१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

देवी नाचमा ‘देवीहरू’

भक्तपुरमा परम्परागत देवी नाच देखाउन थालिएको मल्लकालदेखि नै हो। महाकाली, महालक्ष्मीलगायत विभिन्न देवीका मुखुण्डोमा सजिएर नाचिने यस्ता नाचमा सधैंजसो  पुरुष कलाकार रहन्छन्। तर, यसपटक भने यो ‘साच्चिकै देवी’ अर्थात् नारीले समेत देवी नाचमा सहभागिता जनाए।

भक्तपुरस्थित ‘द राइजिङ स्टार’ विद्यालयका छात्राहरूले गाईजात्राको अवसरमा भक्तपुरका डवली र चोकमा देवी नाच नाच्दै गर्दा धेरैले रमाइलो माने । पुरुषले नाच्दै आएको यस्ता नाचमा पहिलो पटक कन्याहरूले सहभागिता जनाउँदा  स्थानीयले खुसी व्यक्त गरे । ‘यस पटकचाहिँ साच्चिकै देवी नाच हेरेको महसुस भयो,’ सुकुलढोकाका ६७ वर्षीय पूर्ण कर्माचार्यले भने, ‘यसअघि यस्तो देखिएको थिएन।’

महाकाली, महालक्ष्मीलगायत विभिन्न देवीका मुखुण्डोमा सजिएर नाचिने यो  परम्परागत नाचमा सधैंजसो पुरुष कलाकारको सहभागी जनाउँछन् । यस पटकचाहिँ भक्तपुरमा नारीहरूले समेत सहभागिता जनाए।

विद्यालयका नृत्य प्रशिक्षक मुक्तीसुन्दर जधारी आफै पनि परम्परागत महाकाली नाचका कलाकार हुन् । चार वर्षको उमेरदेखि नाच्दै आएका ४३ वर्षीय उनले देवी गणका हुने सबै देवीको नाच नाचिसकेका छन् । ‘पछिल्लो पटक म पनि महाकाली भएर नाच्दै थिए,’ उनले भने, ‘यस पटक नाचमा छोरीहरूको सहभागिताले सबैलाई खुसी दिएको छ।’

नाचमा सहभागी नानीहरूले सबैको अगाडि देवीको पहिरनमा नाच्न पाउँदा खुसी मिलेको सुनाए । भदौ ८ गते दिक्षान्त लिएर ११ गते गाईजात्रामा नगर घुमेका उनीहरूले १३ र १५ गते भक्तपुरमा विभिन्न चोक र डबलीमा नाच्दै सर्वसाधारणलाई खुसी बनाए।

‘परम्परागत पहिरनमा मुखुण्डो लगाएर नाच्न थालेपछि जिउमा अर्के शक्ति आए जस्तो लाग्छ,’ महालक्ष्मीको भेषमा नाच्दै आएकी कक्षा ७ मा अध्यनरत श्रृजा शाक्यले  भनिन्, ‘महिषासुर बध गर्दाको समय निकै रमाइलो भएको थियो।’

‘यो  नाच  हेर्दाचाहिँ साच्चिकै देवी नाच हेरेको महसुस भयो,’ सुकुलढोकाका ६७ वर्षीय पूर्ण कर्माचार्यले भने, ‘यसअघि यस्तो देखिएको थिएन।’

महिषासुर बधको समयमा उनलाई रमाइलो भए पनि महिषासुरको भेषमा अभिनय गरेकी कक्षा ७ मै अध्यनरत मुस्कान तामाङलाई भने मुस्किल परेको थियो । भक्तपुरको डबलीमा नाँच देखाइरहँदा मुस्कानको पिताले छोरीलाई किन लात्ती उदाएको भन्दै रिसाउँदा मुस्कानले नाटक भनेर सम्झाउनुपरेको थियो।

‘मैल बुबालाई सम्झाएपछि उहाँले बुझ्नुभयो,’ मुस्कानले भनिन्, ‘जे को भूमिका भए पनि नाच्न पाउँदा रमाइलो लाग्दोरहेछ।’

नाचमा प्रमुख भूमिका महाकालीको भेषमा नाच्ने सबेरा बज्राचार्य पनि निकै खुसी देखिन्थिन्। उनले नाचेकोमा उनको बुबा धेरै खुसी भएको उनले बताइन् । ‘साथीभाइ र छरछिमेक त खुसी नै भए,’ उनले भनिन्, ‘बुबाले खुसी भएर स्यावासी दिँदा अगाडि बढ्ने आँट पलाएको छ ।’ नाचमार्फत् संस्कृति जोगाउन पाएकोमा खुसी मिलेको उनले बताइन्।

नाचमार्फत् संस्कृति जोगाउने अभियानमा लागेका विद्यालयका शिक्षक एवम् नृत्य प्रशिक्षक मुक्तिसुन्दर जधारी पनि विद्यार्थीको नृत्य कलाबाट प्रभावित छन् ।  महाकाली नाचमा विशेष अध्ययन गरेका उनले यो नाच काविला युगमा समेत रहेको अनुमान गर्छन् । ‘त्यति बेला सायद महिलाले नै नाच्ने गर्थे,’ उनले भने, ‘पछिल्लो समयमा आएर पुरुष सहभागिता हुन थालेपछि महिलालाई बन्देज लगाइएको हो।’  

‘विगतका वर्षमा केही महिलालाई सहभागिता गराए पनि यस पटक भने पूरै टोलीमा  छात्राहरूलाई सहभागिता गराएका हौं,’ उनले भने, ‘उनीहरूको सफलताले हामीलाई खुसी दिएको छ ।’ नानीहरूले आफूले जानेको कला  देशविदेशमा देखाएर  अगाडि बढ्ने  विश्वास लिएको उनले सुनाए।

‘छोरीलाई दिएको शिक्षा झनै अगाडि बढ्छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘समाजका अन्य ठाउँमा जस्तै कला–संस्कृतिमा पनि छोरीहरूको उल्लेख्य सहभागिता जरुरी छ।’

द राइजिङ विद्यालयले लामो समयदेखि स्थानीय कला संस्कृतिको जगेर्नामा सहयोग पुराउन आफूहरू लागिपरेको जनाएको छ । विद्यालयअन्तर्गत  ‘द राइजिङ सांस्कृतिक केन्द्र’ समेत रहेको छ । ‘विद्यालय तहबाटै कला संस्कृतिको जगेर्ना गर्ने काम गर्दे आएका छौ,’ विद्यालयका प्रिन्सिपल चण्डीका कायस्थले भनिन्, ‘संस्कृतिको जगेर्नामा छोरीहरूलाई पनि अगाडि बढाउन पाउदा खुसी लागेको छ।’

संस्कृतविद् ओम धौभडेल विगतको समयमा महिलालाई नाचगानमा बर्जित गरिने गरेका कारण पुरुष सहभागिता हुँदै आएकोमा पछिल्लो समयमा यो सोच परिवर्तन हुँदै आएको बताउँछन् । ‘देवी नाचको लागी पातलो कम्मर, महिलाको जस्तो हात–गोडा भएका पुरुष खोजिने चलन थियो,’ उनले भने, ‘महिला नै त्यसमा सहभागिता जनाउन थालेपछि यस पटक त सुनमा सुगन्ध भयो।’

महाकाली प्रमुख हुने यस देवी नाचमा महालक्ष्मी, महेश्वरी, बाराही, कवान्चा, ख्याक, जंगलीलगायतका कलाकारको भूमिका हुन्छ । ‘कला संस्कृतिका अन्य क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दो छ,’ धौभडेलले सुनाए, ‘देवी नाचमा नारीको सहभागिता यसैको उत्कृष्ट उदाहरण हो।’

भक्तपुर नगरपालिकाले पछिल्लो समयमा स्थानीय कला संस्कृतिलाई  पाठ्यक्रममा समेत समावेश गरेको छ । जसका कारण विद्यालय तहबाटै कला संस्कृतिको जगेर्ना हुने अपेक्षा गरिएको पर्यटक सूचना केन्द्रका मुरज दिदियाले बताए । ‘धिमे, बासुरी, लाखेलगायतमा महिला सहभागिता पहिला पनि थियो,’ उनले भने, ‘महिलाको समूहले नै यसरी दरबार क्षेत्रको डबलीमा आएर नाचेकोे सम्भवत यो पहिलो पटक हो।’

प्रकाशित: २३ भाद्र २०७५ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App