१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सवारीसाधन आयात कम गर्न अर्थमन्त्री खतिवडाको आग्रह

तस्बिरः सुजन श्रेष्ठ

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले सवारीसाधनको आयातलाई कम गराउँदै लैजान व्यवसायीलाई सुझाव दिएका छन्। राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शाे २०१८ को उद्घाटन गर्दै खतिवडाले सर्वसाधारणलाई पनि ऋण लिएर सवारी साधन खरिद नगर्न आग्रह गरेका थिए।

तयारी सवारी साधनको आयातमा जोड दिँदा राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालमा नकारात्मक असर पर्ने भन्दै त्यस्को विकल्पमा सवारीसाधनको एसेम्बल्ड उद्योग स्थापनामा अग्रसर हुन अटो व्यवसायीलाई आग्रह गरेका हुन्। 
खतिवडाले एसेम्बल्ड उद्योग खोल्न चाहे लगानीकर्तालाई आवश्यक सहुलियत दिन सरकार तयार रहेको प्रतिवद्दता जनाएका थिए।‘एसेम्बल्ड गरेर गाडी बनाउँदा राज्यभित्र रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र पनि दिगो हुन्छ,’ उनले भने, ‘सरकारले त्यस क्षेत्रलाई प्रोत्साहित गरेको छ।’

किस्ताबन्दीमा सवारीसाधन किन्ने प्रचलनले पनि व्यक्ति र मुलुकको अर्थतन्त्र दुबैलाई हित नगर्ने भनाई अर्थमन्त्री खतिवडाको थियो। ‘ऋण लिएर गाडी चढनु राम्रो होइन यसले व्यक्ति र देश कसैलाई पनि फाइदा गर्दैन,’ उनले भने, ‘नगदै तिर्न सक्ने क्षमता बनाएपछि मात्रै गाडी चढ्नुस।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रका समस्या र भावना बुझनेतिर सरकार नलागेको भन्दै सरकारको आलोचना गरेकी थिईन्।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले पनि सरकारले अटोमोबाइल्स क्षेत्रलाई सम्मानित दृष्टिकोणले नहेरेको आरोप लगाए। ‘याे क्षेत्रले वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँछ,’ उनले भने,‘अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको अटो क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ।’ छ दिनसम्म चल्ने नाडा अटो सोमा १ सय ३४ स्टल राखिएका छन्। मेलाको करिब ६० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।  

 

प्रकाशित: २६ भाद्र २०७५ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App