१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कांग्रेस गुट राजनीतिका विरोधी

नेपाली काङ्‌ग्रेसका नेता शेखर कोइराला। तस्बिर:नागरिक

राणा, शाहपछि नेपालको राजकाज र शासन व्यवस्थामा कोइराला परिवार अग्रपङ्क्तिमा आउँछ । नेपालको सामाजिक परिवेश अहिले जहाँ छ त्यो चरणलाई कोइराला परिवारले ७० वर्ष पहिला नै पार गरिसकेको छ । छोरी, बुहारीलाई पढाउने, घोडचडीमा पठाउँदा समाजमा अझै जीब्रो टोक्नेहरुको संख्या कम छैन । अर्काको श्रीमती मात्र होइन उसँग भएको बच्चालाई समेत परिवारले स्वीकार गरेर विवाह गर्ने कुरा पहिला होइन अहिले पनि नेपाली समाजले रुचाउँदैन । तर, कोइराला परिवारले आजभन्दा ६० वर्षअघि नै त्यस्ता सामाजिक जडता चिरेको  देखिन्छ।

छोरी र बुहारीबीचको विभेद नेपाली समाजमा अहिले पनि रोगकै रुपमा रहे पनि कोइराला परिवारले दुवैलाई समान व्यवहार गर्दै शिक्षाका लागि स्कुल मात्र पठाएन राजनीतिमा पनि सक्रिय गरायो । त्यो पनि राणा शासनकै समयदेखि । अनि, पौडी, घोडचढीका लागि बुहारी र छोरी दुवैलाई प्रेरित ग¥यो विराटनगरका कोइराला परिवारले ।

नेपाली समाज परिवर्तनको पर्याय बनेको त्यहीँ कोइराला परिवारका एक सदस्य हुन शेखर । राणासँग विद्रोहको अगुवाइ गर्ने कृष्णप्रसाद कोइरालाका नाति हुन् शेखर । केशव कोइरालाका छोरा शेखर पेशाले चिकित्सक हुन् । २०४६ को राजनीतिक परिर्वतनपछि उनले बिस्तारै चिकित्सा पेसालाई पाखा लगाउँदै उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे ।

पार्टीको मूल नेतृत्वमा मात्र होइन मुलुककै नेतृत्वमा पुग्ने लक्ष्यसहित पछिल्लो दशक सक्रिय शेखरको राजनीतिक यात्रा स्वाभाविक मानिए पनि राजनीतिक सिढी चढ्ने सघर्ष जारी छ ।

राजनीतिक सोच
हजुरबुबा कृष्णप्रसादले स्थापना गरेको विराटनगरको आदर्श स्कुलमा कक्षा ५ को परीक्षा दिएपछि २०१६ सालमा शेखर काठमाडौं आएका थिए । कांग्रेसका संस्थापक नेता एवं शेखरका ठूलोबुबा बीपी कोइराला प्रधानमन्त्री भएकै बेला विराटनगरबाट काठमाडौं झरे । पहिलोपटक काठमाडौं आएका शेखर त्रिपुरेश्वरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसे । उनी त्यसबेला आफ्नो गलाको अपरेसन गराउन आएका थिए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले बीपी कोइराला नेतृत्व जननिर्वाचित सरकार बर्खास्त गर्दा शेखर अस्पतालमा थिए, अपरेसन गरेपछिको तन्द्रामा । घाँटीमा समस्या देखिएपछि सानेपास्थित शान्तभवन अस्पतालमा उनले शल्यक्रिया गरेर बसेका थिए । त्यही दिन बिहान उनलाई भेट्न अस्पताल पुगेका प्रधानमन्त्रीसमेत रहेका ठूलोबुबा बीपीले राजाले जननिर्वाचित सरकारमाथि धावा बोल्दैछन् भन्ने संकेत पाइसकेका रहेछन् । ‘त्यसदिन बिहान उहाँ मलाई भेट्न आउनु भएको थियो,’ शेखर २०१७ साल पुस १ गतेको घटना स्मरण गर्दै भने, ‘मलाई कुर्न आमा (नोना कोइराला) बस्नु भएको थियो । उहाँसँग राजाले आज केही गडबढ गर्दैछन् । म तरुण दलको बैठकमा जाँदैछु भनेर बीपीले भन्नुभएको थियो ।’

त्यसको केही घण्टा बित्न नपाउँदै राजाले प्रधानमन्त्री बीपीसहित नेताहरुलाई गिरफ्तार गरे । राजाले गिरफ्तार गर्न सुरु गरेपछि छोरा शेखरलाई अस्पतालमै छाडेर उनकी आमा नोना भूमिगत भइन् । शेखरको रेखदेखका लागि बहिनी कल्पना अस्पताल पुगिन् । डाक्टरको सल्लाहमा सोही दिन उनीहरु डिस्चार्ज भएर नागपोखरी गए । उपचारमा संलग्न डाक्टर मिलेर आफैँले ट्याक्सी खोजेर, ट्याक्सीको पैसा दिएर उनीहरु नागपोखरीस्थिल आफन्तको घरमा आएको शेखर सुनाउँछन् । सुशीला र रोषा कोइरालाबाहेक सबै सदस्य गिरफ्तार परेको बताउँदै उनले भने, ‘त्यसबेलादेखि नै ममा राजनीतिमा चाख र चासो बढ्दै गएको थियो ।’

विराटनगरकै आदर्श हाइस्कुलबाट शेखरले विद्यालय शिक्षा पूरा गरे । मोरङ्ग क्याम्पसमा आइएस्सी अध्ययनका लागि भर्ना भए । उच्च शिक्षा मात्र होइन विद्यालय शिक्षा पनि कोइराला परिवारका अन्य सदस्यले देश वा नभए पनि मोरङ बाहिरबाट लिएको भए पनि शेखरले मोरङ छोडेनन् ।

आइएस्सी अध्ययनकै क्रममा त्रि–चन्द्र कलेजमा अध्ययनरत छात्रामाथि नेपाल प्रहरीका डिआइजी नारद सिंहले अभद्र व्यवहार गरेको भन्दै त्यसविरुद्ध देशभरि प्रदर्शन भयो । जसलाई नारद सिंह काण्ड भनेर अहिले पनि चर्चामा छ । त्यसक्रममा शेखरसहितका विद्यार्थीले विराटनगर स्थित मोरङ क्याम्पसमा आन्दोलन चर्काए । त्यसबेला शेखर राजनीतिको मैदानमा उत्रिए । त्यसपछि पञ्चायत कालमा एकाएक मोरङ कलेज अगाडि महेन्द्र थपेर कलेजको नाम ‘महेन्द्र मोरङ’ कलेज राखियो । त्यसबेला पनि विद्यार्थी आन्दोलनमा होमिए, त्यसमा शेखर अग्रपङ्क्तिमा थिए, उनलाई प्रहरीले गिरफ्तार ग¥यो, उनी जेल परे । ‘पञ्चायतको त्यो समयमा महेन्द्रको नाम हटाउनुपर्दछ भन्न कम गाह्रो थिएन,’ शेखर भन्छन्, ‘हामीले कलेज बन्द गरायौं, राजा महेन्द्रको नाम हटाउन नाराबाजी गरेका थियौं  । मोरङ्ग कलेज पछि शेखरको राजनीतिले बाटो लिएको हो ।

सानैदेखि  डाक्टर ?
शेखर कोइरालाको हजुरआमा दिव्यालाई छोरा केशव (शेखरको बुबा) लाई डाक्टर बनाउने ठूलो धोको थियो । तर, राजनीतिक, आर्थिक र समाजिक कारणले उनको चाहना पूरा भएन । त्यसले शेखरलाई डाक्टर पढाउने इच्छा बुबा केशव कोइरालासहित अन्य सदस्यलाई पनि थियो । सोहीअनुसार उनलाई डाक्टर पढाउने चाँजोपाँजो मिलाउन थालियो । आइएस्सीको अध्ययनपछि रस्सामा डक्टर पढ्न शेखरले स्कलरसिप पाए । त्यो पनि आंशिक होइन पूर्ण तर शेखर त्यहाँको पढाइप्रति ढुक्क हुन सकेनन् । त्यहाँ पढ्न जान उनले अस्वीकार गरे । पछि उनले भारत मेरठको एलएलआरएम कलेजमा निजी श्रोतबाट एमबीबीएस गरे । डाक्टरी पढेर आउनु पहिला नै शेखर परिवारको चाहनाका डाक्टर थिए । परिवारका सदस्यले उनको निकनेम डाक्टर राखिदिएको सुनाउँदै शेखर भन्छन्, ‘डाक्टर त पछि पढँे तर मलाई शेखर होइन सबैले डाक्टर भन्नुहुन्थ्यो सानैमा ।’

जागिर पाउनै समस्या
शेखर एमबीबीएस पास गरेर त आए तर तत्कालीन सरकारले उनलाई जागीर दिएन । जागीरका लागि उनले स्वास्थ्य मन्त्रालय (अहिलेको निर्वाचन आयोग रहेको भवन) पटक–पटक धाए । तर, पञ्चायत सरकारले उनलाई जागिर दिन आनाकानी गरी गर्यो । पञ्चायत कालको कठोर समयमा शेखरलगायतका भतिजा भतिजी पुस्ता चाबहिल स्थित घरमा बस्दथे । शेखर र सुजाताको जागिर थिएन । उनीहरूको जिम्मेवारी भने खाना बनाउने, भाँडा माझ्ने थियो ।
अन्तिममा टेकुमा रहेको सरुवा रोगसम्बन्धी अस्पताल जसलाई त्यसबेला  झाडापखाला अस्पताल भनिन्थ्यो, त्यहाँ काम पाएँ । तर दाम भने दिइएन ।  बीर अस्पतालमा काम गर्न खोजेका शेखरलाई तत्कालीन सरकारले त्यहाँ दिएन । पटक–पटक झगडा गरेपछि झाडापखाला अस्पतालमा काम पाएको सुनाउँदै उनले भने, ‘तत्कालीन झाडापखाला अस्पतालमा पठाउनु भनेको त्यसबेला सजाय दिनु जस्तो थियो ।’

तैपनि शेखर त्यहाँ जान थाले । उनलाई नौ महिनासम्म तलबै दिइएन । तत्कालीन स्वास्थ्यमन्त्री सुशीला थापासँग पैसा नदिए काम नगर्ने जानकारी दिइरहेका शेखरले एक दिन ‘भोलिदेखि आउँदिन भन्ने जनाउ दिएर काम छोडे ।’ कोइराला परिवारको सदस्य भएकैले पैसा नदिएको र वीर अस्पतालमा अवसर नदिएको शेखरको बुझाइ छ ।  
तत्कालीन प्रधानमन्त्री तुलसी गिरीसँग शेखर मात्र होइन कोइराला परिवारको राम्रै सम्बन्ध थियो । त्यसैले गिरीले शेखरलाई आफूलाई भन्न सम्झाए । शेखर पनि के कम उल्टै नोकरीका लागि डाक्टर प्रधानमन्त्री कहाँ आउने हो भनेर गिरीलाई जवाफ फर्काएको उनी बताउँछन् ।  

गिरिसँगको सवाल जवाफको समयमा स्वास्थमन्त्री फेरिएर जनकपुरका भोलानाथ झा थिए । झाले शेखरलाई आफ्नो गृहजिल्ला जनकपुर गएर काम गरे जागिर दिने कुरा गरे । ‘ झाको सर्तमा मैले अर्को सर्त राखेँ, काम गरेको ९ महिनाको तलब पाउने हो भने हुन्छ’ शेखर भन्छन्, ‘मेरो सर्त झाले पूरा गर्न सक्तैनन् भनेर यसो भनेका थिए ।’ पुरानो पैसा झाले दिलाउन नसक्ने भएपछि उनलाई वीर अस्पताल सरुवा गरियो, मासिक तलब ६५० मा ।

डाक्टरीसँगै राजनीतिक सक्रियता
२०३३ साल पुस १६ गते बीपी कोइराला विभिन्न मुद्दाहरुको प्रवाह नगरी राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किए । त्यसबेला शेखर वीर अस्पतालमा थिए । स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायले त्यसबेला कुनै पनि कर्मचारीलाई बिदा नलिन कडा निर्देशन जारी गरेको थियो । बिपीको समर्थनमा जुलुसमा सहभागी हुन नदिन प्रशासनले त्यस्तो आदेश दिएको भए पनि शेखरले मानेनन् । त्यति हुँदाहुँदै पनि डाक्टर मधु घिमिरे र शेखर बीपीको स्वागतमा पुगे । बीपीसहितका नेतालाई तत्कालीन सरकारले गिरफ्तार ग¥यो । उनीहरु अस्पताल फर्के । राजनीति र डाक्टरी पेसालाई लामो समयसम्म सँगसँगै लगेका थिए शेखरले । ‘चौबीसै घण्टा वीर अस्पतालमा आएका बिरामीको उपचारमा डाक्टरहरु तल्लीन हुन्थे,’ शेखर भन्छन्, ‘अहिले जस्तो पैसा कमाउने र बाहिर प्राक्टिस गर्ने प्रचलन नहुँदा सबै अस्पतालमै हुन्थे ।’

कोइराला नभएको भए धर्म परिवर्तन
वीर अस्पतालमा कार्यरत रहेकै बेला मिसन अस्पतालले डाक्टरको विज्ञापन ग¥यो । उनी त्यसबेला वीर अस्पतालमा अनररी गर्दै थिए ।  शेखरले  विज्ञापनअनुसार आवेदन गरे । वीर अस्पतालबाट प्राप्त हुने मासिक ६५० तुलनामा मिसन अस्पतालमा मासिक ९ हजार तलब दिने भनिएको थियो । उनलाई मिसनले लियो र शेखर जागीरका लागि पाल्पास्थित मिसन अस्पतालमा गए । किताबी ज्ञान हासिल गरे पनि व्यावहारिक अनुभव पाल्पा गएर सिकेको सुनाउँदै उनी भन्छन्, ‘एउटा विषय मात्र होइन सात महिनामा त्यहाँ ओभरअल कुरा सिके ।’ मिसन अस्पतालमै काम गर्दा फिजिसियन भएर सबै रोगको जानकार हुनुपर्दछ भन्ने भावना आएको उनी बताउँछन्। आकर्षक पैसा र सिक्ने अवसर दुवै हुँदाहुँदै पनि शेखर मिसन अस्पतालमा रम्न सकेनन् । उनले सातै महिनामा जागिर किन छाडे त?

केही समय काम गरेर पछि एमडी पढ्नका लागि विदेश पठाउने आश्वासन उनलाई दिइएको रहेछ । तर, त्यो आश्वासन पूरा हुने छाँट देखेनन् । एकपटक मिसन अस्पतालका प्रमुखसँग भेटेर उनले आफ्नो कुरा राखे । धर्म परिवर्तनका लागि घुमारो ढंगबाट प्रस्ताव आयो । क्रिश्चियन भएको भए पढ्न पठाउन सजिलो हुने धारणा बुझेपछि शेखर समस्यामा परे । एकातिर पढ्ने चाहना अर्कोतिर धर्म परिवर्तन गर्नुपर्ने सर्त । उनले रातभरि यस मामलामा सोचे र अन्तिम निर्णय लिए मिसनको जागिर छोड्ने । ‘कोइराला परिवारको सदस्य नभएको भए सायद धर्म परिवर्तन गर्थे कि,’ उनले भने, ‘धेरै सोच, विचार गरेर निर्णय गरेँ जागिर छोड्ने ।’

मिसन अस्पतालबाट राजीनामा गरेपछि शेखर फेरि वीर अस्पतालमै फर्किए । त्यहीँ कार्यरत रहेकै समयमा उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्लीमा एमडी गर्ने अवसर जुट्यो।

विवाहमा राजनीति
एमडी अध्ययनकै क्रममा उनले पुनम अर्यालसँग २०३८ सालमा विवाह गरे ।  एउटै स्कुलमा अध्ययन गरेको भए पनि विवाहको कुरा चल्नुअघि उनीहरूको भेटघाट भएको थिएन । आदर्श स्कुलमा पढाउने शुष्मा कोइरालाको मनमा भने पुनम र उनकी दिदी दुईमध्ये एकजनालाई कोइराला परिवारको बुहारी बनाउने योजना रहेछ । विराटनगरको राजनीतिक परिवारका सदस्य शेखर र विराटनगरकै प्रतिष्ठित अर्याल परिवारकी चेली पुनमबीच विवाहको कुरा भने परिवारिक सूत्रबाट तय गरियो । कुरो टुंगो लागेपछि भने उनीहरूबीच ९ महिनासम्म चिठ्ठी आदान–प्रदान भैरह्यो।

एमबीबीएसको पढाइकै क्रममा बिदामा आएका शेखर र पुनमको विवाह विराटनगरमै गर्ने तयारी थियो । त्यसैअनुसार कालिप्रसाद अर्याल छोरीको विवाहको तयारीमा जुटे । त्यहाँको कहलिएको कोइराला परिवारसँग नाता गाँस्न लागेका उनले जन्तीका लागि भोजको प्रबन्ध मिलाउन थाले । मीठाईहरू तयार हुँदै थियो, अन्तिम समयमा विवाह काठमाडौंबाट गर्ने निर्णय गरियो ।  बीपी कोइरालाले शेखरको विवाह काठमाडौंबाट गर्ने निर्णय लिए । उनको कुरालाई कोइराला परिवारले नकार्ने कुरै भएन अर्याल परिवारले पनि स्वीकार गर्‌यो। राताराता काठमाडौं आएर विवाहको तयार भयो । बिएल शर्माले बेहुलीबेहुला दुवैतर्फको क्याटरिङको जिम्मेवारी लिए।

राजा र राजनीतिक दलहरुबीचको दूरी बढ्दै गएका बेला बीपीले भतिजा शेखरको विवाहलाई राजनीतिक भेटघाट र छलफल गर्ने अवसरको रुपमा उपयोग गर्ने नीति बनाए । नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई मात्र होइन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासहितका पञ्च नेता र मन्त्रीहरुलाई आमन्त्रण गरियो । तीन हजार बढी विवाहमा सहभागी भए । बीपी कोइराला आफैँले प्रधानमन्त्री थापासहितका नेताहरु निम्ता गरेको शेखर सुनाउँछन् । कोइराला परिवारका सहयोगी वीरेन्द्र दाहालले निमन्त्रणका लागि चिठी टाइप गर्ने र बीपीले हस्ताक्षरसहितको निम्तो बाँडेको उनले बताए ।

विवाहमा आएका आगन्तुकलाई समोसा, लड्डु र चियाको प्रबन्ध गरिएको थियो । प्रतिप्लेट दस रुपैयाँ पर्ने गरी बीएल शर्माले त्यसको प्रबन्ध मिलाएका थिए । विवाहमा सहभागी हुन पुगेका प्रधानमन्त्री थापाले दस रुपैयाँ गोडधुवा दिएको पुनम सम्झिन्छिन् । लक्ष्मण बहादुर बस्नेतले बेउलाबेउलीको गाडी हाँकेका थिए ।

बाबु बितेको तीन दिनपछि थाहा पाएँ
एमडी पढ्दापढ्दै २०३८ सालमा विवाह गरेका शेखर त्यसपछि फेरि अध्ययनका लागि अलइण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा लागि गए । घरमा आफ्ना पिता केशव कोइरालालाई मात्र होइन बीपी कोइरालालाई पनि क्यान्सर भएको थियो । बीपीलाई घाँटी र केशवलाई पोस्टेटको क्यान्सर भएको थियो । क्यान्सरले पिताजीलाई च्याँपे पनि परीक्षा आएकाले शेखरले केही भइहाल्यो भने पनि खबर गरी नहाल्नु भनेर गएका रहेछन्।

उनको पिताजीको निधन भयो । घरमा रहेका दाइ निराजनले दागबत्ती दिए । परम्परागतरुपमा काजक्रिया सुरु भयो । शेखरले भने तीन दिनपछि मात्र थाहा पाए । त्यो पनि चन्द्रशेखरको मुखबाट । उनी नेपाल आए।

बोइज होस्टलमा पुनम
शेखर एमडी गरिरहेको समयमा बीपी कोइराला गलाको क्यान्सरले थलिएका थिए भने बाबु केशव प्रोस्टेटको क्यान्सरले पीडित थिए । दिदी आमा भनेर शेखरकी धर्म आमा पनि क्यान्सरकै रोगी थिइन् । बाबु बेला–बेलामा दिल्लीमा जँचाउन जान्थे । यही क्रममा ३÷४ महिनाको बीचमा पिताजी र बीपीको निधन हुँदा उनको पढाइमा निकै बाधा पुग्यो । उनको परीक्षा पनि बिग्रियो।

पारिवारिक झमेला फस्दै जाँदा शेखरले एमडी पासै पो नगर्ने हुन् कि भन्ने उनको श्रीमतीलाई लागेछ । त्यसैले उनी पनि श्रीमान शेखरसँगै भारत गइन् र एक वर्षसँगै बसिन् । त्यो पनि शेखर बस्ने गरेको कलेजको बोइज होस्टेलमा ।
केटाहरुले नै प्रयोग गर्ने शौचालय र बाथरुम प्रयोग गरेर निकै कस्टपूर्णरुपमा एक वर्ष बिताएको सुनाउँदै पुनम सुनाउँछिन्, ‘पटक–पटक कलेज प्रशासनको चिट आउँथ्यो । ढोकाको प्वालबाट चिट आउँथ्यो, म च्यातेर डस्टबिनमा फालिदिन्थेँ । ट्वाइलेट जान पनि मौका हेरेर बस्नुपथ्र्याे । तर पनि म दुःख सहेरै बसेँ।’

केटाहरू नभएको समयमा बाथरुम प्रयोग गर्ने गरेको उनी बताउँछिन् । ‘केटाहरूले नुहाइधुवाइँ सकेका छन् छैनन् हेरेर मात्र जानुपर्दथ्यो,’ पुनम भन्छिन्, ‘सजिलो कहाँ थियो, एक किसिमको बाध्यात्मक अवस्थाबाट एक वर्ष गुजारेँ ।’
किन त्यसरी बसिन् पुनम ? घरमा बस्न समस्या थियो वा भर्खर विवाह गरेकोले श्रीमान् छाड्न चाहिनन् ? ‘घरमा समस्या भएर वा अन्य कारणले होइन,’ पुनम भन्छिन्, ‘मिहिनेत त शेखरजीले नै गर्नुभएको हो मोरल सपोर्टका लागि मात्र गएका थिए, म त्यहाँ नगएको भए उहाँले पास गर्न मुस्किल थियो, उहाँले पढेको मैले पास गराएको भन्न चाहिँ मिल्छ ।’

कोशी अस्पतालमा सेवा
पढाइ सकेर नेपाल फर्केपछि शेखर गृहनगर मोरङ रोजे । कोशी अञ्चल अस्पतालमा काम गर्न थालिसकेका थिए । समयमै अस्पताल जाने, आउने र आफ्नो इमर्जेन्सीको पालो छ भने घरबाट कतै नजाने नीति शेखरले लिए । त्यसबाहेक उनले बाहिर पनि प्राक्टिस गर्न (आफ्नै क्लिनिक) खोलेका थिए । छोटो समयमा राम्रो डाक्टरको परिचय कमाएका शेखरकहाँ विराटनगरका गन्यमान्य, प्रशासकहरू आउँथे । अञ्चलाधीश, प्रमुम जिल्ला अधिकारी, प्रहरी अधिकारीलगायतका महŒवपूर्ण व्यक्तिको स्वास्थ्य परीक्षणको शुल्क लिँदैनथे । किन त्यस्तो गरेको त ? ‘प्रशासनिक क्षेत्रको महŒवपूर्ण भूमिकामा रहेका व्यक्तिसँग शुल्क नलिएपछि आफ्नो मोरल हाइ हुन्छ शेखर सुनाउँछन्, ‘राजनीतिक रुपमा त्यसलाई उपयोग गर्न सहज हुन्छ भन्ने बुझाइ थियो ।’ त्यसो त कतिपय कांग्रेसका कार्यकर्तासँग पनि उनी पैसा लिँदैनथे । २०४३ सालमा सरकारले चुनाबको घोषणा ग¥यो । कांग्रेसले आउट पोस्ट कब्जाको रणनीति लिएको थियो । विराटनगर नगरपालिकाको प्रमुखमा लक्ष्मण बस्नेतले उम्मेदवारी दिए । अस्पतालको डिउटी सकेपछिको समयमा शेखर बस्नेतको चुनाव प्रचारमा हिँड्न थाले । चुनाव प्रचारमा हिँडेको भन्दै उनलाई स्पष्टीकरण सोधियो । शेखरले तत्कालीन अञ्चलाधीश लवविक्रम शाहलाई जवाफ दिए, ‘अस्पताल समयमै आएको छु । पूरा समय काम गरेको छु । त्यसपछिको बाँकी समय के गर्ने मेरो खुसीको विषय हो।’

अस्पताल समयबाहेक बँचेको समय क्लिनिक खोल्न छाडेर शेखर चुनाव प्रचारमा जाने गरेका थिए । त्यसैले सरकारले उनलाई कारबाही गर्न सकेन । त्यति मात्र होइन शेखरले त्यहाँको पार्टी कार्यालय चलाउन निकट डाक्टरहरुको टोली नै बनाएर उनीहरूबाट ४०÷५० रुपैयाँ पैसा उठाएर मासिक ४, ५ सय दिने पनि गर्दथे।

डाक्टरी पेशाका साथसाथै राजनीति
कांग्रेससहितका राजनीतिक दलले २०४६ सालमा पञ्चायतविरुद्ध आन्दोलन घोषणा गरे । काका गिरिजाप्रसाद कोइरालाले उनलाई पक्राउ नपर्न निर्देशन दिए । उनले त्यसलाई पालना गरे ।
कांग्रेसका नेताहरु प्रहरीबाट जोगिनका लागि प्रयास गरिरहेका थिए । त्यही क्रममा मोरङ कांग्रेसका उपसभापति दिलीप सापकोटा कोइराला निवासमा लुकेका थिए । सर्च वारेन्टविना नै एक दिन प्रहरीले कोइराला निवासमा छापा मारेर उनलाई पक्राउ ग¥यो । त्यतिसम्मलाई शेखरले मतलब गरेनन् । इन्स्पेक्टरको कमान्डमा गएको प्रहरी टोलीले त्यसपछि पनि दिलीपमाथि हातपात गर्न थाल्यो । सर्च वारेन्टविनै निवास प्रवेस गरेकोमा असन्तुष्ट शेखरले प्रहरीलाई भने, ‘गिरफ्तार गरिसकेपछि किन कुट्छौ । राम्रोसँग लग ।’

त्यति नै बेला कमान्ड सम्हालेका इन्स्पेक्टरले बीपी कोइराला, गणेशमान सिंहसहितका नेताहरुको नामै उच्चारण गरे तथानाम गाली गर्न सुरु गरे । त्यसपछि शेखर जाइलागे इन्स्पेक्टरको कठाला पक्रेर उनले कोइराला निवासको पछाडिबाट घिसार्दै गेटआउट भन्दै बाहिर निकाले । त्यतिमा मात्र उनले चित्त बुझाएनन्, अञ्चलाधीश दानबहादुर शाहीलाई भेटेर ती प्रहरी इन्स्पेक्टरलाई निलम्बन गर्न दबाब दिए । शाहीले आफूलाई निलम्बन गर्ने अधिकार नभएको भन्दै उनको सरुवा गर्ने आश्वासन दिए । उनको सरुवा पनि भयो । केही समयअघि एआइजीबाट ऊ रिटाएर भएको शेखर सुनाउँछन्।

०४६ कै आन्दोलनका बेला प्रहरी सर्च वारेन्टसहित फेरि कोइराला निवास आयो । कोइराला निवासमा कांग्रेस नेतृ तथा शेखरकी आमालाई पक्राउ गर्न प्रहरी आएका थिए । शेखर पनि घरमै थिए । प्रहरीले सौहाद्र्रता देखायो । उनले पनि आफ्नो आमालाई गिरफ्तार गर्न आएको प्रहरीको टोलीलाई चिया पिलाएर पठाए । केही दिनअघि प्रहरीको कठालो समाएर गेटआउट भन्ने त्यही शेखर केही दिनपछि चियासहित बिदा गर्दा उनीहरु पनि छक्क परेको उनले सुनाए ।

जेल नपर्दा नम्बर पाइन्न
आन्दोलन भयो देशमा प्रजातन्त्र पुनर्बहाली भयो । आन्दोलनको समयमा पक्राउ नपर्नु भनेको थप दुःख पाउनु हो भन्ने निष्कर्ष शेखरले त्यतिबेला निकालेका रहेछन् । ‘पक्राउ परेपछि केही पनि गर्नु परेन । भित्र गयो बस्यो ढुक्क भयो,’ उनले सुनाए, ‘बाहिर बस्यौँ भने आन्दोलनको तयारी पनि गर्नुपर्ने नम्बर पनि नबढ्ने । जेल बसे राजनीतिमा नम्बर पनि बढ्ने र’छ । त्यो कुरा पछि थाहा भयो ।’   

२०४६ को राजनीतिक परिवर्तनपछि प्रत्यक्ष र परोक्षरुपमा राजनीतिमा सक्रिय शेखर भन्छन्, ‘परिवारको सहयोग र सपोर्टविना राजनीतिमा कोही सफल हुन सक्दैनन् ।’ आफ्नो राजनीतिक करिअरमा पत्नी पुनमले सहयोग, समर्थन र बेला–बेलामा सल्लाहकारको भूमिका निर्वाह गरेको शेखर बताउँछन् । शेखरकी छोरी नेहा र ज्वाइँ रइस भट्ट हुन् । परिवारका सदस्यबाट आफूले राजनीतिमा सक्रिय हुन प्रशस्त सहयोग, समर्थन प्राप्त गरेको उनी बताउँछन् ।
राजनीति र डाक्टरीसँगसँगै लिएर अगाडि बढेका शेखर २०४६ पछिको राजनीतिक परिवर्तनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार र उपकुलपतिको भूमिका निर्वाह गरे । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछि भने उनले डाक्टरी पेशा छोडेर  राजनीतिमा पूर्णरुपमा होमिए।

परिवारमा भरथेग
कोइराला परिवार अप्ठेरो अवस्थाबाट गुज्रिएको बेला परिवारको सम्पूर्ण रेखदेख र व्यवस्थापनको जिम्मेवारी उनका पिताले गरेका थिए । त्यसैले कांग्रेसका कतिपय नेता तथा कार्यकर्ता उनलाई अहिले पनि भेटेर कोइराला परिवारलाई अहिलेको अवस्थामा ल्याउन तपाईंको पिताजीको महत्वपूर्ण भूमिका रहेको भन्दै अघि बढ्न प्रोत्साहित गर्ने गर्छन् । तर, बीपी पुत्र सशांक वा गिरिजाप्रसाद पुत्री सुजातालाई जति कांग्रेस राजनीतिमा आफूलाई एडभान्टेज नरहेको उनको बुझाइ छ । ‘अरु नेता तथा कार्यकर्तालाई भन्दा मलाई लिगेसीको सपोट कम पाएको छु,’ शेखर भन्छन्, ‘बीपी पुत्र र गिरिजाप्रसाद पुत्रीले भन्दा मैले बेसी मिहिनेत गर्नेपर्छ । उहाँहरुलाई जति एडभान्टेज मलाई छैन ।’

त्यसैले त उनी काठमाडौं कम जिल्लाको कार्यक्रम बढी दौडी रहेका हुन्छन् । श्रीमान दिनरात कुदिरहँदा पुनमलाई कहिले काहीँ डाक्टरी पेशा छाडेर कता लागेको होला जस्तो पनि लाग्दोरहेछ । ‘राजनीतिमा दुःख मात्र छ । सबै खुट्टा तान्न मात्र लागिपरेका हुन्छन्,’ उनी भन्छिन्, ‘मानव सेवा पनि ठूलो धर्म हो । त्यही गरेको भए पनि हुन्थ्यो ।’

घरमा भेटघाटका लागि आउने कति नेता तथा कार्यकर्ताले शेखरलाई गलत सल्लाह र पदका लागि उक्साउने पनि गर्दा रहेछन् । त्यस्तो सल्लाह दिनेलाई पुनमले उल्टै सम्झाएर पठाउने गर्दिरहिछन् । ‘काम गर्नका लागि पोस्ट नै ठूलो कुरा पनि त होइन तर आफ्नो स्वार्थपूरा गर्न उहाँलाई गलत सल्लाह दिन आउनेको संख्या पनि कम छैन,’ उनले भनिन्, ‘एउटा पेसा, व्यवसायमा लागेकाले एउटा टार्गेट बनाएका हुन्छन् । उहाँको पनि एउटा लक्ष्य होला तर गलत सल्लाह दिनु चाहिँ ठिक होइन ।’

आमाको क्षेत्रमा सक्रिय  
शैलजा आचार्य र आमा नोनाको निधनपछि निर्वाचन क्षेत्रलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् । हिंसात्मक राजनीतिमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन होस् वा संविधानसभाबाट नयाँ संविधान जारी गराउन उनको सक्रिय भूमिका रहेको छ । तर, संविधान जारी भएपछिको प्रतिनिधिसभा निर्वाचनमा पराजित शेखर नेपालको राजनीतिमा केही विषयहरु रोगकै रुपमा जकल्टिएर बसेको बताउँछन्।

राष्ट्रिय रोग  
शेखरको बुझाइमा संसदीय सर्वोच्चता कि संवैधानिक सर्वोच्चता भन्ने विवाद अहिले पनि जारी छ । उनी भन्छन्, ‘संसदीय होइन संवैधानिक सर्वोच्चता हुनुपर्छ ।’
दोस्रो राष्ट्रियता र राष्ट्रवादको बुझाइमा पनि ठूलो समस्या छ । भारत र चीन दुई छिमेकी देशमध्ये भारतलाई  निकटतम देश   र चीनलाई  मित्रवत् देशको सम्बन्ध राख्नुपर्ने बीपीको मान्यताका अनुयायी हुन शेखर ।
तेस्रो नेपाललाई राजा वा राजतन्त्र, धर्मसहितका विषयलाई अघि सारेर अस्थिर बनाउन अहिले पनि चलखेल भइराखेको छ । अब सबैखाले चलखेल बन्द गर्नुपर्छ ।
चौथो समाजवादको बुझाइमा समस्या छ ।

प्रेसक्रिप्सन
समाधान के त ? शेखर भन्छन्, ‘पहिलो राजनीतिककर्मी आफू र आफ्नो दलका लागि होइन, नेसनका लागि सिनसियर हुनुपर्छ ।’ दोस्रो संविधानमा जे लेखेको छ त्यसलाई टेकेर हिँड्नुपर्छ । संविधानमा छैन भने संशोधन गरेर राख्नुपर्छ । त्यसभन्दा दायाँ–बायाँ गर्नु हुँदैन ।

कांग्रेसमा बेथिति
आफ्नै दल कांग्रेसमा बेथिति मौलाएको उनको बुझाइ छ । गुटउपगुट अस्वाभाविक नठानेका उनले भने, ‘संगठन छैन । गुटहरु एकअर्काविरुद्ध लक्षित भए । त्यसले पार्टीलाई हित गर्दैन ।’ मुलुक संघीयतामा गए पनि पार्टी संरचना अझै पुरानै अवस्थामा रहेको सुनाउँदै तत्काल महासमिति बैठकमार्फत विधान संशोधन गर्नुपर्ने उनको बुझाइ छ । त्यसपछि समयमै महाधिवेशन अहिलेको समस्याको समाधान भएको सुनाउँदै उनले भने, ‘अहिले गणेशमान सिंहजस्तो डाइनामिक, कृष्णप्रसाद भट्टराई जस्तो कुटनीतिक र गिरिजाप्रसाद कोइराला जस्तो जनतामा पुग्ने नेता खोजेर त्यो सम्भव छैन ।’
कांग्रेसको आन्तरिक राजनीतिमा गुट समस्या नरहेको उनको बुझाइ छ । ‘गुटउपगुट बेकारका कुरा हुन्, शेखर भन्छन्, ‘गुट समस्या होइन, एक अर्कालाई सिध्याउन गुट बनाइँदै छ त्यो भने समस्या हो ।’

जुत्ता शौखिन  
शेखर जुत्ताका शौखिन हुन् । अहिले पनि पाएसम्म ब्रान्डेड जुत्ता नै रोज्छन् उनी । जुत्ताको मामिलामा उनी चुजी हुनुका पछाडि भने कारण छ । भारतको मेरठमा एमबीबीएस गर्दा  कलेजको कडा अनुशासन थियो । विद्यार्थीलाई सेतो सर्ट, सेतो पाइन्ट र  तुनावाला छालाको कालो जुत्ता अनिवार्य थियो । उनी त्यसबेला बाँसबारी छालाको जुत्ता लगाउन पल्केका रहेछन् । कलेज छुट्टी भएर शेखर एकपटक काठमाडौं आए । तत्कालीन सरकारले उनका पिता केशव कोइरालालाई गिरफ्तार गरेर जेलमा राखेको थियो । नेपाल आएका बेला जेलमा भएका पिता भेट्न शेखर गए । पितालाई भेट्न जानुमा उनको स्वार्थ पनि लुकेको थियो । त्यो हो जुत्ता किन्न पितासँग पैसा माग्ने । पितासँग पैसा होस् वा नहोस् के सरोकार ? अनि उनी कहाँ बसिरहेका छन् भन्ने पनि शेखरलाई खासै मतलब भएन । उनले पिता केशव कोइरालासँगको भेटमा जुत्ता किन्न पैसा मागे । छोराको कुरा सुनेर उनका पिता रिसाएर ‘जेलमा छु यहाँ पैसा मागेर कहाँबाट दिनु ?’ भन्दै कड्किए ।

हुन पनि जेलमा बसेको मान्छेले कहाँबाट पैसा दिनु । विदेशमा डाक्टर पढिरहेका उनले त्यति त ख्याल गर्नुपर्ने थियो धेरैलाई यस्तै लाग्छ । तर, बाबुआमाका अघि छोराछोरी सधँै सानै हुन्छन् र बन्छन् । ‘म पनि त्यस्तै बनेँ’ शेखर भन्छन्, ‘अहिले सम्झँदा जेलमा परेको बाबुसँग किन मागेको होला भन्ने लाग्छ ।’  

पिताले पैसा छैन भनेपछि शेखर रिसले झोक्किँदै जेल परिसरबाट हिँडे । त्यसै बेला उनले आफू कमाउने भएपछि मात्र नयाँ जुत्ता किन्ने निधो गरे ।  चार वर्षसम्म उनले नयाँ जुत्ता किनेनन् र एउटै जुत्ता निरन्तर लगाइरहे  । जुत्ता पटकपटक च्यातियो । उनले सिलाउँदै लगाउँदै गरे । एमबीबीएसपछि इन्टनसिप गर्दा पैसा आयो त्यसपछि मात्र उनले नयाँ जुत्ता खरिद गरेको सुनाउँदै शेखर भन्छन्, ‘चार वर्ष पुरानै जुत्ता सिलाएर चलाएँ । आफ्नै कमाइ आएपछि मात्र नयाँ जुत्ता किनेर लगाए ।’

आँफै कमाउने भएपछि शेखरको स्वादमा विदेशी ब्रान्डका महँगा जुत्ता पर्दथे । पछिल्लो समय उनी स्वदेशी उत्पादन शिखर, गोलस्टार लगाउन थालेको बताउँछन् । विदेशी त्यो पनि नाम चलेका ब्रान्डका जुत्ता पाएसम्म शेखर छाढ्दैनन् । जुत्ता खरिदमा शौखिन उनलाई  श्रीमती पुनमले कहिल्यै रोकटोक गर्दिनन् । ‘जुत्ताप्रति उहाँमा क्रेज अहिले पनि उस्तै छ,’ पुनम भन्छिन्, ‘पाएसम्म राम्रै लगाउन खोज्नुहुन्छ। तर, यही चाहिन्छ भनेर जिद्दी भने गर्नुहुन्न।’

प्रकाशित: २४ भाद्र २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App