१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोशीमा तीन गुणा आवेदन

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयरमा तीन गुणा बढी आवेदन परेको छ। 
आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकमा तीन गुणाभन्दा बढी आवेदन परेको देखिएको जानकारी दिए। करिब दुई लाख दोलखावासीले आयोजनाको साधारण सेयरमा आवेदन गरेको न्यौपानेले बताए।

स्थानीयले एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता साधारण सेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत बराबरको साधारण सेयर हो। त्यस्तै आयोजनाले नेपालीलाई कुल पुँजीको १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्नेेछ। 

आयोजनाले गत साउन अन्तिम सातासम्म काठमाडौंमा बसोबास गर्दै आएका दोलखावासीलाई यही भदौ २१ गतेसम्म दोलखा जिल्लामा सेयर बिक्री गरेको थियो। दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक  निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई साधारण सेयर बिक्री गरिसकेको छ।

आयोजनाले  स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरी सेयर बिक्री गरेको थियो । त्यसमा अति प्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र रहेका छन्।

गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अति प्रभावित प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको थियो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकतम तीन सय सय कित्तासम्म सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ।    (रासस)

 

प्रकाशित: २७ भाद्र २०७५ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App