१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

त्रिभुवन राजपथस्थित नौबिसे–नागढुङगा सडकखण्डमा देखिएको खाल्टाखुल्टी । तस्विर : नागरिक

धादिङ– बिहान ५ः३० बजे धादिङबेसीबाट छुटेको बस दिउँसो ३ बजेमात्र काठमाडौँ पुग्यो। सामान्य समयमा धादिङबेसीबाट काठमाडौँसम्म पुग्न करीब ३ घण्टा मात्र लाग्ने गर्दछ। तर जीर्ण राजमार्ग र सवारीको चापले गर्दा ३ घण्टामा पुग्न सकिने ठाउँ पुग्न साढे दश घण्टा लाग्ने गरेको छ। उकालो बाटो, घुमाउरो मोड, ओभरलोडका सवारी र ओभरट्याकका कारण राजधानी छिर्ने मुख्य नाका त्रिभुवन राजपथको नौबिसे–नाकढुङगा सडकमा जाम हुदाँ यात्रुहरुले हैरानी व्यहोर्नुपरेको छ। 

राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन।

राजधानी भित्रने मुख्य प्रवेशद्धार नाका त्रिभुवन राजपथका विभिन्न ठाउँमा सडक जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्न बाँध्य भएका छन्। त्रिभुवन राजपथ अन्र्तगत पर्ने नौबिसे–नागढुङगा सडक खण्ड जीर्ण हुन थालेपछि जामको हैरानी सुरु हुन थालेको छ। ‘नेपालको सबैभन्दा पूरानो राजमार्ग सरकारको बेवास्ताले जीर्ण बन्दै गएको छ,’ धादिङबेसीका रामबहादुर श्रेष्ठले भने, ‘राजधानी प्रवेश गर्ने सडकमा खाल्टाखुल्टी र बढी मोड भएकाले दुर्घटना बढाएको छ।’ धेरै सवारी चल्ने सडकको अवस्था नै कमजोर हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। 

सडक बिग्रिएका कारण आधा घण्टामा पार गर्न सकिने नागढुङगा–नौबिसे सडकखण्ड पार गर्न दिनभरी जस्तो लाग्न थालेको छ। राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन। ‘राजधानी आवतजावत गर्ने भरपर्दो वैकल्पिक राजमार्ग त्रिभुवन राजपथमा लामो समयदेखि सरकारको ध्यान गएको छैन’ श्रेष्ठले भने, ‘काम विशेषले यात्रा गर्नेहरुलाई हरेक दिनको जामले हैरानी व्यहोर्नु पर्ने हुन्छ।’ 

काठमाडौँ छिर्ने नाका सडकको देब्रे लेनको अवस्था दयनीय बन्दै गएको छ। कालोपत्रे उप्किएर काम नलाग्ने भएको छ भने सडकका ठाउँठाउँमा खाल्टाखुल्टी मात्र होइन कुलो जस्तै बनेको छ। पानी परेको समयमा खाल्टाखुल्टीमा पानी जम्ने गरेका कारण सवारीसाधन फस्ने गरेका छन्। उकालो बाटोमा बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारी साधन बाटोमै बिग्रिनाले बढी जाम हुने गरेको छ। साँधुरो बाटो भएकाले एम्बुलेन्स समेत जाममा पर्ने गरेको छ। साइरन बजाएपनि साइड दिने बाटो नहुदाँ बिरामी भएकाहरु झनै बिरामी हुन्छन्।  

राजधानी भित्रिने र राजधानीबाट पूर्व पश्चिमका जिल्ला जाने यात्रु जामको सास्ती खेप्न बाध्य छन्। खासगरी त्रिभुवन राजपथ पर्ने पीपलामोड, झ्याप्लेखोला, टायलघर लगायतका मोडमा बढी जाम हुने गर्दछ। बिग्रिएको सडकका कारण सवारी साधनहरुमा समेत समस्या आउने चालकहरुको भनाई छ। ‘साघुँरो सडक, उकालो बाटो, घुमाउरो मोडमा कतिबेला सवारी बिग्रने हो थाहा छैन’, एक चालकले भने, ‘खाल्टाखुल्टी र सडकमा जमेको लेदो माटोले झनै दुर्घटनाको खतरा बढाएको छ।’ कमजोर कालो पत्रे र क्षमता भन्दा बढी भार बोकेर सवारीका साधनहरु राजधानी आउने गरेका कारण सडकको अवस्था बिग्रदो भएको हो।

त्रिभुवन राजपथको सडकको क्षमता भने प्रति एक्सएल सवारी बरावर दश टन मात्र रहेको छ, भने सवारीहरुले भने प्रति एक्सएल बरावर १५ देखि १६ टन बोकेर राजधानी जाने गरेका छन्। बाहिरी जिल्ला तथा भारतबाट समेत भारी लोड बोकेर आउने मालबहाक सवारी साधनको लोडले सडकको देब्रे लेनमा असर गरेको छ। देब्रे लेनको भाग भासिने र दबिने गरेका कारण सडकमा दुरावस्था देखिएको स्थानीयको भनाई छ। रातको समयमा चल्ने ट्रिपरहरुले बालुवाको पानी चुहाउदै हिड्ने भएकोले सडक बिग्रने समस्या झनै बढेको हो। सडक बिग्रिएका कारण सो क्षेत्रको ट्राफिक ब्यवस्थापन समेत अस्त ब्यस्त बन्दै जान थालेको छ। 

देशका ६७ जिल्लालाई राजधानीसंग जोड्ने एक मात्र स्थलमागको रुपमा चिनिने त्रिभुवन राजपथको नौविसे–नागढुङगा खण्डको यात्रा अहिले कहाली लाग्दो बन्न थालेको छ। उकालो बाटोमा बढी भार बोकेका ट्रकहरु गुड्न नसकि बाटोमै बिग्रने गरेकाले जाम बढ्ने गरेको हो। सवारी आवागमनमा भएको जामको पीडा यात्रुहरुले बेहोरिरहेका छन् भने प्रहरीले जाम खुलाउन सधै सास्ती खेप्नुपरेको छ। बाटोमै बिग्रिएका सवारी साधनहरुलाई तत्काल सडकबाट हटाउने कुनैपनि उपकरण प्रहरीसंग नहुँदा ट्राफिक प्रहरीले समेत आलोपालो गरेर सवारी पास गराउने गरेका छन्। अरु प्राविधिक उपकरणहरु त परको कुरा बजारमा जताततै पाइने एउटा गाडीले अर्को गाडीलाई तान्ने फलामे डोरी (टुचेन) समेत ट्राफिक प्रहरीसंग छैन्। 

राजधानी भित्रिने सवारीका साधनहरुलाई ठाँउ ठाँउमा त्यस सवारीले बोकेर ल्याएको भारको तौल गर्ने गरेको भए पनी भारतीय नम्वर प्लेटका सवारीको भार भने नतौलिने भएका कारण पनि सडकले क्षमता भन्दा धेरै लोड बोक्नु परेको हो। जस्का कारण सडकको देब्रे लेन भत्किएको छ। त्यस्ता सवारीका साधनहरुले क्षमता भन्दा अत्याधिक बढी भार बेकेर राजधानी प्रवेश गरेको हुन्छन्, भने नेपाली नम्वर प्लेटका मालवाहक सवारी साधनहरुको तौलमा समेत आफुखुशी गरेको पाईएको छ। जसका कारण उकालो भएर जांदै गरेका मालवाहक सवारीसाधन कति बेला सडकमै बिग्रन्छ पत्तै हुँदैन्। ठाउँ ठाउँमा सवारी बिग्रिनाले यात्रुले सास्ती बेहोर्नु परेको हो। 

दिनभरको यात्रा गरेर गन्तव्यमा पुग्न १० किलोमिटरको यात्रा बाँकी रहँदा घण्टौंसम्म पर्खनुपर्ने जामले पुर्व पश्चिमबाट राजधानी आउने यात्रुहरुको दिनुहं विचल्ली हुने गरेको छ। नौबिसे र नागढुङगाको बीचमा यात्रुलाई खाना खुवाउने सामान्य होटलहरु समेत नहुँदा जाम लाग्न थाले पछि बजार मुल्य भन्दा चार गुणा बढी तिरेर भएपनि पानी र चाउचाउ किन्न यात्रुहरु बाध्य हुने गरेका छन्। सीमित खर्च लिएर हिडेकाहरुलाई त झनै समस्या हुने गरेको छ। बाटोमा जाममा परेको बेलामा त २० रुपैयाँको पानीलाई ५० रुपैया तिर्नुपरेको यात्रुहरुले बताएका छन्।

प्रकाशित: १८ भाद्र २०७५ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App