१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफलाई उपाधि

पोखरा – दुई पटक रोकिँदै सुरु भएको राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एक पटक सशस्त्र प्रहरी बलको पोल्टामा जाँदा शिवम् न्यु डायमन्ड गतवर्षझैं उपविजेतामै चित्त बुझाउन विवश भएको छ। 

लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेलमैदानमा भएको फाइनल एपिएफले २५–२० ले आफ्नो पक्षमा पार्याे । पानी परेपछि दोस्रो सेट सुरु हुन केही समय लाग्यो । तर दोस्रो सेटमा कमब्याक गर्दै शिवम्ले एपिएफमाथि चुनौती थप्यो । दोस्रो सेट १८–२५ ले शिवम् न्यु डायमन्डको पक्षमा गयोे। 

दोस्रो सेट सकिएपछि फेरि पानी प¥यो । केही समय स्थगित भएपछि फेरि सुरु भएको तेस्रो सेटमा भने एपिएफले शिवम् न्यु डायमन्डलाई २५–१७ को स्थितिमा खुम्च्यायो । एपिएफले अन्तिम सेट भने २५–२१ ले आफ्नो पक्षमा लिँदै लामाचौरमा तीजे महोत्सवसँगै आयोजित राष्ट्रिय महिला भलिबलको उपाधि फेरि एकपटक रक्षा गर्यो। 

‘हाम्रा सेटर नै थिएनन् । सेटरकै अभाव खड्कियो,’ शिवम् न्यु डायमन्डका प्रशिक्षक कुमार राईले भने, ‘जित्न सक्ने सम्भावना रहे पनि सेटर नहुँदाको पीडा झेल्नुपर्याे ।’ पानीले पनि खेललाई निकै सकसपूर्ण बनाएको उनको भनाइ थियो । एकैछिन रोकिने, छिनमै पर्ने पानीकै ग्राउन्ड पनि लचक भएकाले खेल्न कठिनाइ भएको उनले बताए । न्यु डायमन्डकी सेटर कृपा अधिकारी नेपाली सेनामा प्रवेश गरेपछि समस्या परेको फाइनल खेलमा प्रस्टिएको थियो। 

फाइनल जितेपछि एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले खेलाडीहरूको प्रदर्शन पूर्ण रूपमा नदेखिएको बताए । ‘खेलाडीहरूले फाइनलमा खेल्नै सकेनन्,’ उनले भने, ‘पानीले मैदान हिलाम्मे हुँदा भनेजस्तो खेल्न सकिएन।’ 

नेपाल आर्मीले चितवन टाइगर्सलाई एकै प्रकृतिको सेटमा पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । पहिलो सहभागिता जनाएको चितवन टाइगर्सलाई आर्मीले २५–१८,२५–१८,२५–१८  सेटमा पराजित गरेको थियो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेता एपिएफले उपाधिसहित नगद १ लाख रुपैयाँ पुरस्कार स्वरूप पायो । उपविजेता बनेको शिवम् न्यु डायमन्डले ६५ हजार नगद पुरस्कार प्राप्त गर्याे।

उत्कृष्ट खेलाडी सरस्वती चौधरी (एपिएफ), उत्कृष्ट स्पाइकर प्रतिभा माली (न्यु डायमन्ड), उत्कृष्ट सेटर शशि चौधरी (एपिएफ), उत्कृष्ट ब्लकर सुनीता खड्का (आर्मी), उत्कृष्ट सर्भर झरना श्रेष्ठ (न्यु डायमन्ड), उत्कृष्ट क्विकर हीरा केसी (एपिएफ), उत्कृष्ट प्रशिक्षक ज्ञानेन्द्र विष्ट (एपिएफ) घोषित भए । उनीहरूलाई नगद तथा ट्रफी प्रदान गरिएको थियो।

अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि टप्स माविले जितेको छ । फाइनलमा टप्सले करुणा निधि फाउन्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे। 

प्रकाशित: २८ भाद्र २०७५ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App