१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

संघर्षपूर्ण खेलबाट नाडाल सेमिफाइनलमा

न्युओर्क (एएफपी) – साबिक विजेता राफेल नाडाल बुधबार नवाैं वरीयताका डोमिनिक थिएमलाई पराजित गर्दै युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातौं पटक प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने क्रममा विश्व नम्बर एक नाडालले थिएमलाई ०–६, ६–४, ७–५, ६–७ (४/७), ७–६ (७/५) को संघर्षपूर्ण सेटमा पराजित गरेका हुन्।

अन्तिम ४ मा स्थान पक्का गर्न ४ घण्टा ४९ मिनेट खर्चिएका नाडाल न्युओर्कमा चौथो उपाधिको संघारमा पुगेका छन् । समग्रमा भने उनी १८औं ग्रान्ड स्लाम उपाधिनजिक पुगेका हुन्।

पहिलो सेटमा ६–० को नतिजा निकालेका थिएमले नाडाललाई निराश पार्ने संकेत गरेका थिए। यसअघि मंगलबार पाँच पटकका विजेता फेडेरर पाँचौं वरीयतामा रहेका अस्ट्रेलियाली जोन मिलम्यानसँग ३–६, ७–५, ७–६ (९/७), ७–६ (७/३) ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएका थिए।

‘मैले धेरै कठिनाइ भोग्नुप-यो,’ प्रतियोगिताकै लामो खेल खेलेपछि नाडालले भने, ‘मैले डोमिनिकसँग माफी मागिसकें । उनी उत्कृष्ट खेलाडी हुुन् र मेरा नजिकका साथी पनि। डोमिनिक कठिन प्रतिद्वन्द्वी हुन्, जसले ठूला प्रतियोगितामा शीर्ष खेलाडीलाई निराश पार्ने क्षमता राख्छन्।’

नाडालले जुनमा थिएमलाई रोलान्ड गारोसको फाइनलमा निराश पारेका थिए।  नाडाल र थिएमबीच क्ले कोर्टमा आमनेसामने भएको यो पहिलो पटक थियो।

‘थिएम सहजै हार मान्ने खेलाडी होइनन्,’ नाडालले थपे।

सेमिफाइनलमा नाडालले तेस्रो वरीयताका हुवाँ मार्टिन डेल पोर्टोको सामना गर्नेछन् । नाडाल र  डेल पोर्टो ग्रान्ड स्लाममा आमनेसामने हुन लागेको यो लगातार दोस्रो पटक हो।

नाडालले विम्बल्डनको क्वार्टरफाइनलमा दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमनमा डेल पोर्टोलाई निराश पारेका थिए।

‘यो हार धेरै मेरो मस्तिष्कमा रहनेछ,’ थिएमले भने, ‘टेनिस खेल कहिलेकाहीं क्रुर बनिदिन्छ । प्रदर्शनका आधारमा दुवै खेलाडी विजेता हुन् तर अघिल्लो चरण प्रवेशका लागि कुनै एक खेलाडी विजेता बन्न आवश्यक छ । नतिजाको आधारमा नाडालले बाजी मारे।’

तेस्रो पटक युएस ओपनको अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा डेल पोर्टोले जोन स्नेरमाथि ६–७ (५–७), ६–३, ७–६ (७–४), ६–२ को जित हात पारे।

‘युएस ओपन मेरो सबैभन्दा मन पर्ने प्रतियोगिता हो । त्यसैले यो प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नु मेरा लागि विशेष छ,’ १२औं भेटमध्ये स्नेरलाई ८ पटक निराश पारेका डेल पोर्टोले भने।

त्यस्तै मारिन चिलिचको डेभिड गोफिनलाई ७–६ (८–६),६–२ र ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

अर्को क्वार्टरफाइनलमा नोभाक जोकोभिचले मिलम्यानसँग प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ सेरेना विलियम्सले कारोलिना पिलिस्कोभालाई ६–४ र ६–३ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिन् । विलयिम्सले सेमिफाइनलमा एनास्तासिया सेभास्तोभासँग खेल्निेछिन्। सेभास्तोभाले स्लोआने स्टेफेन्सलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन्।

महिलातर्फ सेरेना विलियम्स र एनास्तासिया सेभास्तोभा  सेमिफाइनल प्रवेश गरेका छन्।

प्रकाशित: २१ भाद्र २०७५ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App