१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कटहरियाका उपमेयरमाथि महाअभियोग

रौतहट - रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनमाथि कार्यपालिकाका दुईतिहाइ सदस्यले बुधबारको बैठकमा महाअभियोग प्रस्ताव ल्याएका छन्। कटहरिया नगरपालिकाको बुधबार बसेको बैठकमा दुईतिहाइ बहुमतले उपमेयर खातुनमाथि अविश्वास प्रकट गर्दै निलम्बनको मागसमेत गरेको छ।

गत आर्थिक वर्ष २०७४/७५ मा व्यापक अनियमितता गरेको आरोप निर्वाचित जनप्रतिनिधिले नै लगाएका छन्। विभिन्न ११ शीर्षकमा उपमेयर खातुनले करोडौँ रुपैयाँ अनियमितता गरेको र गत वर्षको हिसाबकिताब माग गर्दा उपमेयरले नदिएको भन्दै कार्यपालिका बैठकले अविश्वास पारित गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले जानकारी गराएका छन्।

कार्यपालिकाको बैठकले उपमेयर खातुनले गरेको अनियमितताको विषयमा छानबिन गर्न र उपमेयर खातुनलाई निलम्बन गर्न गर्दै नगरपालिकाकै तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडा, जिल्ला प्रशसन कार्यालय रौतहट र जिल्ला समन्वय समिति रौतहटलाई पनि पत्राचारसमेत गरिएको छ।

उपमेयर खातुनले केही कर्मचारीसित मिलेर करोडौँ भ्रष्टाचार गरेको आरोप निर्वाचित जनप्रतिनिधिले लगाएका छन्। कटहरिया नपाको चालु आर्थिक वर्षका लागि बजेट पारित हुन सकेको छैन। निर्वाचित जनप्रतिनिधि तथा स्थानीयले बारम्बार गत आवको हिसाब माग गरे पनि कर्मचारी तथा उपमेयर खातुनले दिन नमानेको आरोप स्थानीयको छ। उपमेयर खातुनले सबैभन्दा पहिले गत आर्थिक वर्षको खर्चलाई अनुमोदन गर्नुपर्ने र चालु आवका लागि बजेट पारित गर्नुपर्ने भनी सबै प्रतिनिधिलाई दबाब दिँदै आएको आरोप प्रवक्ता कुशवाहाको छ।

उपमेयर खातुनले आफूले अनियमितता नगरेको र सबै काम नियमअनुसार भएको बताउँदै कटहरिया नगरपालिकाको विकास केहीलाई नपचेको भन्दै आक्रोश पोखेकी छन्। आफूविरुद्ध केही मानिसले नियोजित किसिमले षड्यन्त्र गरेको पनि उपमेयर खातुनले बताएकी छन्।

यसैबीच नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामलाल सहनीले आफूलाई केही कार्यपालिका सदस्य तथा वडाध्यक्ष र बाहिरियाले केही कागजपत्रमा बलजफ्ती सही गराएको आरोप लगाएका छन्। अधिकृत सहनीले विज्ञप्ति नै निकालेर आफूलाई बलजफ्ती सही गराएको र नगरपालिकामा कुनै अनियमितता नभएको स्पष्ट पारेका छन्। अधिकृत सहनीले आफूलाई बलजफ्ती सही गराएको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला समन्वय समिति रौतहटमा जानकारी गराएका छन् र बलजफ्ती सही गराउनेमाथि कारबाहीको माग पनि गरेका छन्। तर कार्यपालिकाको बैठकस्थलमा अन्तिममा उपस्थित रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले अधिकृत सहनीले कसैले बलजफ्ती सही गराएको विषयमा जानकारी नगराएको बताएका छन्।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा विश्व हिन्दु परिषद् वीरगन्जका काशी तिवारीको हत्याको अभियोगमा उच्च अदालतले जेल सजाय तोकेको थियो। फैसला अनुसार मेयर कुशवाहा काठमाडौँमा कारागारमा रहेका छन्। मेयर कुशवाहा कारागार चलान भएपछि उपमेयर खातुनले नै कार्यभार सम्हालेकी थिइन्। उपमेयरमाथि दुईतिहाइ बहुमतले कारबाहीको माग गरेपछि निर्वाचित प्रतिनिधिबीच व्यापक खैलाबैला मच्चिएको छ। कार्यपालिका सदस्यलाई आफूतिर तान्ने प्रयास व्यापक मात्रामा सुरु भएको स्थानीयबासीले बताएका छन्।

प्रकाशित: २१ भाद्र २०७५ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App