै चिन्तित भएछन्।

वनारस (सारनाथ) मा निर्वासित जीवन बिताइरहेका बिपी कोइरालालाई भारतले राजतन्त्रविरुद्ध प्रयोग गर्न खोजेको पाइन्छ तर सिक्किम विलय गराउन त्यहाँको राजतन्त्र समाप्त पार्न खोजिँदैछ भन्ने कुरा बिपीले पहिले नै सूचना पाएका रहेछन् । काजी लेन्डुप दोर्जे बिपीलाई भेट्न सारनाथ पुगेछन् । बिपीले सम्झाएछन्– ‘हेर्नुहोस् काजी, राजासँग त मेरो पनि झगडा छ तर नेपालमा राजा रहेन भने भारतले खेल्छ । सधँै अस्थिरता गराउँछ । तपाईँ राजा फ्याँक्दा सिक्किममा प्रजातन्त्र आउँछ भन्नुहुन्छ तर म भन्छु, स्वतन्त्रता जान्छ ।’ नभन्दै, राजा हटाएपछि स्वतन्त्र हिमाली अधिराज्य भारतको प्रान्त बन्न पुग्यो । भारतीय गुप्तचर अधिकारी एके यादवले ‘मिसन रअ’ पुस्तकमा तराईलाई टुक्र्याएर नेपाललाई ध्वस्त बनाउन दिल्लीमा धेरै खेल भएको खुलासा गरेका छन् । खेल अझै रोकिएको छैन । किनभने नेपालमा राजतन्त्र समाप्त पार्न भारतले प्रत्यक्ष र परोक्षरूपमा भूमिका खेलेको कुरा नेपालकै नेताहरूले बताएका छन् । राजतन्त्रविरुद्ध संघर्ष चर्काउन माओवादीलाई भारतले शान्तिको स्टिकर टाँसेर वैधानिक शक्ति बनायो । भारतका माओवादीलाई दिल्लीले आज पनि ‘आतंककारी’ भनिरहेकै छ । नेपाली सेनालाई प्रधान सत्रु मान्ने र राजतन्त्रवादी एवं प्रजातन्त्रवादीलाई (नेताबाहेक) छानीछानी मार्ने माओवादी पार्टी भारतका आँखामा ‘लोकतन्त्रवादी’ कसरी भयो ? यो प्रश्नको उत्तर खोज्दै जाँदा रअले चक्राटा (देहरादुनछेउ) मा माओवादीलाई दिएको सैनिक तालिमको पृष्ठभूमि अध्ययन गर्नैपर्छ।

कम्युनिस्टहरूले २०११ सालमा प्रथम महाधिवेशन गरेपछि चीनमा माओसँग सम्पर्क बढाएको कुरा सो पार्टीका तत्कालीन महासचिव डा. केशरजंग रायमाझीले लेख र अन्तर्वार्ताहरूमा उल्लेख गरेका छन् । प्रथम महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित रायमाझी २०१९ सालसम्म सो समितिमै रहे । तर कालान्तरमा रायमाझीको राष्ट्रवादी सोचलाई ‘दरवारपरस्त’ भनियो भने पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई ‘गद्दार पुष्पलाल’ भन्नेहरु आज दिल्लीका दास बनेका छन्।

यस प्रसंगमा एउटा राचक तथ्य प्रस्तुत गर्र्नैपर्ने हुन्छ । सन् १९१७ मा रुसमा बोल्सेभिक क्रान्तिले राजतन्त्र समाप्त गरेको र माओले सन् १९४९ मा चीनमा कम्युनिस्ट शासन स्थापना गरेका घटनाबाट नेपालमा केही युवाले ती देशका कम्युनिस्टको अनुकरण गर्दै सन् १९४९ को सेप्टेम्वर १५ मा कम्युनिस्ट पार्टी खोले । राजा महेन्द्रको चिन्तनसँग नजिक भएर साम्राज्यवादी र विस्तारवादीसँग संघर्ष गर्नुपर्छ भन्नेहरूलाई चीनको निकट भन्दै दिल्लीले ‘महेन्द्रका कम्युनिस्ट’ भन्न सिकायो । त्यसैले कम्युनिस्टहरू चीनपरस्त हुन् भन्ने मान्यता स्थापित भयो । तर माओवादी विद्रोहले उनीहरूलाई भारत र पश्चिमा राष्ट्रका इसारामा चल्ने फौज हुन् भन्ने प्रमाणित गरिदियो।

‘स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल’ भन्ने राजा महेन्द्र ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने मान्यता राख्थे । पश्चिमी राष्ट्रका केही नेताले राष्ट्र सर्वप्रथम (नेसन फस्ट) भन्दा मिडियामा आज चर्चा हुन्छ । राजा महेन्द्रले राष्ट्रको संरक्षण, सम्वद्र्धन र सम्पोषण गर्न नेपाली स्रोतसाधन र विवेकले चल्ने राजनीतिक प्रणाली किन रोजेका रहेछन् भन्ने आज थाहा हुँदैछ । संघीयता र गणतन्त्र पाल्न विदेशीसँग हात थाप्नुपर्ने अवस्थामा पुगेको छ नेपाल । हरेक दलको एउटै लक्ष्य छ– सत्ता । उल्टो बाटोमा हिँडेको छ राजनीति । तर माओले भनेझैँ साम्राज्यवाद र विस्तारवाद रोक्न ‘फ्युडल’ शक्तिसँग कम्युनिस्टहरू मिल्नुपर्छ भन्ने कुरा नेपालका कम्युनिस्टले बिर्सिँदै गए । बरु विदेशी शक्ति उनीहरूका विश्वासपात्र भए । ‘प्रजातन्त्रवादीहरू राजतन्त्रसँग नतर्स, राजतन्त्रवादीहरू प्रजातन्त्रसँग नझस्क’ भन्ने बिपी कोइरालाको चिन्तन त्यागेर दिल्लीको मार्गचित्रमा हिँड्यो कांग्रेस । आज कांग्रेस र कम्युनिस्ट दुवै दलमा विदेशीको हुकुम चलिरहेको छ । गणतन्त्र त आयो तर त्यसका ‘मालिक’ नेपाली भएनन्।







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...