१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा ‘चौतारो’को खोजी

दोलखा - दोलखा कांग्रेसको जिल्ला सम्मेलन आइतबार सकिएको छ। जिल्ला, क्षेत्रसहित गाउँदेखि वडा एकाइसम्मका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीको सहभागिता रहेको संसदीय निर्वाचनपछिको सबैभन्दा ठूलो कार्यक्रम जिल्ला सम्मेलनलाई दोलखा कांग्रेसले यसपटक कार्यकर्ताका भावना सुन्नेगरी फरक शैलीमा सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रायः नेताका पट्यारलाग्दा भाषण सुनेर फर्किने कांग्रेस कार्यकर्तालाई यसपटक आफ्ना भावना नेतालाई पोख्ने र आगामी सांगठनिक योजनाका लागि प्रशिक्षण लिएर फर्कने कार्यक्रम बनाइयो। सम्मेलन उद्घाटनको दिन शुक्रबार जिल्ला नेता बर्मा लामाले एउटा दुखेसो पोखे, ‘अहिले त कार्यकर्तालाई अप्ठेरो पर्दा शरण माग्न जाने त परै जाओस्, राजधानी बस्ने कार्यकर्ताले छलफल गर्ने एउटा साझा चौतारोसमेत पाएनौं।

लामाको यो अभिव्यक्ति स्वर्गीय नेता भीमबहादुर तामाङको देहवासानपछि दोलखा कांग्रेसले अभिभावकत्व गुमाएकोतर्फ लक्षित थियो। तामाङको निधन भएको ८ वर्ष बितिसकेको छ। उनीपछि जिल्लामा जिपछिरिङ लामा, देवी न्यौपाने, उद्धवराज काफ्ले, माधवमणि राजभण्डारी, तारा कोइराला र हालका पार्टी सभापति रुद्रबहादुर खड्का छन्। उनीहरूपछि बर्मा लामा, केशवराज चौलागाई र ईश्वर मानन्धरकै पुस्ता छ । युवा पुस्तासमेत उत्तिकै सशक्त छ। तर के दोलखामा कांग्रेसले तामाङको जस्तै अभिभावकीय भूमिका निभाउन सक्ने नेता नपाएकै हो त?

युवा नेता लामाका अनुसार भीमबहादुर तामाङ जिल्लाका हरेक कार्यकर्ताका लागि बोलिदिने सबैका अभिभावक थिए। ‘काठमाडाैंको बानेश्वर थापा गाउँमा राधेश्याम अधिकारीको घरमा एउटा चौतारो थियो, जहाँ भीमबहादुर तामाङलाई भेट्न मात्र नभई दुखःसुख साट्न गइन्थ्यो,’ सम्मेलनमा नेता लामाले भावुक हुँदै भने, ‘भीमबहादुर दाइसँग केही विषयमा मन फाट्दा वा चित्त नबुझ्दा पनि त्यही चौतारोमा बसेर अरु कार्यकर्तासँग बसेर फर्किन्थ्यौं।’ उनले तामाङको देहवासान पछि त्यस्तो अनुभूति दिलाउने ठाउँ नपाएको भन्दै दुःखेसो पोखे।

८ वर्षमा पनि तामाङको अभिभावकत्व परिपूर्ति गर्न दोलखा कांग्रेसमा किन कोही निस्किएन् त? ‘कोइराला परिवारसँग नजिक भए पनि भीमबहादुर दाइ कहिल्यै पनि जिल्लाका कार्यकर्ताको संरक्षण वा काम गर्ने कुरामा यो मेरो र त्यो अर्काको भन्नुहुन्नथ्यो,’ नेता लामाले नागरिकसँग भने, ‘तर आजकाल कार्यकर्तालाई केही काम वा अफ्ठेरो परे भन्ने ठाउँनै छैन, भएका नेता सबै गुटगतरूपमा विभाजित छन’।

तामाङपछि केन्द्रस्तरका नेतासँगको सहज पहुँचले उदाएका नेता जिपछिरिङ लामाले समेत कार्यकर्तालाई आश्वास्त तुल्याउन सकेनन् । पार्टीका पूर्व केन्द्रिय सदस्य लामा हाल प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसद छन्। कार्यकर्ताका अनुसार गत पार्टी जिल्ला अधिवेशनमा खुलम खुला देउवा निकट उम्मेदवार अघि सारेर गुटगत राजनीति गरेको, २०७० को प्रत्यक्ष चुनावमा पराजय भोगेपछि जिल्ला पार्टीका नेता कार्यकर्तासँग लामो समय टाढिएको, यो संघीय संसद्मा समानुपातिक सांसद भएपछि जिल्लाका कार्यक्रममा वेवास्ता गरेको, कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्न नखोज्ने र सीमित व्यक्तिको रिपोर्टिङका आधारमा निर्णय लिने जस्ता कार्यशैलीबाट लामाप्रति कार्यकर्तामा असन्तोष बढ्दो छ।

उनले जिल्लाका सार्वजनिक र ठूला कार्यक्रमलाई समय नदिँदा कतिपय सभा समारोह कम्युनिस्टमय हुने गरेको दुःखेसो कार्यकर्तामा छ । ‘कम्युनिस्टका ८ जना सांसद रहेको जिल्लामा जम्मा उनी एकजना हाम्रा छन्,’ पार्टीका एक जिल्ला समिति सदस्यले भने, ‘जिल्ला तहका ठूलाठूला सार्वजनिक समारोहमा बोलाउँदासमेत नआइदिएका कारण यहाँका प्रायः सभा कम्युनिस्टमय हुने गर्छ । हत्तपत्त जिल्ला आउँदैनन्,’ उनले भने, ‘आइहाले पनि लर्को लागेर आफ्ना पछि हिड्न जर्बजस्ती दबाब दिन्छन् ।’ गत जिल्ला अधिवेशनमा सभापतिको प्रत्यासी बनेका एक जिल्ला नेताका अनुसार दुई महिनाअघि जिल्ला आउँदा आफूसँग गृहनगर जिरी नगएको भन्दै लामाले केही कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका थिए।

लामा पछि पूर्व सभापति न्यौपाने र काफ्ले समेत राजनितिमा सक्रिय छन्। निष्ठावान रहेपनि पञ्चायत देखी नै सक्रिय दुवै नेता आर्थिक र बाहुवलको प्रभाव बढेका कारण पहुँच र शक्तीमा छैनन्। अर्का पूर्व सभापति राजभण्डारी लामो समयदेखि बिरामी छन्। ४ पटक जिल्ला पार्टीको नेतृत्व गरिसकेका निवर्तमान सभापति कोइराला कार्यकर्ताको संरक्षण गर्ने नेता भनेर चिनिए पनि बिद्रोही स्वभाव र पार्टीलाई संस्थागत रूपमा चलाउन नसकेको भन्दै आलोचित हुने गर्छन्।

तीन दिनसम्म चलेको जिल्ला सम्मेलनमा कार्यकर्ताले भीमबहादुर तामाङको अभाव खड्किएको महसुस मात्र गरेनन, संगठन बिग्रँदै गएको भन्दै नेतृत्वप्रति आक्रोशसमेत पोखे। ‘निर्वाचनपछि पार्टीको संगठन अझ बढी चलायमान हुनुपर्नेमा स्थिर बनेर गएको छ,’ ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामजीप्रसाद चौलागाईले भने, ‘हार व्यहोरे पनि वडादेखि जिल्ला तहसम्म सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा कार्यकर्तामा निराशा बढेको देखिन्छ।’

यसअघिका जिल्ला समितिमा संस्थागत निर्णय बिरलै हुने दोलखा कांग्रेसमा वर्तमान कार्य समितिले नियमित बैठक, भेला र सम्मेलन गर्ने गरे पनि त्यसबाट हुने निर्णय कार्यान्वयन गर्न नेतृत्व तहमा पुगेकालाई जिम्मेवारी बोध नभएको ठम्याइ चौलागाईको छ। ‘जिल्ला समिति बैठकबाट राम्रा निर्णय हुन्छन्,’ उनी भन्छन्, ‘तर त्यस्ता निर्णय कार्यान्वयन गर्न जिल्ला तहको माथिल्लो बरियतामै रहेकाहरू जिल्ला समितिका पदाधिकारीलाई सघाउँदैनन्।’

चौलागाईको भनाइ निर्वाचनलगत्तै जिम्मेवारी दिएर गाउँ खटाइएका नेता नपुगेको कुराले समेत पुष्टि गर्छ । गत मंसिरको चुनावलगत्तै समीक्षा गर्न बसेको जिल्ला समिति बैठकले गाउँमा गएर सक्रिय सदस्यको बिस्तृत विवरण ल्याउन र वडा र बस्ती सम्मका कार्यकर्तालाई भेटेर उर्जाए भरेर फर्कनु भन्दै ९ ओटै स्थानीय तहमा जिल्लास्तरका शीर्ष नेतालाई एक महिनाको समय दिएर खटाउने निर्णय गरेको थियो। तिन महिना पछि पार्टीको जिल्ला समिति बैठक फेरी बस्दा समेत उक्त निर्णयमा कुनै पनि नेताले जिम्मेवारी पूरा नगरेपछि फेरि अर्को डेढ महिना म्याद थप गरियो। जिल्लास्थित एक सदस्यका अनुसार अहिलेसम्म त्यसको रिपोर्ट जिल्ला समितिका आइपुगेको छैन। स्थानीय तहको निर्वाचनमा समेत खटाइएका नेताले जिल्ला समितिको निर्णयलाई यसै गरी बर्खिलाप गरेका थिए।

सम्मेलनमा सांसद लामाले आफू जिल्लामा पार्टीभित्र साझा बनेर काम गर्ने आश्वासन दिए। सम्मेलनमा कांग्रेसको केन्द्रिय प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, प्रमोदहरि गुरागाईंलगायतले प्रशिक्षण दिएका थिए।

प्रकाशित: २६ भाद्र २०७५ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App