१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इलाम, पाँचथर र ताप्लेजुङ बुधबारदेखि अन्धकार

इलाम – बुधबार साँझदेखि बिजुली नआउँदा पूर्वका ३ जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ अन्धकार छन्। हावाहुरी र पहिरोले विद्युत् तारमा क्षति पुग्दा यी जिल्लाका सदरमुकामसहितका सबै गाउँ–नगर अन्धकार भएका हुन्।

जिल्लाबाट प्रसारण भइरहेका रेडियो, पत्रिका, अनलाइनलगायत सञ्चारका साधनसमेत ऊर्जा अभावले ठप्प भएका छन्। मोबाइल चार्ज सकिएर हजारौं सेवाग्राही प्रभावित छन्। विद्युतीय व्यावसायिक काममा असर पुगेको छ।

इलाम, पाँचथर र ताप्लेजुङका लागि ल्याइएको ३३ किलो भोल्ट (केभी) र १३२ केभी प्रसारण लाइनमा क्षति पुगेपछि बिजुली बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। २ दिनअघि इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा पहिरो जाँदा ३३ केभी लाइनका ४ पोलमा क्षति पुगेको र तारसमेत चुँट्टिएको प्राधिकरण इलाम शाखा प्रमुख रविनबाबु घिमिरेले बताए। ‘कोल्बुङको पहिरोले पोल र तारमा क्षति पु¥याएपनि गोदक सबस्टेसनबाट तीनै जिल्लामा विद्युत् आपूर्ति गरिएको थियो,’ उनले बिहीबार भने, ‘दमकबाट गोदकसम्म ल्याइएको १३२ केभी प्रसारण लाइनमा पनि खराबी आएपछि चाहिँ तीनै जिल्ला अन्धकार भएका हुन्।’

दमक–गोदक प्रसारण लाइनको टावर नम्बर ३ (दमकभन्दा १ किमी टाढा) को तार हावाहुरीले क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको काबेली कोरिडोर आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले जानकारी दिए। ‘बिग्रिएको स्थान पत्ता लागेपनि बिहीबार साँझसम्ममा मात्रै मर्मत गर्न सक्ने सम्भावना छ,’ उनले भने, ‘अहिले हाम्रो मर्मत टोली इलामको सिद्धिथुम्कामा छ, त्यो टोली दमक पुग्नै करिब ५ घन्टा लाग्ने भएकाले मर्मतमा समय लाग्ने भएको हो ।’

प्राधिकरण प्रमुख घिमिरेले पनि कोल्बुङमा क्षतिग्रस्त तार र पोल मर्मत भइरहेकाले बिहीबार साँझसम्म बनिसक्ने सम्भावना रहेको बताए। ‘हाम्रो टोलीले मर्मतको काम धमाधम गरिरहेको छ,’ उनले भने, ‘आज दिनभर लाग्न सक्छ।’

बाहिरबाट ल्याउने बिजुलीबाहेक इलाम, पाँचथर र ताप्लेजुङकै ९ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन्। तर, बाहिरको ऊर्जा नहुँदा जलविद्युत् आयोजनाको मेसिन ‘स्टार्ट’ गर्न ‘जोखिम’ हुने भएकाले स्थानीय आयोजनाको उत्पादन पनि राष्ट्रिय प्रसारण लाइन नभएका बेला ठप्प पारिने गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङमा ८ मेगावाट विद्युत्को मात्रै माग छ। तर, यी ंजिल्लाका ९ आयोजनाबाट अहिले ९७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

प्राविधिक स्रोतका अनुसार बाहिरी ऊर्जा नभएकै बेला पनि स्थानीय जलविद्युत् आयोजनाको मेसिन स्टार्ट नहुने चाहिँ होइन। ‘बाहिरी ऊर्जाबाहेक मेसिन स्टार्ट गर्दा भाइब्रेसन अलि बढी हुने भएर मेसिन बिग्रिन्छ कि भन्ने डरले बन्द गरिएको मात्रै हो,’ स्रोतले भन्यो, ‘राष्ट्रिय प्रसारणको विद्युत् नहुँदा आयोजनाको मेसिन नचल्ने, विद्युत् उत्पादन र वितरण नै नहुने चाहिँ होइन।’

प्रकाशित: २८ भाद्र २०७५ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App