१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सचिवविहीन स्थानीय तह

वडा सचिवविहीन शिवनाथ गाउँपालिकाको कार्यालय ।   तस्बिरः नागरिक/बिरा

बैतडी – स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्षभन्दा बढी भए पनि बैतडीका ८४ वडामध्ये ५० वडामा सचिव छैनन् । सचिव नहुँदा स्थानीय तहबाट पाउने सेवा सर्वसाधारणले सहज रूपमा पाउन सकेका छैनन् । जिल्लाका १० वटा स्थानीय तहका धेरैजसो वडा सचिवविहीन छन्।

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्थानीय तहले जनाएका छन् । शिवनाथ गाउँपालिकाका ६ वटै वडामा सचिव छैनन् । वडासचिव नहुँदा वडा कार्यालयबाट सर्वसाधारणलाई समयमै सेवा दिन कठिनाइ भइरहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । सबै वडामा सचिव नभएपछि गाउँपालिका कार्यालयमा रहेका कर्मचारीलाई काम गर्न भ्याइनभ्याइ भएको उनले बताए । सचिवको जिम्मेवारी प्राविधिक सहायकले गर्दै आएको अध्यक्ष साउदले जानकारी दिए।

‘प्राविधिक सहायकले नै पञ्जीकरणदेखि सिफारिससमेत गर्दै आएका छन्,’ उनले भने, ‘तर, कतिपय प्राविधिक सहायकलाई वडा कार्यालयले गर्ने कामको जानकारी नहुँदा समस्या भएको छ ।’ आफ्नो र सचिव दुवैको जिम्मेवारी निर्वाह गर्न उनीहरूलाई कठिनाइ भइरहेको अध्यक्ष साउदले बताए।

राज्य पुनःसंरचनापछि पहिलेको तुलनामा वडामा जिम्मेवारी समेत थपिएकाले समस्या भएको पुर्चौडी नगरपालिका–१ का प्राविधिक सहायक वकिलबहादुर धानुकले बताए । एक वर्षदेखि उनले वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । अनुभव भएकाहरूलाई सहज भए पनि दोहोरो जिम्मेवारी निर्वाह गर्न कठिन भएको उनले बताए । अधिकारसम्पन्न स्थानीय तहमा आवश्यक कर्मचारी नहुँदा समस्या उत्पन्न भएको हो । प्राविधिक सहायक सचिवसरह दक्ष नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएका छन्।

बैतडीका ८४ वडामध्ये ५० वडामा सचिव छैनन् । जसका कारण सर्वसाधारणले सहज रूपमा सेवा पाउन सकेका छैनन्।

पञ्चेश्वर गाउँपालिकाका छवटा वडामध्ये चार वडामा सचिव नभएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । वडाअनुसार सचिव नहुँदा गाउँपालिकाले वडालाई दिएको काम समयमै हुन नसकेको उनले बताए । यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छवटा वडामा सचिव छैनन् । सचिव नहुँदा स्थानीयले चाहेअनुसार सेवा पाउन नसकेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताए । वडाका लागि सचिव खटाउने निर्णय सरकारले गरे पनि अहिलेसम्म कर्मचारी व्यवस्थापन हुन सकेको छैन । वडा संख्याका आधारमा सचिव नआएपछि एकै जनाले धेरै वडाका काम भ्याउनुपर्दा गाह्रो भएको नगरप्रमुख नायकले बताए।

आफ्नो जिम्मेवारी सम्हाल्ने कि सचिवको कठिन भएको प्राविधिक सहायकहरू बताउँछन् । पुर्चोडी नगरपालिकाका १० पटा वडामध्ये नौवटा वडामा सचिव छैनन् । पाटन नगरपालिकामा पनि १०वटा वडामध्ये पाँचवटा वडामा सचिव नभएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिए । दोगडाकेदार गाउँपालिकाका आठमध्ये तीनवटा वडामा सचिव छैनन् । यस्तै डिलासैनी गाउँपालिकामा सातमध्ये चारवटा वडामा सचिव छैनन्।

कर्मचारी अभावमा यहाँका स्थानीय तहमा दैनिक कामकाज सञ्चालनमा समस्या भइरहेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए । चाँडो कर्मचारी पठाउन सरकारलाई पटकपटक आग्रह गरिएको भए पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको उनले गुनासो गरे । ‘पहिलेको संरचनामा पनि जिल्लामा सचिवको कमी नै थियो,’ उनले भने, ‘त्यो बेला एउटै सचिवले तीन÷चार गाविस हेर्थे, अहिले झन् वडाको जिम्मेवारी पहिलेभन्दा थपिएको छ ।’ जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकतर स्थानीय तहमा कर्मचारी अभाव रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले जानकारी दिए।

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्दै संघीय संरचना कार्यान्वयनमा ल्याइए पनि सर्वसाधारणले सोचेअनुसार सरकारी सेवा पाउन सकेका छैनन् । आवश्यक मात्रामा कर्मचारी नहुँदा सेवा प्रवाहदेखि योजना बनाउनसम्म समस्या भइरहेको स्थानीय तहले जनाएका छन् । स्थानीय तहमा वडासचिव मात्र होइन, अन्य कर्मचारीसमेत पुगेका छैनन् । विषयगत शाखाहरूमा पनि कर्मचारी छैनन् । ‘सबै जिम्मेवारी स्थानीय तहलाई थुपारिएको छ,’ अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले भने, ‘तर आवश्यक कर्मचारी नहुँदा समस्यै समस्या देखिएका छन्।’

जिल्लाका केही स्थानीय तहमा नायब सुब्बाले प्रमुख प्रशासकीयको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। अधिकृतस्तरको कर्मचारी बस्नुपर्ने स्थानीय तहसमेत निमित्तका भरमा सञ्चालन हुँदै आएका छन्।

प्रकाशित: २७ भाद्र २०७५ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App