१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूजालाई ११ लाख सहयोग

प्रधानाध्यापकलार्इ लेखेकाे पत्रसहित पूजा खत्री। फाइल तस्बिर : नागरिक

म्याग्दी - प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबारसम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको छ।

गरिबीका कारण अध्ययनबाट पूजा वञ्चित हुनुपर्ने अवस्था आएको र यही बेहोरा राखेर उनले प्रधानाध्यापकलाई पत्र लेखेको समाचार नागरिक दैनिकमा छापिएपछि सहयोगी हात जुटेका हुन्। पूजाको खातामा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार रुपैयाँ, बागलुङ घर भई हाल पोर्चुगलमा रहेका नेपाली व्यवसायी नरेन्द्र हमालले ५० हजार रुपैयाँ, कोरियामा रहेका म्याग्देलीको पहलमा ५० हजार रुपैयाँ, अस्टे«लियाको ब्रिसबेन चौतारील ३० हजार रुपैयाँ, सत्यसाई केन्द्र काठमाडौंले २६ हजार २६० रुपैयाँ, पूर्वन्यायाधीश बलराम केसीले २५ हजार रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै अमेरिकाबाट शोभा पाण्डेले २७ हजार ९ सय, बेलायतबाट इशा गुरुङले १ लाख व्यक्तिगतसहित साथीहरुबाट उठाएर कुल २ लाख ११ हजार, नागरिक दैनिकमार्फत १ लाख ९ हजार सात सय ९३, ललितपुर खुमलटार निवासी डा. हरिकुमार प्रधानले ६० हजार रुपैयाँ सहयोग गरेका छन्।

पूजालाई ५ सय रुपैयाँदेखि २ लाखसम्म सहयोग प्राप्त भएको छ । आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व गरिरहेका विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाका अनुसार बुधबारसम्म ११ लाख १३ हजार रुपैयाँ पूजाको खातामा जम्मा भएको छ।

तेह्रथुम घर भई हाल न्युयोर्क बस्ने हेम र माया थापाले पूजासहित चार भाइबहिनीलाई कक्षा १२ सम्म पढ्न सहयोग पुगोस् भनेर मासिक २५ हजार रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। नगदसँगै पूजा र उनका भाइबहिनीलाई लत्ताकपडा, स्टेसनरीसहितका सामान पनि सहयोगस्वरूप प्राप्त भएको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीले मासिक ५ हजार दिने
पूजाको पत्रले भावुक बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो पेन्सनबाट प्राप्त हुने रकमबाट मासिक ५ हजार रुपैयाँ शिक्षादीक्षाका लागि सहयोग गर्ने बताएकी छन्। ‘मार्मिक पत्रले मलाई भावुक बनायो, मैले हरेक महिना पाँच हजार रुपैयाँ उनकै खातामा जम्मा गरिदिन्छु,’ कार्कीले भनिन्, ‘पूजा जस्ता धेरै अरू पनि छन्, मैले पेन्सनको केही हिस्सा यस्तै बालबालिकाको शिक्षादीक्षामा सहयोग गर्ने सोच बनाएकी छु।’

उनले पूजालाई पढाइमा ध्यान दिन र सामुदायिक विद्यालयमै अध्ययन गरी नमुना विद्यार्थीका रूपमा प्रस्तुत हुन अनुरोध गरेकी छन्।

सहयोग रकम जुटेपछि पूजा नियमित विद्यालय जान थालेकी छन्। एक महिनाअघिसम्म बिहानबेलुकी पेटभरि खान नपाउने पूजाको परिवारमा अहिले खानाको चिन्ता छैन। घरमा सहयोगस्वरूप जुटेको खाद्यान्न, लत्ताकपडासहित आवश्यक सामग्रीले खत्री परिवारकै दैनिकी सहज भएको छ। पूजाका बाबुआमा सम्पर्कमा छैनन्। उनीसहित चार भाइबहिना वृद्ध हजुरबुबासँग बस्छन्।

गाउँकै जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत पूजाले भदौ १ गते प्रधानाध्यापकलाई गरिबीका कारण स्कुल आउन नसक्ने भएकाले नाम कटाइदिन आग्रह गर्दै पत्र लेखी पठाएकी छन्। उनले लेखेको पत्रसहितको समाचार नागरिक दैनिकले प्रकाशित गरेपछि उनलाई सहयोग जुट्न थालेको हो। ‘मेरो पीडा पत्रमा लेखेकी थिएँ, मैले पठाएको त्यही पत्रले घरमा खुसीयाली छाएको छ, विश्वका कुनाकुनाबाट फोन आउँदासमेत आमाबुबा सम्पर्कमा छैनन्,’ पूजाले भनिन्, ‘देशविदेशका मनकारीबाट सहयोग पाएपछि भाइबहिनीका आँखाबाट खुसीका आँसु झर्न थालेको छ।’

प्रकाशित: २१ भाद्र २०७५ ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App