१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेगनास तालमा बेपत्ता ६ जनाको शव भेटियो

पोखरा- बेगनास तालमा डुंगा पल्टिएर डुब्दा बेपत्ता भएका ६ जनाको शव आईतबार बिहान साढे ११ बजे निकालिएको छ। छ जनाको शव निकालिएपछि तालमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ८ पुग्यो।

शनिबार दिउँसो माईत दर खान जाने क्रममा एउटै डुंगामा १० जना सवार थिए। लिब्दी टुडाँ नजिकै पुग्दा डुंगा डुब्दा दुईजना पौडिएर बाहिर निस्किएका थिए। दुई जनाको तालबाट उद्दार गरेपछि उपचारको क्रममा मृत्यु भएको थियो। उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी ५१ वर्षिया कृष्णकुमारी कडेंल( बजगाई ) र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेंल(गैह्रे) को मृत्यु भएको  थियो।

आईतबार विहानैदेखि वेपत्ता छ जनाको खोजीकार्य गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङका अनुसार विहान साढे १० बजे ८ वर्षिय शिव खनालको शव भेटिएको थियो। त्यसपछि अरुको शव वरिपरी नै भेटिएको प्रहरीले जनाएको छ। तालमा वेपत्ता भएका ५ वर्षिय प्राचीन पौडेल, ७ वर्षिय शंकर खनाल,  ३२ वर्षिय रवी खनाल, १७ वर्षिय मनिषा बजगाई र ४ वर्षिय रन्जित गैह्रेको शव भेटिएको हो।

तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेल पौडी खेलेर निस्कने क्रममा उद्दार गरिएको प्रहरीले जनाएको छ। रवी खनाल नेपाली सेनाका प्युठ हुन्। खनाल नेपाली सेनाका अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत हुन् । सपना गैडाकोट निवासी हुन भने पौडेल पोखरा महानगरपालिका ३१ निवासी हुन् । सपना रवी खनालको श्रीमती हुन्।

शनिबार दिउँसो बेगनास डुंगाघाटबांट आफना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरान माईत तर्फ गएका थिए। बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वर्षिय प्राचीन पौडेल तालमा खसेपछि आमा निशा पौडेल उद्दारको लागि तालमा हाम फालिन्। तालमा हाम फालेपछि डुंगाको सन्तुलन गुम्यो। डुंगा पल्टियो। सबै तालमा खसे । तालमा डुंगा पल्टिए लगत्तै स्थानीयबासिले उद्दारमा जुटेका थिए।

विहानैदेखि स्थानीयबासिन्दा, डुंगा व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको गोताखोर टोली खोजीकार्यमा जुटेको थियो । तालमा डुंगा सयर गर्न अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनुपर्छ । तर उनीहरु आफ्नै डुंगा लिएर गएको आशंका गरिएको छ । टिकट काटेर डुंगा सयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेट दिईन्छ । आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको थिए।

प्रकाशित: २४ भाद्र २०७५ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App