१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नायिका बनाउने सर्तमा विवाह

काठमाडौं – विवाहका लागि संसारमा केटा र केटीले अनौठा सर्त राखेका खबरहरु आइरहन्छन्। रिलिजको तयारीमा रहेको फिल्म ‘अनुराग’ की अभिनेत्री एलिजा गौतमले पनि यस्तै सर्त राखेर विवाह गरेकी थिइन् । पत्रकार ऋषि धमलाको अर्धाङ्गिनी बन्नु अघि एलिजाले राखेको सर्त थियो, ‘फिल्ममा नायिका बनाउने भए विवाह गर्छु नत्र गर्दिन ।’ ऋषिले एलिजाको सर्त माने पछि बल्ल दुवैको विवाह भएको थियो।  

एलिजासँग गरेको वाचा अनुरुप  ऋषिले फिल्म निर्माण गरेका थिए जुन असोज १२ मा प्रदर्शनमा आउँदैछ ।  राजधानीमा सोमबार पत्रकारमाझ ऋषिले श्रीमतिलाई नायिका बनाउनुपर्ने कारण खुलाए। ‘उनलाई सानैदेखि नायिका बन्ने रहर रहेछ । विवाहपछि उनले मलाई फिल्ममा नायिका बन्ने धोको रहेको बताइन्,’धमलाले भने,‘धेरै नायिका विवाहपछि हराएका छन् । विवाह नगरुञ्जेल फिल्ममा सक्रिय हुने र विवाह गरेपछि हराउने चलनलाई तोड्दै मैले चाहिं विवाह गरेपछि मात्र श्रीमतिलाई नायिका बनाउने निर्णय गरें।’

धमलाले एलिजाकै सपना पूरा गर्नका लागि फिल्म बनाएको बताए । ‘श्रीमतिले फिल्म खेल्ने इच्छा व्यक्त गरेपछि किन आफै फिल्म नबनाउने भनेर इच्छा पूरा गर्नकै लागि फिल्ममा लगानी गरेको हुँ,’ऋषिले भने,‘एलिजासँग मेरो विवाह नभएको भए म कहिल्यै पनि फिल्म निर्माणमा आउँदिन थिएँ । तर उनले राम्रो काम गर्न सक्छिन् भनेरै फिल्ममा लगानी गर्ने साहस देखाएको हुँ।’

ऋषिले फिल्मको स्क्रिप्टकै कारण पनि आफू फिल्मका लागि ‘कन्भिन्स’ भएको बताए ।  ‘म अन्य फिल्म निर्माणमा अगाडि बढ्ने या नबढ्ने निर्णय अनुराग रिलिज भएपछि मात्र थाहा हुन्छ,’ऋषिले भने,‘म अहिले नै फिल्म क्षेत्रमा सक्रिय रहन्छु भन्न सक्दिनँ।’

दुई सन्तानकी आमा एलिजाले सुत्केरी भएको ६ महिनामा फिल्मको सुटिङमा गएको बताइन् । ‘म सानैदेखि अभिनय र संगीत मनपराउँथे । त्यसकारण यो फिल्मसँग म निकै नजिकबाट जोडिएकी छु,’एलिजाले भनिन्,‘श्रीमानको साथ र आत्मबलले नै मैले सुत्केरी भएको ६ महिनामै फ्लोरमा गएकी थिएँ।’

एलिजाले फिल्ममा इमोसनल प्रेमकथा रहेकोले अहिलेको पुस्ताले मनपराउने दाबी गरिन् । ‘फिल्म पूर्ण मनोरञ्जनात्मक छ । परिवारसँग बसेर खुशीसाथ फिल्म हेर्न सक्नुहुनेछ,’उनले भनिन्,‘फिल्ममा केही प्रतिशत मेरो वास्तविक जीवनका भोगाइ पनि राखिएको छ । मलाई अन्य फिल्मबाट पनि अफर आएका थिए । तर होम प्रोडक्सनबाटै फिल्मी यात्रा सुरु गरौं भन्ने लागेर ‘अनुराग’ बनाएको हुँ ।’ सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म एलिजा र नायक समुन्द्र पण्डितका पनि डेब्यु नै हो।

प्रकाशित: २२ भाद्र २०७५ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App