१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

युटुब हेरेर प्याराग्लाईड

युटुबको सहायताले बनेको प्याराग्लाईड जुम्ली आकाशमा उडाईदै ।    तस्बिरः डिबी/नागरिक

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका ५ का टक्क बहादुर नेपाली १ वर्षअघि गाउँमै रहेको दुर्गा मावि लाम्रामा वाईफाई चलाउदै थिए। उनी वाईफाईको माध्यमबाट विभिन्न प्रकारको प्राविधिक ज्ञान लिन उत्सुक थिए। एक दिन स्कुलको इन्टरनेट प्रयोग गरिरहेको बेला गाउँले शिवशंकर चौलागाईसँग भेट भयो।

शिवले टक्कबहादुरलाई प्राविधिक शिक्षामा दख्खल राख्ने भएकोले युटुवको जतिसक्दो बढि साहरा लिन सुझाव दिए। युटुब खोलेर उनले प्याराग्लाईड बनाउने र उडाउने तरिका बारेमा ध्यान किन्द्रित गराए।  त्यसपछि युटुब टक्क बहादुरको पाठशाला बन्यो। दैनिक ८–९ घण्टा इन्टरनेटमै झुम्मिन थाले, तर नेट स्लो चल्न थालेपछि चित्र त हेर्न सके तर भेउ पाउन सकेन्न। 

युटुब हेर्नकै लागि नेपालगन्जसम्म पुगेको टक्कबहादुर बताउँछन। नेपालगन्जमा इन्टरनेटको पहुँच राम्रो भएकोले प्याराग्लाईडका बारेमा सबै जानकारी हासिल गर्न सफल भए। उनले भने,‘त्यसपछि प्याराग्लाईडिङ निर्माण गरेर जुम्ली आकाशमा उडाउने अठोट बोके, सामान खरिदको प्रक्रियालाई अघि बढाए। 

पहिलो चरणमा प्याराग्लाईड कसरी बनाउने, सामान कहाँ पाउछ र खरिद प्रक्रियाका बारेमा घोत्लिएर हेर्न थालेका टक्कबहादुर अर्काले बनाएका प्याराग्लाईड हेरेर देखासिकी गर्न थाले। उनले भने,‘ युटुबले जुम्लीको गरिब छोरोलाई प्याराग्लाईड उडाउने सम्मको भरोसा दियो।’ युटुव भित्र संसार अटेकोले आफूले निर्माण गर्न चाहेको सबै बस्तुको इतिहास सहजै रुपमा हेर्न सकिनेमा जोड दिए। युटुब हेर्दा कुनै विश्वविद्यालयमा प्रत्यक्ष रुपमा सिकिरहेको, सहजकर्ता आएर कम्पनीमै सहजीकरण गरिरहेको जस्तो हुन थाल्यो। उनले भने,‘युटुब हेर्दा कसैले साचिक्कै प्रत्यक्ष रुपमा पाइरहेको छ, म सिकिरहेको छु जस्तै लाग्न थाल्यो।’

युटुब हेरेर टक्कबहादुरले प्याराग्लाईडिङ निर्माणमा चाहिने आवश्यक उपकरण, लाग्ने खर्च सबै पत्ता लगाए। नेपालगन्जको झण्डै एक साताको बसाइपछि जुम्ला फर्केर रकम जम्मा गर्न थाले। पहिलो पटक काठमाडौ गएर सामान खरिद गरेर ल्याए। जीवनको सोच पुरा गरिदिने युटुबलाई धेरै भन्दा धेरै प्रयोग गर्न थाले। अपुग सामान खरिद गरेर पठाउँन पनि इन्टरनेटको प्रयोग गर्न थाले। अहिले उनी हरेक नयाँ बस्तु बारे जान्न भरपुर युटुबको प्रयोग गर्छन।      

एसएलसीसम्म आफ्नो नजिकैको सरकारी विद्यालयमा पढेका टक्क बहादुरको आइएससी एजी पढ्ने ठूलो धोको थियो तर गरिबीले उनलाई प्राविधिक शिक्षा लिन बाट रोक्यो। उनी शिक्षा संकायमा जुम्ला बहुमुखी क्याम्पसमा पढ्न थाले। तर शिक्षा संकाय पढ्दा मेरो जीवनमा कुनै पनि काम लागेन। बीचमा पढाई छाडेर प्राविधिक क्षेत्रमा चासो लिन थाले। उनले भने, ‘चौध वर्षदेखि नै टेक्नोलोजीको क्षेत्रमा रुची थियो, केहि नयाँ वस्तु देखेपछि सबै अवस्था विश्लेषण गर्ने र घरमा पुगेर अभ्यस्त भइहाल्ने गर्थे। १५ वर्षअघि खेलौनाको रुपमा हवाइजहाज र  र हेलिकप्टर बनाएर पदर्शन गरेको थिए। जिल्ला शिक्षा कर्यालय जुम्लाले गर्ने विज्ञान प्रदर्शनीमा उनी प्रथम हुन्थे।  

दिमाग लगाउन सके इन्टरनेट मार्फत हेरेर पनि प्रविधिक ज्ञान हासिल गर्न सकिदो रहेछ, उनले भने, यहाँ इन्जीनियर पाइलट पढ्नको लागि लाखौ रकम खर्च गर्छन, मैले इन्टरनेटबाटै एरोनेटिक इन्जीनियर र पाइलट सम्बन्धी अध्ययन गरेर प्याराग्लाईडिङ बनाएर सफल परिक्षण उडान गर्न सकेकोमा भाग्यमानी ठानेको छु।  यहि सिप सिक्नको लागि धनी मानीले छोराछोरी विदेशमा पढाउँछन। तर मैले लगानीवि नै यति धेरै काम गर्न सकेकोमा गर्व गर्छु। उनले भने, प्यारागलाईडिङका लागि झण्डै ५ लाख भन्दा बढि व्यक्तिगत खर्च लागेको छ।

कर्णाली क्षेत्रलाई चिनाउने आधार भनेकै पर्यटन हो, सरकारको लगानी प्रर्याप्त चाहिन्छ। तरपनि प्यारागलाईडिङ उडानका लागि अनुमती दिने कानुन नेपालमा नभएकै कारण आफु लगायत सयौ युवाका प्रतिभाले अवसर नपाएको उनले गुनासो गरे। जुम्लामा प्यारागलाईडिङको व्यसायीक उडानका लागि नयाँ प्यारागलाईड निमार्णका लागि आवश्यक खर्च जुटाउन स्थानीय सरकारसँग ऋण माग्ने उनीहरूको योजना छ। 

जुम्ला कै युवाले उडाए 
टक्क बहादुरले प्याराग्लाईड बनाइरहेको बेला तिला गाउँपालिका ४ का गोकर्ण शाहीले देखे। हतपत उनले सोधे,पाईट कहाँबाट ल्याउनुहुन्छ ? मैले जवाफ दिए, ‘मेरो पोखराका प्यारा पाइलटसँग कुरा भइसकेको छ।’ भारतको मनालीमा पाइलट गरेका युवा गाउँमै  भएको भन्दै पाइलटका लागि दुख नगर्न सुझाव दिए। तिला ४ सापल्ली गाउँका लोकेश शाही र पदम शाहीसँग चिनजान गराइदिए।   हामी नियमित सम्पर्कमा रह्यौ, टक्कबहादुरले भने,‘तिन चार महिना अघि नै भेटघाट भएर परिक्षणका लागि कुरा भइसकेको थियो, दुबै जना जोखिम मोलेर भएपनि जुम्ली भुमिमा प्याराग्लाईडिङ उडाउन राजी भइसकेका थिए। 

तर मौसम प्रतिकुलताका कारण गत शुक्रबार भएको परिक्षण उडानमा पाइलटले पहिलो फ्लाइट गर्न मानेका थिएनन्, हेर्न आएका स्थानीयले छिटो उडाउन आग्रह गरेपछि ज्यान जोखिमा हालेर पहिलो फ्लाइट गरयौँ।  म पनि साथमा चढेँ।नेट इन्टरनेटका माध्यमबाट नयाँ अनुसन्धानको खोजी गर्न कर्णाली एयर डाईनामिक रिसर्च क्लब एण्ड एडभेन्चर गु्रप गठन गरेका छन्। नेपालकै सर्वसुलभ, सस्तो एडभान्स सेफ्टी ग्लाइएडर उत्पादन गर्ने र व्यवसायीक रुपमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षीत गर्ने लक्ष्य छ।  
 

प्रकाशित: २६ भाद्र २०७५ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App