१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेशविरूद्ध नेपाललाई जित्नैपर्ने बाध्यता

काठमाडौं – पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि साफ च्याम्पियनसिपअन्तर्गत शनिबार हुने समूहचरणको अन्तिम खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ।

समूहचरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले तुलनात्मक रूपमा कमजोर भुटानविरुद्ध खेल्नेछ। पाकिस्तानको प्रतिद्वन्द्वी भुटान भएका कारण नेपालले आफ्नो सम्भावना कायम राख्न शनिबार बंगलादेशलाई हराउनुको विकल्प छैन। यदि भुटानले पाकिस्तानलाई पराजित गरिदिए नेपालले बंगलादेशसँग बराबरी गरे मात्र पनि सेमिफाइनल पुग्छ।

पहिलो दुवै खेलमा विजयी नतिजा निकालेको बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ। समान ३ अंक भएको नेपाल र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह ‘ए’ मा अंकविहीन रहेको भुटान अन्तिम स्थानमा छ।

६ अंक बटुलिसकेका कारण सेमिफाइनल पुग्न बंगलादेशले नेपालसँग बराबरी गरे पुग्छ । नेपाल र बंगलादेश भिड्नुअघि पाकिस्तान र भुटानको नतिजा आइसकेको हुन्छ। यदि पाकिस्तानले भुटानलाई हरायो भने नेपालसँग जित्नुको विकल्प हुँदैन। बंगलादेश सहज स्थितिमा रहेका कारण पनि शनिबार नेपाल बढी दबाबमा हुनेछ। त्यसमाथि बंगलादेशलाई घरेलु मैदान र समर्थकको साथ हुनेछ।

‘हामी पहिलो खेलमा राम्रो खेल्दाखेल्दै पराजित भयौं। तर भुटानविरुद्धको खेलबाट टोलीको मनोबल बढेको छ। हाम्रा सबै खेलाडी फिट छन्,’ नेपालका प्रशिक्षक किरण श्रेष्ठले भने, ‘नेपाल र बंगलादेश समानस्तरको टोली हो। उनीहरूको पहिलो खेल हेरेर हामी रणनीति तय गर्नेछौं।’

पाकिस्तानले भुटानलाई तथा नेपालले बंगलादेशलाई पराजित गरेमा समूह ‘ए’ को समीकरण रोचक बन्नेछ। नेपाल, पाकिस्तान र बंगलादेशको समान ६ अंक हुनेछ । त्यसैले ‘रिजल्ट बिट्विन टिम’ का आधारमा दुई टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछन्। यस्तो अवस्थामा सबै टोलीले भुटानविरुद्ध निकालेको नतिजाले अर्थ राख्दैन। त्यसैले नेपालले बंगलादेशलाई १–० को अन्तरमा पराजित गरे धेरै गोल गरेको आधारमा नेपाल र पाकिस्तान सेमिफाइनल पुग्छन्। नेपाल २–१ को अन्तरमा विजयी भए नेपाल शीर्ष स्थानमा हुनेछ भने पाकिस्तानलाई पराजित गरेको आधारमा बंगलदेश उपविजेता बन्नेछ। ३–२ वा त्योभन्दा माथिको नतिजा आए पनि नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: २३ भाद्र २०७५ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App