१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘स्कुल–स्कुलमा प्रहरी’

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ माविका विद्यार्थीलाई यौन अपराध र लैङ्गिक हिंसाका घटनाका बारेमा जानकारी गराउँदै प्रहरी ।     तस्बिरः सरिता/नागरिक

धादिङ – धादिङको त्रिपूरासुन्दरी गाउँपालिकामा आफ्नै बुबाबाट १४ वर्षीय छोरी बलात्कृत भइन्। उनी गत २०७४ माघ, फागुन र चैत महिना भरी नै पटक पटक बलात्कारको सिकार हुन पुगिन्। घटना भएको करिब एक महिनापछि मात्र जिल्ला प्रहरी कार्यालय धादिङमा घटना दर्ता भयो। घटना दर्तापछि जिल्ला अदालतबाट पीडक बुबालाई ८ वर्षको जेल सजाय सुनाइयो। पीडित बालिका सामाजिक रुपमा आफ्नै बुबालाई जेल हालेको भन्दै गाउँलेले गाउँमा बस्न नदिएपछि काठमाडौँमा बस्दै आइरहेकी छन्। 

त्यस्तै २०७४ चैत २७ गते धादिङको गजुरीमा आफ्नै दाजुबाट १५ वर्षीय बहिनी बलात्कृत भइन्। घटना भएको ४ महिनापछि मात्र घटना दर्ता भयो। भदौ ५ गते जिल्लाको सिद्धलेक गाउँपालिकामा १४ वर्षीय भतिजीलाई आफ्नै काकाले घाँटी कसेर जबरजस्ती करणीको प्रयास गरे। यी त उदारणीय पात्र मात्र हुन्। हजरबुबाले नातिनीलाई काकाले भतिजीलाई, दाईले बहिनीलाई, बुबाले छोरीलाई शिक्षकले छात्रालाई बलात्कार गरेको घटना दिनप्रतिदिन घटिरहेका छन्। जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७४–७५ मा २३ वटा बलात्कारका घटना भएका छन्। २०७५ साउन महिनामा मात्र ४ वटा घटना प्रहरीमा दर्ता भएका छन्। 

जिल्लामा बलात्कार, जबरजस्ती करणी, बहुविवाह, सम्बन्ध बिच्छेदका घटनाहरू प्रतिदिनजस्तो भइरहेको छ। घटना न्यूनिकरणका लागि प्रहरी, स्थानीय संघसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेका छन्। प्रहरीले मुस्कानसहितको सेवा, टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी लगायतका अभियानहरू संचालन गरेको थियो। यस वर्षपछि अभियानलाई सार्थकता दिन स्कुल स्कुलमा प्रहरी अभियान संचालन गरिएको प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए। समाजमा घट्ने यौनजन्य अपराधिक तथा घरेलु हिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले अभियान संचालन गरेको हो।

बलात्कार तथा हिंसाका सिकार अधिक मात्रामा बालिकाहरू हुने गरेका कारण विद्यालयलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको प्रहरी उपरिक्षक विकले बताए। ‘टोलटोलमा, समूदाय समूदाय हुँदै अहिले स्कुलस्कुलमा सचेतनामूलक अभियान संचालन गरेका छौँ’ विकले भने, महिला, ‘बालिकालाई मात्र नभएर बालक तथा पुरुषलाई पनि कानुन र सचेतना आवश्यक हुने हुदाँ स्कुल स्कुलमा प्रहरी कार्यक्रम सञ्चालन गरिएको हो।’ खासगरी घरपरिवार तथा विद्यालयमा हिंसा बढी हुने गरेका कारण अभियान स्कुल स्कुलमा नै गरिएको बिकले बताए। 

आफ्नै आफन्त र चिरपरिचित मानिसबाटै हिंसा हुने गरेको तथ्याङ्कका कारण यस्ता हिंसा न्यूनिरकणका लागि विद्यालयलाई रोजिएको धादिङ प्रहरीले जानकारी दिएको छ। भदौ १ गतेदेखि सञ्चालनमा आएको नयाँ कानुनका विषयमा पनि जानकारी दिने र सबै महिला दिदिबहिनीको सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि अभियान चालिएको कार्यलयले जानकारी दिएको छ। 

जिल्लाको १३ वटै स्थानीय तहमा रहेका विद्यालयहरूमा अभियान चालिएको छ। मंगलबारबाट सुरु अभियान अन्तर्गत सदरमुकाममा रहेको नीलकण्ठ उच्च माध्यामिक विद्यालयबाट स्कुल स्कुलमा प्रहरी अभियान कार्यक्रमको सुरुवात गरिएको हो। सचेतना कार्यक्रममा बसी सकेपछि आफुले धेरै कुराको ज्ञान हाँसिल गरेको धादिङबेसीमा रहेको चिल्डे«नपार्क आवसीय माविका विद्यार्थी नविन श्रेष्ठले बताए। ‘आफ्नै परिवार र शिक्षकहरूबाट हुने हिंसा र कस्तो समयमा हुने भन्ने कुराको बारेमा जानकारी हासिल गर्यौ, श्रेष्ठले भने, ‘छोरी मात्र होइन हामी छोराहरू पनि हिंसामा पर्ने हुदाँ सुरक्षित रहने उपायको बारेमा जानकारी पाउदाँ खुसी लाग्यो।’ 

बालबालिकाले आफूले जानेका कुरा साथीभाई तथा घर परिवारमा शेयर गर्ने हुदाँ हिंसा न्यूनिकरणमा सहयोग पुगी सभ्य र समृद्ध समाज निर्माण गर्न सहयोग पुग्ने अपेक्षा रहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले बताए। महतोका अनुसार यौनजन्य तथा घरेलु हिंसाका घटनाका उजुरी दिनप्रतिदिन बढ्दै गएकाले अभियान चालिएको बताए। जिल्लामा ०७३–०७४ मा यौनजन्य अपराधका घटना ३६, घरेलु हिंसाका घटना १ सय ६६, ०७४–०७५ मा यौनजन्य अपराधका घटना ३१, घरेलु हिंसाका घटना १ सय ८७ र हालसम्म ०७५–०७६ मा यौनजन्य अपराधका घटना ६, घरेलु हिंसाका ४३ वटा घटनाका उजुरी प्रहरीकोमा आएका छन्। 

जिल्लामा यौनजन्य अपराधका घटना ११–१८ वर्षसम्मका बालिकाहरूमा हुने गरेका कारण स्कुल स्कुलमा प्रहरी कार्यक्रममा जोड दिएको महतोले बताए। ०७३ सालदेखि हालसम्मको तथ्याङ्कलाई हेर्दा १० वर्षसम्म १५ प्रतिशत, ११–१८ वर्षसम्म ४९ प्रतिशत, १९–६० वर्षसम्म ३३ प्रतिशत र ६० भन्दा माथिका ३ प्रतिशत यौनजन्य अपराधका घटना रहेको घटेको छ।  स्कुल स्कुलमा प्रहरी अभियान कार्यक्रम लैङिगक हिंसा नियन्त्रण जिल्ला संजाल धादिङको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धादिङले सञ्चालन गरेको हो। घटना न्यूनिकरणका लागि सहयात्री समाज नेपालले पनि विभिन्न सचेतनामूलक कार्यहरु गर्दै आइरहेको छ। 

प्रकाशित: २६ भाद्र २०७५ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App