१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेशलार्इ पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपकाे सेमिफाइनलमा

काठमाडाैं - नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ। बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो। नेपालको जितमा विमल घर्तिमगर र नवयुगले १/१ गोल गरे। शनिवारको जितसँगै नेपाल समुह ए को बिजेता समेत बनेको छ। समुह बिजेता बनेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेताको सामना गर्नेछ।

शनिबार बंगलादेशको बंगबन्धु रंगशालामा हजारौ बंगलादेशी समर्थक सामु नेपालले उत्कृष्ट खेल खेल्यो। सेमिफाइनलमा स्थान बनाउन जित आवश्यक रहेको अवस्थामा नेपालले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन गरेता पनि पहिलो गोलको लागि ३३ औं मिनेट सम्म कुर्नु पर्यो। बंगलादेशका वाली फैजलले नेपालका सुनिल बललाई लडाएपछि नेपालले फ्रि किक पाएको थियो। प्राप्त अवसरलाई नेपालका विमल घर्तिमगरले डि बक्स वाहिरबाट प्रहार गर्दै गोल गरे। बंगलादेशका गोलरक्षकले बललाई रोकेपनि उनको हातबाट बल फुत्केपछि गोल भएको थियो।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोश्रो हाफमा थप एक गोल थप्यो। निर्धारित समयको खेल सकिन केहि सेकेण्ड बाँकी रहँदा ६७ औं मिनेटमा भरत खवासको स्थानमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९० औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारेका थिए भने नेपाललाई सेमिफाइनल नजिक पुर्याएका थिए। बिशाल राइले मिड्फिल्ड बाट निकालेको पासमा नवयुगले गरेको प्रहार साइडबारमा लाग्दै गोल भएको थियो।

खेल पछि प्रतिक्रिया दिँदै नेपाली टाेलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले अाफुहरुले योजना अनुसार खेलेकाे र म्याचको टर्निङ प्वाइन्ट पहिलो गोल बनेकाे बताए। पाकिस्तानले भुटानलार्इ पहिलाे खेलमा पराजित गरेका कारण अाफुहरुलार्इ जितकाे दवाव बढेकाे अवस्थामा बंगलादेशका गोलरक्षकको गल्तीले अाफुहरुलार्इ फाइदा गरेकाे उनले बताए। यस्तै नवयुग श्रेष्ठले धेरै समयपछिकाे सफलताले अाफुलार्इ एकदमै खुशी बनाएकाे बताए।

प्रतियोगिताको पहिलो खेलमै पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको थियो। शनिवारको खेलमा सेमिफाइनल प्रवेशका लागि जित आवश्यक रहेको अवस्थामा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको हो। नेपालसँग पराजित भएको घरेलु टोली बंगलादेश भने प्रतियोगिताको समुह चरणबाटै वाहिरिएको छ।   
 

प्रकाशित: २३ भाद्र २०७५ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App