१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महिला संघमा देउवा प्यानल

काठमाडौं- नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघमा सभापति शेरबहादुर देउवा प्यानलै विजयी भएको छ। पार्टी नेता रामचन्द्र पौडेल र सभापति देउवा प्यानलबीच भएको चर्काे प्रतिस्पर्धामा पौडेल पक्षधरको उपस्थिति नगण्य देखिएको छ।

पार्टीको १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवासँग निरन्तर प्रतिस्पर्धामा उत्रिए पनि पौडेल पक्षको उपस्थिति महिला संघमा पनि निकै कमजोर देखियो।

संघको तेस्रो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शुक्रबार राति सम्पन्न मतदानमा पौडेल प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार कल्याणी रिजाल मात्र सफल भइन्। अध्यक्षसहित बाँकी सबै पदाधिकारी र केन्द्रीय सदस्यमा देउवानिकट उम्मेदवार निर्वाचित भए।

देउवा प्यानलबाट अध्यक्ष उम्मेदवार बनेकी उमा रेग्मी पौडेल पक्षकी मीना पाण्डेभन्दा २ सय २ मत बढी ल्याएर निर्वाचित भइन्। त्यस्तै, महासचिव र कोषाध्यक्षमा क्रमशः धना खतिवडा र जानकी सिंह विजयी भएका छन्। महाधिवेशनबाट ५३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्, जसमध्ये खुला २२, प्रत्येक प्रदेशबाट तीन/तीन गरी २१, जनजाति, दलित, मधेसीबाट तीन/तीन तथा मुस्लिम समुदायबाट एक जना छन्।

सभापति देउवा र पौडेल प्यानलसहित १ सय २६ जना चुनावी मैदानमा उत्रेका थिए। झन्डै १० वर्षपछि भएको संघको महाधिवेशनमा देशभरिबाट २ हजार १ सय १४ प्रतिनिधिमध्ये १ हजार ८ सय १४ जना नेतृत्व चयन प्रक्रियामा सहभागी भएका थिए।

१३ औं महाधिवेशन सम्पन्न भएको एक महिनापछि भएको संसदीय दल निर्वाचनमा पौडेल सभापति देउवासँग पराजित भएका थिए। संसदीय दल कार्यसमितिमा पनि पौडेल पक्षका चार जना मात्र निर्वाचित भए। त्यसपछि भएको नेविसंघ महाधिवेशनमा पौडेलनिकट विद्यार्थी अध्यक्ष, महामन्त्रीसहित महŒवपूर्ण पदमा पराजित भएका थिए।

राणाविरोधी आन्दोलनका लागि कांग्रेसको स्थापनासँगै २००४ साउन २४ गते मंगलादेवी सिंहसहितका महिला अगुवाहरुले संघको स्थापना गरेका थिए। त्यसकै माध्यमबाट महिलालाई राणाविरोधी आन्दोलनमा समाहित गर्दै मुलुकमा प्रजातन्त्र स्थापनामा सक्रिय भएको महिला संघको २०५८ मा विराटनगरमा पहिलो र २०६४ मा काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो।

तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै पार्टी केन्द्रीय समितिले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघसहितका छ भ्रातृ संगठन विघटन गरेर तदर्थ समिति गठन गरेको थियो। छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी छवटै भ्रातृ संगठनको महाधिवेशन आयोजक समिति गठनसँगै डिला संग्रौला नेतृत्वमा महिला संघको पनि तदर्थ समिति गठन भएको थियो।

समिति गठन भएको पाँच वर्षपछि मात्र महाधिवेशन भएको हो।

तदर्थ समिति नेतृत्वमा रहेका ६ मध्ये महिला संघसहित दुई संगठनको मात्र अहिलेसम्म महाधिवेशन भएको छ। अर्को भ्रातृ संगठन तरुण दलको महाधिवेशन विवादका कारण फेरि कात्तिकका लागि सरेको छ। विवादका कारण २० जिल्ला अधिवेशन बाँकी रहेपछि महाधिवेशन गराउन पार्टीले गठन गरेको निर्देशक समितिले कात्तिक २७–२९ मा गर्ने गरी सारेको हो। 

को हुन् रेग्मी

कांग्रेस पूर्वकेन्द्रीय सदस्य रेग्मी पहिलो संविधानसभा सदस्य थिइन्। गोरखाको केराबारी गाविसमा जन्मेकी रेग्मी २०२५ सालमा पार्टी संस्थापक नेता बिपी कोइरालाबाट प्रभावित भएर नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा सक्रिय भइन्।

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र नेपाल महिला संघको निर्वाचित प्रथम अध्यक्ष बनेकी रेग्मी शिक्षाशास्त्रमा स्नातकोत्तर उत्तीर्ण छिन्। २०४८ सालमा पर्वत २ बाट प्रतिनिधिसभामा निर्वाचित रेग्मी २०५१ मा पराजित भइन्।

प्रकाशित: २ आश्विन २०७३ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App