१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपाले संविधान दिवसको विरोध गर्ने

काठमाडौं - सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान जारी भएको तेस्रो संविधान दिवस असोज ३ लाई कसरी लिने भन्ने निर्णय गर्न सकेको छैन। सोमबार बसेको राजपा अध्यक्षमण्डलको बैठकमा असोज ३ लाई कालो दिवसका रूपमा मनाउने कि विरोध मात्र जनाउने भन्ने विषयमा छलफल भएको थियो। तर यस विषयमा सोमबारको बैठकमा कुनै निर्णय नगरी मंगलबार पुनः बैठक बस्नेगरी बैठक टुंगिएको थियो। असोज ३ लाई कसरी मनाउने भन्ने विषयमा मंगलबार बस्ने अध्यक्षमण्डलको बैठकले निर्णय गर्ने राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए। उनले भने, ‘असोज ४ लाई कालो दिवस मनाउँदै आएको छौं।

यस वर्ष कालो दिवस मनाउने कि विरोध गर्ने भन्ने विषयमा मंगलबार बस्ने बैठकले निर्णय गर्छ।’ तर राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले यस वर्ष पनि राजपाले असोज ३ लाई कालो दिवस मनाउने बताए। उनले भने, ‘संविधान संशोधन नभएसम्म असोज ३लाई हामीले कालो दिवस मनाउँछौं।’ राजपाका महासचिव केशव झाले पनि यस वर्ष असोज ३ लाई कालो दिवस मनाउँने विषयमा पार्टी निष्कर्षमा पुगेको बताउँदै भने, ‘हामीले राख्दै आएको संविधान संशोधनको माग सुनवाइ नभएकोले यस वर्ष पनि कालो दिवस मनाउने हाम्रो निर्णयमा कुनै परिवर्तन भएको छैन।’

स्रोतका अनुसार राजपाका अध्यक्षमण्डलका सदस्यमध्ये संयोजक महन्थ ठाकुर र शरतसिंह भण्डारी वर्तमान संविधानअनुसार नै आफूहरू प्रतिनिधिसभामा आएको र एक किसिमबाट संविधान स्वीकार गरिसकेको अबस्थामा यस वर्ष असोज ३ मा कालो दिवस भनेर मनाउन उपयुक्त नहुने सुझाव दिएका छन्। राजकिशोर यादव भने कालो दिवस मनाउने परम्परा यस वर्ष पनि कायम राख्नुपर्ने बताए। महतोले भने, ‘विरोध त हामीले गर्छौं तर कालो दिवस मनाउने कि विरोधका कार्यक्रम गर्ने विषयमा मंगलबार निर्णय हुन्छ।’ राजपा अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र यादवले भने असोज ३ लाई कालो दिवसका रूपमा यस वर्ष पनि राजपाले विरोध प्रदर्शन गर्ने बताए। उनले भने, ‘तर हामीले शान्तिपूर्ण तरिकबाट असोज ४ मा विरोध प्रदर्शन गछौं।’

केही दिन संविधान दिवस मनाउने विषयमा तयारी गर्न गृह मन्त्रालयले बोलएको छलफल राजपाका नेताहरूले बहिस्कार गरेका थिए। सो बैठकमा अन्य राष्ट्रिय पार्टीका प्रतिनिधि भने सहभागी थिए। राजपाका अध्यक्षमण्डलका ६ जना सदस्य नै गत प्रतिनिधिसभामाको निर्वाचनमा विजयी भएका छन्। यसैगरी प्रदेशसभा निर्वाचनमा पनि भाग लिई हाल राजपा प्रदेश २ को सरकारमा सहभागी भइसकेको छ।

राजपाले वर्तमान सरकारलाई समर्थन पनि दिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने कि समर्थन जारी राख्ने विषयमा राजपाका नेताहरूले फरकफरक धारणा राखे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा औपचारिक रूपमा केही बोलेका छैनन्। स्रोतका अनुसार आगामी वैशाखमा हुने भनिएको राजपाको महाधिवेशनसम्म राजपाका नेताहरू सरकारलाई दिएको समर्थन फिर्ता नलिने सोचमा छन्। राजपा एक नेताले भने, ‘सरकालाई दिएको समर्थन फिर्ता लिने कि नलिने विषयमा पटकपटक छलफल हुनेगर्छ । तर समर्थन फिर्ता लिने औपचारिक निर्णय भने तत्काल हुने सम्भावना छैन।’

राजपाका एक पदाधिकारी भने समर्थन जारी राख्ने कि आन्दोलनमा जाने भन्ने विषयमा राजपाको नेतृत्वको दोहारो भूमिका देखिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि पोखे। उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि डराउने, उता, संविधानको विरोधमा कालो दिवस पनि मनाउने? यो नेतृत्वको दोहारो भूमिका भयो।’

प्रकाशित: २६ भाद्र २०७५ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App