१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

नहर निर्माणका क्रममा काटिएका रुखका जरा ।     तस्बिरः योगेश/नागरिक

टीकापुर – राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ । इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको हो। 

आयोजनाले वन विभागको स्वीकृतिमा नहर निर्माणको ठेक्का पाएको कालिका कुमार जेभीलाई २०७४ चैत ८ गते डुँडेझारीदेखि लम्कीसम्मको ६ किलोमिटरमा दुई हजार ६ सय ८८ रुख काट्न आदेश दिएको थियो । उसले २०७५ असार १० गतेभित्र सबै रुख काटेर सम्बन्धित ठाउँमा घाटगद्दी समेत गरिसकेको जनाएको छ।

रुख काटेसँगै ठेकेदारले २०७५ भदौ १३ गतेदेखि जरा उखेल्ने काम सुरु गरेको थियो । २०७५ भदौ २० गते इलाका वन कार्यालय लम्कीले अर्को आदेश नभएसम्मका लागि जरा उखेल्ने कार्य रोक्न भनेको निर्माण कम्पनीका कार्यक्रम प्रबन्धक सुनिल पौडेलले जानकारी दिए। 

उनले वन कार्यालयले रुख काट्न र जरा उखेल्न छुट्टाछुट्टै आदेश चाहिने भन्दै नहर निर्माण कार्यमा अवरोध सिर्जना गरेको गुनासो गरे । ‘काट्न र उखेल्न छुट्टाछुट्टै आदेश चाहिन्छ भन्यो, हामी आदेशको पखाइमा छौं,’ उनले भने।

निर्माण कम्पनीले आयोजनाको पश्चिमतर्फ डुँडेझारीदेखि पथरिया नदीसम्म १४ किलोमिटर सात सय मिटर नहर निर्माणको ठेक्का पाएको छ । २०७५ असार ३१ गतेभित्रै निर्माण सम्पन्न गर्ने गरी कम्पनीले सिँचाइ आयोजनासँग २०७३ साउन २३ गते सम्झौता गरेको थियो । नहर निर्माणको लागत मूल्य अभिवृद्धि करसहित एक अर्ब ७१ करोड ७९ लाख १५ हजार चार सय ५३ रुपैयाँ छ। 

यसअघि नहर क्षेत्रमा पर्ने रुख काट्ने आदेशमा समेत दुई वर्ष ढिलाइ भएको थियो । ठेक्का सम्झौता भएको केही समयमै रुख काट्ने आदेश पाउनुपर्नेमा ढिलाइ भएका कारण नहर निर्माण सम्पन्न हुने मिति बितिसक्दा समेत अन्योलमा छ । गत आवसम्म नहर निर्माणको काम भौतिक रुपमा २० प्रतिशतमात्रै सम्पन्न भएको निर्माण कम्पनीका कार्यक्रम प्रबन्धक पौडेलले बताए।

निर्माण कम्पनीले रुख काट्न आदेश लिनु नपर्ने केही खोलानालामा भने नहरको संरचना तयार पारिसकेको छ । उसले रोरा खोला अन्तर्गतको बर्गदा, बसुता र खत्यानीमा संरचना तयार गरेको छ । ‘अवरोध नभएका ठाउँमा हामीले काम गरिसकेका छौं,’ कार्यक्रम प्रबन्धक पौडेलले भने, ‘सरकारी पक्षबाटै काममा अवरोध भएका कारण नहर निर्माणमा ढिलाइ भयो।’

नहर निर्माणको काम ठप्प हुँदा आर्थिक रुपमा ठूलो क्षति बेहोर्नु परेको निर्माण कम्पनीले जनाएको छ । कार्यक्रम प्रबन्धक पौडेलले ७२ जना कर्मचारी र गाडी थन्केर बसेको बताए । उनले नहर निर्माणका लागि आवश्यक सामग्री समेत तयारी अवस्थामा राखेको जानकारी दिए । ‘कसैले काम नगरेर समस्या छ,’ उनले भने, ‘हामी काम गर्न तयार छौं तर, काम गर्ने वातावरण छैन।’

आयोजना प्रमुख मधुकर राणाले वन कार्यालयको ढिलासुस्तीले समस्या भइरहेको बताए । उनले विभिन्न बहानामा अवरोध सिर्जना गर्ने काम भइरहेको गुनासो गरे । ‘रुख काट्न आदेश दिने निकायले जरा उखेल्न अर्को आदेश चाहिन्छ भनेर रोकेको छ,’ उनले भने, ‘अन्यत्र कुनै ठाउँमा यस्तो भएको देखिँदैन । हामीकहाँ मात्रै किन यस्तो समस्या छ बुझ्न सकेको छैन।’

डिभिजन वन कार्यालय धनगढीका प्रमुख अमरबहादुर डुलेनले केही कानुनी प्रक्रिया पूरा गर्दा समय लागेको बताए । उनले राष्ट्रिय गौरवको आयोजनाको काम रोकिएको प्रति ध्यानाकर्षण भएको बताउँदै चाँडै समस्या समाधान हुने जानकारी दिए। 

‘रुख काट्न आदेश दिएपछि जरा उखेल्न नदिने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘केही प्रक्रिया पूरा गर्दा समय लागेको मात्रै हो।’

तत्कालीन क्षेत्रीय वन निर्देशक र जिल्ला वन अधिकृतले रुख कटान भएको ठाउँमा ‘प्लट क्लियरेन्स’ दिएपछि मात्रै जरा उखेल्न आदेश दिने कानुनी प्रक्रिया रहेको वन कार्यालयको भनाइ छ । हाल क्षेत्रीय वनको अवधारणा हटेको छ भने जिल्ला वन डिभिजन वन कार्यालयमा परिणत भएको छ । इलाका वन कार्यालय लम्कीका प्रमुख रविकुमारनिधी कर्णले समस्या समाधानको अन्तिम बिन्दुमा पुगेको बताए। 

कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सिँचाइ आयोजना निर्माण सुरु भएको हो । नेपाल सरकार, विश्व बैंक र स्थानीयको लगानीमा आयोजना निर्माण भइरहेको छ । करिब १२ अर्बको आयोजनामा सात अर्ब नेपाल सरकार, पाँच अर्ब विश्व बैंक र १० करोड बराबरको स्थानीयको जनश्रमदान रहेको छ। 

प्रकाशित: २७ भाद्र २०७५ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App