१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला भलिबल सुरु

लामाचौरमा भएको भलिबलमा एपिएफ (नीलो) की सरस्वती चौधरी स्पाइक गर्दै ।    तस्बिरः उमेश पुन/नागरिक

पोखरा – पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।

लामाचौरमा रहेको इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा भएको उद्घाटन खेलमा न्यु डायमन्डले पोखराको टप्स माविलाई २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउँदै जित निकाल्यो । न्यु डायमन्ड गत वर्षको उपविजेतासमेत हो। 

डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफले चितवन टाइगरलाई २५–२१, २५–१८ र २५–१४ को सोझो सेटमा पन्छाउँदै आफ्नो उपस्थितिलाई प्रस्ट्यायो । पानी परेपछि लिग चरणका अन्य खेल भने स्थगित गरिएको छ । न्यु डायमन्ड र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच खेल भइरहँदा पानी परेपछि स्थगित गरिएको खेलकुद संयोजक सुशीलकुमार श्रेष्ठले बताए। 

महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले मेला र महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनुले महिलाहरूको प्रतिभा प्रस्फुटन हुने जिकिर गरिन्।

प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ ।  प्रतियोगितामा विजेता टिमले एक लाख रुपैयाँ र दोस्रो हुनेले ६५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । नेपाल पुलिस र जाउखाखेल भलिबल प्रशिक्षण केन्द्र प्राविधिक कारणवश प्रतियोगितामा सहभागी हुन सकेनन्। 

यस्तै अन्तरमावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको टप्स माविले जितेको छ । सोमबार भएको फाइनलमा टप्सले करुणानिधि फाउन्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे।

प्रकाशित: २६ भाद्र २०७५ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App