१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहकारी अवलोकन गर्न श्रीलंकाली टोली नेपालमा

राष्ट्रिय सहकारी विकास बोर्डका अधिकारीसँग अनुभव आदानप्रदानपछि सामूहिक तस्बिर खिचाउँदै श्रीलंकाली टोली। तस्बिर : नागरिक

काठमाडौं – यहाँका सहकारीले सञ्चालन गरेका कार्यक्रम र समग्र सहकारी अभियानबारे जानकारी लिन श्रीलंकाका सहकारीकर्मीको टोली नेपाल आएको छ । टोलीले सोमबार राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अधिकारीसँग अन्तरक्रिया गरेको छ।

श्रीलंका र नेपालको सहकारी अभियानको अनुभव आदानप्रदान फलदायी भएको बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले बताए । ‘श्रीलंकाली टोलीलाई नेपालको सहकारी क्षेत्रमा भएका नीतिगत परिवर्तनबारे जानकारी गरायौं,’ पौडेलले भने, ‘श्रीलंकाको सहकारी मोडलबारे पनि सिक्ने मौका मिल्यो।’

कार्यक्रममा बोर्डका बरिष्ठ सहायक बुद्ध श्रेष्ठले बोर्डले सञ्चालन गरेका गतिविधि र नेपालको सहकारी अभियानमा गरेका नीतिगत पहलबारे जानकारी गराएका थिए । श्रीलंकाको टोलीले पनि त्यहाँको अवस्थाबारे प्रस्तुती गरेका थिए । २२ सदस्यीय श्रीलंकाली सहकारीकर्मीको टोली नेपाल भ्रमणमा छ।

महासंघका अधिकारीसँगको छलफलमा श्रीलंकाली टोलीको नेतृत्व गरेका डिएल सामाराले सहकारी अभियान स्वायत्त रुपमा सञ्चालन गरी संविधानमा समेत तीनखम्बे अर्थनीतिमा समावेश गर्न सक्नु सकारात्मक भएको बताए । ‘यहाँको अवोलकनले श्रीलंकाको अभियानमा सहयोग पुग्छ,’ उनले भने । उनले श्रीलंकाको सहकारी अभियानबारे जानकारी गराएका थिए।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाल–श्रीलंकाबीचको सम्बन्ध पूरानो भएको बताउँदै अनुभव आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले भ्रमणबाट दुई देशको सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे।

श्रीलंकाको पब्लिक सर्भिस सहकारी संस्थाकी सारासीले श्रीलंकामा उपभोक्ता सहकारीहरुको मुलुकभर सात हजार आठ सय ६५ रिटेल पसल रहेको बताइन् । श्रीलंकामा हालसम्म १५ हजार सहकारी दर्ता भएको जानकारी गराएका थिए । सो टोलीले शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था न्युरोड, कोलिया सहकारी संस्था बुटवल, लालिगुरास बहुउद्देश्यीय सहकारी चितवनद्वारा सञ्चालित डेरी फार्म एन्ड रिसर्च सेन्टर, कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको अवलोकन गर्नेछन् । टोलीले लुम्बिनीको पनि भ्रमण गर्नेछन् । महासंघ र श्रीलंकाको उपभोक्ता सहकारी महासंघबीच सन् २००८ देखि दुई देशका सहकारीकर्मीबीच अनुभव आदानप्रदान गर्दै आएका छन्।

प्रकाशित: २६ भाद्र २०७५ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App