१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहरको पूर्वाधार पुरानो भयो’

नवीन के भट्टराई, गायक

तपाईँको बुझाईमा सहर के हो?
सहर सुविधासम्पन्न ठाउँ हो । सहरमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातलगायत मानिसको आवश्यकसँग जोडिएका हरेक पक्ष सहज हुन्छन् । जनसंख्या धेरै भए पनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुद हुन्छ । सहरको सरकार पनि त्यतिकै चुस्त हुन्छ।

हाम्रा सहरमा यी सुविधा पाइन्छन्?
हाम्रा सहर निकै अव्यवस्थित भएका छन् । पहिलेदेखि नै यहाँ विकासका काममा ठूलो गल्ती भएको छ । सहरीकरण निकै अव्यवस्थित भयो । जसले गर्दा आज सहरमा बस्नेलाई दिक्दारी भएको छ । सहरदेखि सबै हैरान भएका छन्।

सहर किन अव्यवस्थित भए?
हामीकहाँ पुरानो शैलीको पूर्वाधार विकास भयो । अहिले पनि पूर्वाधार निर्माणका काम गर्दा सहरको मौलिकता र ऐतिहासिक पक्षलाई हेरिएके छैन । राज्यले सहरलाई उचित किसिमबाट विकास गर्न नसक्दा सहर अव्यवस्थित भएको हो।

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ?
म करिब २४ देशका सहर घुमेको छु । अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, थाइल्याण्डलगायत देशका सहर पुगेको छु।

‘हामीकहाँ पुरानो शैलीको पूर्वाधार विकास भयो । अहिले पनि पूर्वाधार निर्माणका काम गर्दा सहरको मौलिकता र ऐतिहासिक पक्षलाई हेरिएकै छैन।’

कस्ता रहेछन् त्यहाँका सहर?
त्यहाँ सहर निकै व्यवस्थित, सुरक्षित र सफा छन् । ३०–४० घरको बीचमा पार्क , छन् । हामीले देख्दै नदेखेका कुरा विदेशी सहरमा सजाएर राखिएको छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो?
सबै देशका सबै सहरको आ–आफ्नै महत्व छ । हरेक देशका भित्री सहरहरू उत्तिकै रमणीय छन्, चारैतिर सफा छ । सहरमा देखिने हरेक कुरा नयाँ लाग्छन्।

नेपालभित्र मनपरेको सहर?
मलाई काठमाडौं नै प्यारो लाग्छ । मेरा जन्म पनि यही भएको हो । मैले काठमाडौंलाई सानैदेखि बुझ्ने मौका पाएँ । मेरो करिअर पनि काठमाडौंबाट सुरु भएको हो । तर, पछिल्लो समय यो सहर अस्तव्यस्त बनेको छ । सरकारकै गैर–जिम्मेवारीका कारण काठमाडौं फोहर बनेको हो । धराप सडक, पार्किङ सुविधा, बिजुलीका तार, ट्राफिक जामलगायत विषयमा सहरवासीका मुख्य समस्या हुन् जस्तो लाग्छ।

उपत्यका बाहिर मनपर्ने सहर?
अहिलेसम्मको अवस्था हेर्दा पोखरा निकै सफा छ । पोखरालाई नेपालीमात्रै नभएर विदेशीले पनि मन पराउँछन् । यो सहरमा छुट्टै दृश्य र मनोरञ्जन लिन पाइन्छ । प्राकृतिक सुन्दरता, फेवाताल, प्याराग्याइडिङ, गुफा पोखराका मुख्य आर्कषण हुन् । यी चिजले धेरैलाई पोखरामा तानेको छ । पोखरामा घुम्ने र आनन्द लिने पर्याप्त ठाउँहरू छन् । त्यस्तै, धरान, झापा, इटहरी, विराटनगर, नारायणघाट पनि मलाई मनपर्छ।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
सहर सुविधायुक्त हुनुपर्छ । हरियाली पार्क, प्रदूषणमुक्त, सेवासुविधायुक्त ठाउँ नै सहर हो । पनि पनि त्यस्तै वातावरण भएको सहरको कल्पना गर्छु।

हाम्रा सहर किन अस्तव्यस्त बनेको होलान्?
हाम्रो पूर्वाधार निकै पुरानो भयो । नयाँ संरचना बनाउँदा पनि सहरको मौलिकता र जीवित पक्षलाई हेरिएन । अर्को कुरा, सहरमा बस्ने हामी सबैको बेवास्ताले सहर बिग्रिएको हो । यदि नागरिकले पनि आफ्नो दायित्व नबिर्सिएको भए सहर यति अव्यवस्थित हु्ने थिएन।

विदेशका सहर घुम्दा कस्ता सुविधाहरू देख्नुभयो?
सपिङ सेन्दर, ठुल्ठूला हरियाली पार्क, व्यववस्थित सार्वजनिक यातायात, सबैतिर सफा–सुग्घर, मौलिक शैलीको संरचना निर्माण लगायत पक्ष मलाई मनप-यो । त्यहाँका सहरमा हरेक सुविधा छन् । अधिकांश सहर आधुनिक सहरको अवधारणा अनुरूप विकास भएका छन्।

हाम्रा सहर विदेशका सहर जस्तै बन्न सक्लान् त?
अरु सहरलाई बनाउन खोजियो भने हो । तर, काठमाडौं अब नयाँ सहर बनाउँछु भनेर हुँदैन । अहिले भइरहेकोलाई नै व्यवस्थित पार्ने हो । उपत्यका बाहिरका सहरमा नयाँ अवधारणाबाट सहर विकास गर्छु भनेर लागिपर्ने हो भने त्यो सम्भव छ । उपत्यकाको मुहार फेर्न अन्डरग्राउन्ड पार्किङ सुविधा ल्याउने हो भने राम्रो होला जस्तो लाग्छ । अहिलेको स्थितिमा पनि खानेपानी, फराकिला सडक, बिजुली, यातायातलगायत क्षेत्रमा हामीले धेरै दुःख पाएका छौं।

सरकारले कसरी काम गर्दा सहर व्यवस्थित होला?
यहाँको सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठ्ने गरी नियम बनाउने, सरकारी सेवा सुविधालाई चुस्त बनाउने, देशभित्र भएका सम्भावनाको अध्ययन गर्नेलगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने हाम्रा सहर पनि व्यवस्थित नै बन्छन्।

उपत्यकालाई सुधार्न के गर्नुपर्ला?
सडक निर्माण, पार्किङ तथा बिजुलीका तार व्यवस्थापन, ट्राफिक जामलगायत विषय नै उपत्यकाका मुख्य समस्या हुन् । यी समस्यालाई नीति निर्माण तहमा बस्नेले केन्द्रमा राखेर काम गर्नुपर्छ ।

उपत्यकाको मन पर्ने पक्ष के हो?
सटरैपिच्छे फरक–फरक सामान भएको पसल देख्न पाइन्छ । सहरको स्वाद पनि भिन्न छ । यहाँको मौसम र ऐतिहासिक मठ–मन्दिर, पाटी पौवा ज्यादै मनपर्छ । मठ–मन्दिर हाम्रा मुख्य सम्पत्ति पनि हुन् ।

यहाँको मननपर्ने पक्ष के हो?
फोहर, धुवाँधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङ, लगायत पक्ष मन पर्दैन । सहरमा बस्ने धेरैले यस्तै सास्ती खेप्नुपरेको छ ।

नेपाल र विदेशका सहरमा कस्तो भिन्नता पाउनुभयो?
अरु देशका देशका सहर आधुनिक तवरले विकास भइरहेका छन् । आधुनिकताको पक्षलाई हेर्दा हामी धेरै पछाडि छौं । ती सहरसँग नेपालका सहर दाज्दा धेरै भिन्नता देखिन्छ । इतिहास र मौलिकतामा, हावापानी, सम्पदा, डाँडाकाँडा, प्राकृतिक सौन्र्दता अरु देशमा भन्दा नेपालका सहर फरक छन् ।

काठमाडौंको मनपर्ने स्वाद केहो?
यहाँको मःमः नै मनपर्छ । प्राय मःमः खाने चलन छ ।

पछिल्लो समय पुगेको सहर कुन हो?
केही समयअघि अस्ट्रेलियाको सिड्नी पुगेको थिएँ।

कस्तो लाग्यो?
निकै मनमोहक लाग्यो । अस्टे«लियाका हरेक सहर सफा छन् । फरक–फरक सुविधाहरू छन् ।

मन भएर पनि पुग्न नपाएको ठाउँ?
इजिप्ट जान मन छन । त्यहाँको पिरामिडको बारेमा सबैले चर्चा गर्छन्, मलाई पनि त्यही हेर्न मन छ ।

सहरको किनमेल?
म आफू खासै किनमेल हिँड्दिनँ । धेरैजसो श्रीमतीले नै किनमेल गरिदिन्छिन्।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २५ भाद्र २०७५ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App